तुइन विस्थापन गर्ने प्रधानमन्त्रीको घोषणा अलपत्र : मकवापुरवासीलाई तुइनकै भर
ठेकेदारको लापरबाहीले पुल नबन्दा स्थानीयलाई सास्ती

बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब १०  किलोमिटर पर रहेको मकवानपुरगढी गाउँपालिका–५ मा विद्यार्थीहरु तुइनमा दूध र तरकारी बोकेर दैनिक ओहोर–दोहोर गरिरहेका हुन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन मुक्त बनाउने घोषणा गर्दा बाक्लो बस्ती भएको मकवानपुरगढी गाउँपालिका–५ र ३ जोड्ने पुल नबन्दा स्थानीयवासी करिब २४ वर्ष पुरानो तुइन चढ्न बाध्य छन् ।  

ठेकेदारको चरम लापरबाही 

मकवानपुरको सामरी खोलामा निर्माणाधीन पुल ठेकेदारले तोकिएको समयमै निर्माण नगरी अलपत्र पारेर राख्दा स्थानीयले सास्ती भोग्दै आउनुपरेको छ । बिहीबार आएको भीषण वर्षामा उर्लेको सामरी खोलाले त्यही पनि बगाएको छ । पुल ५ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा रहेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत तत्कालीन जिल्ला विकास समिति मकवानपुरले नागार्जुन–शंकर–माली जेबी ठेकेदार कम्पनीलाई करिब पाँच करोड ३७ लाख ९२ हजारको लागतमा निर्माण गर्न ठेक्का दिएको उक्त पुलमा हालसम्म तीनवटा पिल्लर निर्माण मात्र भएको छ । 

वर्षात् सुरु भएसँगै पुलमा फर्माहरु प्रयोग गरी ढलानको तयारी गरिएको थियो । ०७४ साल चैतसम्ममा पुल निर्माणको कार्य सकिनुपर्ने भए पनि अहिलेसम्म पुलको पिल्लर राख्नेबाहेक अरु कुनै काम भएको छैन । ०७३ सालदेखि पुल निमार्ण सुरु भएको थियो । सम्झौता अवधि सकिएको ४ वर्ष भइसक्दा पनि पुल निर्माण पूरा नभएको भन्दै स्थानीय आक्रोशित छन् । समयमै काम पूरा नहुँदा लामो समयदेखि सास्ती खेप्नु परिरहेको उनीहरुको भनाइ छ । 

झोलुंगे पुल गफ मात्रै, वारिपारि गर्न तुइनकै भर 

मकवानपुर गढी ५ का स्थानीय विष्णु दंगालले पुल नबन्दा धेरै सास्ती खेप्नुपरेको गुनासो गर्छन् । ‘तुइन विस्थापन गरेर साबिक आमभञ्ज्याङ गाविस र गढी गाविस जोड्ने झोलुङ्गे पुल बनाउने भनेर योजना परे तापनि पक्की पुल बन्ने भएपछि उक्त पुलको योजना रोकिएको थियो,’ उनी भन्छन्, ‘अहिले न झोलुङ्गे पुल बन्यो न पक्की पुल, हाम्रो सास्ती सरकारले नदेखेको जस्तो गर्छ ।’  



यस्तै मकवानपुर गढी ३ का स्थानीय ६१ वर्षीय लालबहादुर स्याङ्तान पनि पुल नबनेकोमा आक्रोश व्यक्त गर्दै पुल तत्काल बनाउनु पर्ने माग राख्छन् ।  

पुल नहुँदा ५ नम्बर वडाका मानिसलाई हेटौँडा आउजाउमा तुइनको प्रयोग नगरी सुखै छैन । त्यसक्षेत्रमा तरकारी र दूध बढी उत्पादन हुन्छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले ठेकेदार, प्रदेश सरकार र जिल्ला समन्वय समितिलाई बारम्बार पुल निर्माणका लागि ध्यानाकर्षण गराएको भए पनि सबैले बेवास्ता गर्दा हालको अवस्था सिर्जना भएको बताउँछन् ।  



ठेक्का लिने, पेटी दिएर टाप 

सामरी खोलाको पुल निर्माण गर्ने ठेक्का लिएको नागार्जुन शंकरमाली निर्माण कम्पनीले अन्य स्थानमा समेत काम अलपत्र पारेको छ । सबैतिर सरकारबाट ठेक्का लिने, तर पेटी ठेक्काको रुपमा अन्य निर्माण कम्पनीलाई हस्तान्तरण गर्दा काम अपुरो हुँदै गएको छ । पेटी ठेक्का लिनेहरुले पनि पूरा पैसा नपाएको भन्दै काम रोकेका छन् । मूल ठेकेदारले फोन नउठाइरहेको भनदै उनीहरु नै गुनासो पोख्छन् ।

नागार्जुन शंकरमाली निर्माण कम्पनीले लिएको ठेक्का  हेटौँडा बजारबाट ५–७ किलोमटरकै दूरीमा रहेको पदमपोखरीको पुल नबन्दा स्थानीय बासिन्दा हैरान भएका छन् ।  

०७३ सालमा संघीय सरकारमार्फत जिल्ला समन्वय समितिले पुल निर्माण कार्य सुरु गरेको थियो । करिब १५ महिनामा सक्ने गरी नागार्जुन शंकरमाली निर्माण कम्पनीलाई ठेक्का दिएको पुलले ६ वर्ष भइसक्दा पनि पूर्णता पाएको छैन । 

हिउदँभरि सुरु नहुने पुल निर्माण कार्य गत वर्षतिर बर्खामा सुरु भएको थियो । त्यसैले बर्खामा आउने बाढीले पुल निर्माणमा प्रयोग भएका सामान पनि बगाएर लगेको थियो । करिब एक वर्षदेखि उक्त कुखुरेनी खोलाको पुल निर्माण कार्य प्रदेश सरकारमातहत आएको छ । पुल निर्माण कार्य हेर्दै आएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर वीरेन्द्र चौधरीले ठेकेदार कम्पनी आफ्नो कामप्रति जवाफदेही नहुँदा पुल निर्माणले गति लिन नसकेको बताए ।  चौधरीले अब अन्तिमपटक भदौसम्ममा पुल निर्माण सक्न समय दिएको र निर्माण कार्य सम्पन्न नगरे कारबाही गरिने बताए ।  

पत्रिकामा समेत समयमा पुल निर्माण भदौसम्ममा सक्नू भनेर सूचना छापे तापनि कम्पनीका प्रमुख डिबी कार्की र गोकर्ण पण्डित भागिरहेको उनले बताए ।  

एक सय ३ मिटर लम्बाइ र ९ दशमलव २ मिटर चौडाइको पुल निर्माणका लागि हालसम्म ४ करोड ६३ लाख खर्च भइसकेको छ ।

ठेकेदारकाे लपरबाहीले स्थानीयवासीले पाएकाे दु:ख त वर्णन गरिसाध्य छैन ।  तुइन विस्थापन गर्ने प्रधानमन्त्रीको घोषणा पनि अलपत्र परेकाे छ । ​

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार २०:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया