कोरोना कालमा जागिर धान्न २६ किलोमिटर हिँडेर सिंहदरबार

कोरोना संक्रमण बढ्दै गएपछि यही वैशाख १६ बाट राजधानी लगायत देशमा अधिकांश भागमा विभिन्न स्थानमा निषेधाज्ञा जारी गरियो। सरकारले अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गर्‍यो। 

अत्यावश्यक सेवामा पनि आधा कर्मचारीले पालै पालो काम गर्न प्रशासनले निर्देशन दियो। महामारीको कठिन परिस्थितिमा मुद्रण विभागमा कार्यरत मुद्रण सहायक भागिरथी अधिकारी र शारदा वाग्ले अनि कार्यालय सहयोगी लक्ष्मी राना भने दैनिक १३ किलोमिटर भन्दा बढी यात्रा गरी कार्यालय आइरहे।

भक्तपुर सूर्यविनायभन्दा भित्रबाट लक्ष्मी नियमित हिँडेरै सिंहदरबार पुगिन्। कपनभन्दा माथि बसोबास गर्ने भागीरथी र शारदाले पनि त्यसरी नै सिंहदरबारको जागिर थेगे।

मुद्रण विभाग, जसले सरकारी सूचना, अर्थमन्त्रालयले तयार पारेको बजेट तथा आवश्यक सुरक्षा मुद्रण गर्छ। अत्यावश्यक सेवा भएकाले बिदा बस्न नपाइने महानिर्देशक ध्रुवकुमार पोखरेलले निर्देशन दिए। त्यसैले उनीहरू दैनिक २६ करिब किलोमिटर यात्रा गरी कार्यालय आउजाउ गर्न बाध्य भए।

०००
विभागका कर्मचारी श्रीकृष्णकण्ठलाल श्रेष्ठ उमेर अवधिका कारण अनिवार्य अवकाशमा परे। लामो समय मुद्रण विभागमा वरिष्ठ मुद्रण सहायकका रूपमा कार्यरत उनलाई कोरोना संक्रमणको समयमा कार्यालय उपस्थित हुन नसक्दा घर बिदा लिन बाध्य पारियो।

भक्तपुर खोप इन्जिनियरिङ कलेज नजिकै घर भएका श्रेष्ठ निषेधाज्ञामा सिंहदरबारसम्म कसरी आउन् ? आएनन्। 



पेन्सनमा पुगेको अवस्थामा समेत कोभिड बिदाको सट्टा सञ्चित घर बिदा कट्टा गरिदिँदा आफ्नो निवृत्ति भरणमा नै फरक परेको श्रेष्ठले गुनासो गरे।

०००
मुद्रण अधिकृत दीपक न्यौपानेकी श्रीमतीको कोरोना रिपोर्ट पोजेटिभ आयो। श्रीमतीलाई कोरोना पुष्टि भइसकेपछि न्यौपाने पनि १२ दिन होम आइसोलेसन बसे। उनले विभागका महानिर्देशक पोखरेललाई यसबारे सुरुमै जानकारी गराएका थिए।



श्रीमतीलाई कोरोना पुष्टि भइसकेपछि कार्यालयमा उपस्थिति भएर बिदा स्वीकृत गराउनु स्वास्थ्य मापदण्डविपरीत हुन्थ्यो । आइसोलेसनको अवधि पूरा गरी कार्यालय आउँदा हाजिरीमा घर बिदा उल्लेख गरेको पाए।

०००
विभागकै अर्का अधिकृत बलराम चौधरी कोरोना संक्रमित भएर २६ दिन होम आइसोलेसनमा बसे। त्यस अवधिको आधा कोभिड बिदा र आधा घर बिदा जनाइयो । यी घटना हेर्दा मुद्रण विभागका कर्मचारी अनावश्यक सास्ती भोग्न बाध्य भएको बुझिन्छ।

नेपाल सरकारले १५ वैशाख, २०७७ मा नेपाल राजपत्र संख्या ३ भाग ५ मा सूचना नै प्रकाशन गरी संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मिति २०७६÷१२÷९ पश्चात् सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदामा रहेका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने गरी सार्वजनिक (कोभिड बिदा) दिन निर्देशन गरेको थियो।

उक्त राजपत्र मुद्रण विभागले नै प्रकाशित गरेको हो। तर, विभाग आफैंले प्रकाशित गरेको राजपत्रलाई बेवास्ता गरी मनपरी नियम लादिएको कर्मचारीको गुनासो छ। 

महामारीका कारण कार्यालयमा उपस्थित हुने नसकेका कर्मचारीलाई घर बिदा, भैपरी बिदा या पर्व बिदा लिन दबाब दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि संवैधानिकलगायत विभिन्न निकायमा यही वैशाख १५ गते पत्राचार समेत गरेको थियो।

सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिने गरी कार्यालय सञ्चालन गर्न भनिएको थियो।  अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सञ्चालन राख्ने व्यवस्था मिलाउने भनिएको थियो।

घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने मन्त्रिपरिषद्को निर्णय नम्बर ४ मा उल्लेख छ।

मुद्रण विभागमा भने मन्त्रिपरिषद् र मन्त्रालयको निर्देशनलाई लत्याएर कर्मचारीलाई कोभिड काजको सट्टा घर बिदा लिन भनिएको छ।  केही कर्मचारीको हाजिर खातामा पाकेको घर बिदा समेत कट्टा गरी अनिवार्य अवकाश दिएको बुझिन आएको छ।

सञ्चित घर बिदा १८० दिन हुने कर्मचारीहरूको हकमा यसरी घर बिदा घटाएर अवकाश गर्दा आफूहरु मर्कामा परेको कर्मचारीहरुको गुनासो छ। सञ्चित घर बिदा १८० दिन नपुगेका कर्मचारीहरूको हकमा अझ यसले प्रभाव पार्ने एक कर्मचारीले बताए ।

जागिर अवधि ५ वर्षभन्दा बढी भएका जुनसुकै कर्मचारीको घर बिदा १८० दिन पुग्छ नै तर निजामती सेवामा १८० दिनभन्दा बढीको घर बिदा सञ्चित नहुने भएका कारण यो कोल्याप्स हुने गर्छ।
 

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ११:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया