वसुन्धराका रहरमाथि बारम्बार लाग्थ्यो लगाम
बाबुले लगाएको त्यो सिस्सो पानी
फरकधार / २२ असार, २०७८

घरमा बदमासी, उटपट्याङ गर्दै हुर्किएकी वसुन्धरा भुसालले किशोरावस्थामा नै चलचित्र क्षेत्रमा पाइला राखिन् । वसुन्धरा सानामा घरको छिँडीमा आमाको फरियाको पर्दा बनाउँथिन् । सँगैका साथीहरूले मुखले म्युजिक बजाउँथे । उनी कम्मर मर्काइ-मर्काइ नाच्थिन् ।



संयोग भन्नै पर्छ वसुन्धराले चलचित्र ‘आमा’बाटै पर्दाको यात्रा प्रारम्भ गरिन् । त्यतिबेला उनी १३ वर्ष लाग्दै थिइन् । यो चलचित्र नेपालमा पहिलो पटक बनेको थियो ।

घरमा रहँदा खूब बदमासी गर्नुपर्ने वसुन्धरा कलाकारितामा लागेपछि भने अनुशासन र दायित्वबोधको घेरमा बस्न थालिन् । फिल्म क्षेत्र वसुन्धराका लागि पाठशाला जस्तै भइदियो । जहाँ उनले घरमा भाँडाकुटी खेल्दा जस्तो नियम मिच्न पाइँदैनथ्यो ।

वसुन्धरा स्कुल जीवनमा निक्कै सक्रिय थिइन् । उनलाई स्कुलमा हुने हरेक प्रतियोगिता र नाचगान कार्यक्रममा भाग लिनु पर्थ्यो । वसुन्धराको बाल्यकालमा उनको नाचगानलाई सबैले मन पराउँथे । उनलाई हौसला मिल्थ्यो । स्कुलका सबैजसो कार्यक्रममा भाग लिन पनि १२/१३ वर्षको उमेर हुँदासम्म उनलाई कुनै रोकतोक भएन । कसैको गाली खानु परेन ।



१२/१३ वर्षको उमेर पार गरेपछि भने वसुन्धराको रहरलाई नियन्त्रण गर्न खोजियो । यतिबेलासम्म उनी स्कुलमा नाम चलेकी छात्रा भइसकेकी थिइन् । कला केन्द्रबाट स्कुल बाहिर नाच्न जाने अफर आउँथ्यो । यो अफरलाई अवसरका रूपमा समात्ने वसुन्धराको रहर हुन्थ्यो । तर, रहर माथिको लगाम घरभित्रैबाट सुरु हुन्थ्यो । कला केन्द्रबाट नाच्न गएका बेला घर फर्किंदा साँझ छिप्पिन्थ्यो ।

छिप्पिदो साँझसम्म छोरी घर बाहिर रहनु राम्रो मान्दैन्थ्यो समाज । त्यसैले केन्द्रको कार्यक्रम सकेर घर फर्किँदा कयौं साँझ खुल्दैनथे उनका लागि घरका ढोका । त्यो क्षण सम्झँदै वसुन्धरा भन्छिन्, ‘मुमाहरूले रिसाएर कहिले त ढोका नै खोलिदिनु हुन्नथ्यो । यसले गर्दा सबै दिदीबहिनीलाई नराम्रो भयो, भन्दै गाली गर्नुहुन्थ्यो । म पनि मुखाले नै थिएँ, मुखमुखै लागिहाल्थेँ ।’

स्कुल पढ्दाका उनका मिल्ने साथी थिए शिला रेग्मी र कमला श्रेष्ठ । कार्यक्रम सकेर घर फर्किन ढिलो हुँदा कहिलेकाहीँ बाठो चाल गर्थिन् वसुन्धरा । उनी घरमा पिटाइ खाइन्छ भन्ने डरले नाचगानकै ड्रेसमा साथीहरूलाई लिएर घर जान्थिन् ।

अहिलेको न्युरोडमा रहेको जनसेवा प्रहरी कार्यालयमा त्यतिबेला जनसेवा नामको सिनेमा हल थियो । वसुन्धरा ७ वर्षको उमेरमा पहिलो पटक यही सिनेमा हलमा राष्ट्रियस्तरको कार्यक्रममा नाचेकी थिइन् । यो कार्यक्रममा नायिका भुवन चन्दले गीत गाएकी थिइन् । ‘हात त काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले’ बोलको गीतमा नाचेको स्मृति आज पनि ताजा भएर आउँछ वसुन्धराको मानस्पटलमा ।

पहिलो फिल्मको अनुभव

२०२१ सालतिरको कुरा हो । त्यसबेला नायिका भुवन चन्द राष्ट्रिय नाचघरमा काम गर्थिन् । भुवन र वसुन्धराको चिनजान २०१४ सालबाटै थियो । वसुन्धरालाई भुवन खूब माया गर्थिन् । वसुन्धरा पनि भुवनलाई दिदी भनेर बोलाउँथिन् । वसुन्धरा प्रज्ञा प्रतिष्ठानमा तालिम गर्दै थिइन् । एकदिन उनी प्रज्ञाबाट निस्किएपछि भुवनकोमा गइन् । भुवनले भनिन्, ‘मेरो फिल्मको सुटिङ छ, हेर्न जान्छेस् ?’ वसुन्धरा पनि हुन्छ भन्दै भुवनको पछि लागिन् ।

त्यस दिन चोभार डाँडामा ‘गरूँला हामी सिर्जना यहाँ’ बोलको युगल गीतमा भुवन र शिवशंकरले नाचेका थिए । छोटो-छोटो मिडी लगाएकी, ‘ब्वाइज कट’ कपाल काँटेकी वसुन्धरा भुवनले दिएको रातो कोट समातेर गीतको सुटिङ हेर्दै बसेकी थिइन् । उनको चञ्चले गतिविधिलाई नियालिरहेका निर्देशकले हिन्दीमा उनलाई भने ‘ओए, छोक्री इदर आओ तो ।’ उनी नडराइ सरासर गइन् । त्यसपछि निर्देशकले भने, ‘तुम फिल्म में काम करोगी ?’ उनले पनि भनिदिइन्, ‘देगा तो करुँगी ।’

यहींबाट सुरु भयो वसुन्धराको फिल्मी यात्रा । उनको पहिलो सुटिङ भक्तपुरमा भएको थियो । उनले पहिलो पटक हँसिया र डोको बोकेर गीत गाउने सिन पाइन् । उनले नलजाई अभिनय गरिन् । यही फिल्मको सुटिङका क्रममा वसुन्धराले कलकत्ताको यात्रा गरिन् । उनले त्यही देखेकी थिइन् बलिउडका स्टार धर्मेन्द्र, मीना कुमारीलगायतका कलाकारलाई ।

यो फिल्मपछि वसुन्धरा प्रज्ञा प्रतिष्ठानकी जागिरे भइन् । वसुन्धरा कार्यालय जाने समयमा त्रिचन्द्र कलेजका केटाहरू बाटोमा भेला भएर बसेका हुन्थे । सबै केटाले वसुन्धरालाई एकै लयमा जिस्क्याउँदै भन्थे, ‘हिजोआज के भो, के भयो ए रात्तै, तिम्रै माया लाग्छ ।’ वसुन्धराले फिल्ममा ‘ए रात्तै’ भन्ने थेगो बोलेकी थिइन् । केटाहरू त्यही थेगो भन्दै पछि लाग्थे उनको चप्पल नै टेकुँला झै गरेर । वसुन्धरा केटाहरूलाई सराप्दै आफ्नो बाटो लाग्थिन् । 

त्यो किशोरावस्था

त्यो दिन एकादशी थियो । एकादशीको दिन घरमा मासु पाक्दैनथ्यो । वसुन्धरालाई मासु नभई खाना नरुच्ने । मासु नपाकेको दिन वसुन्धरा कस्ता गरिब आमा, बुबा भन्दै मुख लाएर हिँड्थिन् । त्यो दिन पनि वसुन्धराले घरमा मासु पाकेको थिएन । वसुन्धराले पनि जात्रै गरिन् । उनका बुवा उनलाई खूब माया गर्थे । त्यो दिन पनि उनका बुवा केही बोलेनन् । 

त्यसको भोलिपल्ट उनको घरमा निक्कै मासु पाक्यो । मासुको बास्ना निकै मीठो चलेको थियो । बुवाले वसुन्धराका साथीलाई पनि डाके । वसुन्धरालाई खम्बामा बाँधिदिए । थालभरि मासु राखेर भने, ‘ल खा ।’ तर, हात बाँधेपछि कसरी खाने ? वसुन्धराको मनमा केही आएकै थिएन, के भइरहेछ घरमा भनेर । त्यसपछि उनका बुवाले सबै साथीका अगाडि उनलाई सिस्नु पानी लगाए । वसुन्धरा ‘क्वाँ-क्वाँ’ रोइन् ।

छोरीमाथि कहिल्यै हात नउठाउने वसुन्धराका बुवाले त्यस दिन नमज्जाले पिटे । अहिले त्यो दिन सम्झँदा वसुन्धरालाई कहिले खुसी पनि लाग्छ, कहिलेकाहीँ त्यतिबेला त अति नै गरियो भन्ने आत्मबोध पनि । भन्छिन्, ‘त्यो बेला आफूले आफ्नो बुवाआमालाई कति पीर र पीडा दिएछु भनेर आफैं आमा भएपछि झन् धेरै महसुस भयो ।’

२०१४ सालबाट सुरु भएको वसुन्धराको कला यात्राले ६ दशकको यात्रा पार गर्‍यो । उनी अहिले धेरैकी प्रेरणाकी स्रोत हुन् । हास्य कलाकारलाई जोकरको संज्ञा दिने र महिलालाई हेपिने समयबाट गुज्रिएकी वसुन्धरा कलाकारितालाई र महिलालाई हेर्ने नजर बदलिएको र सम्मान गरेको देख्दा निक्कै खुसी छिन् ।

अहिले त वसुन्धराको उमेरले नै ७ दशकको यात्रा पूरा गर्न लाग्यो । उनी आज पनि कलाकारितामा उत्तिकै सक्रिय छिन् ।

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ३:८:३८,   अन्तिम अपडेट : असार २२, २०७८ मंगलबार ८:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया