जसपा फुटाउने सहमति गरेर आयोगबाट बाहिरिए महन्थ ठाकुर र उपेन्द्र यादव

जनता समाजवादी पार्टीको दुई समूहका नेताहरु पार्टीलाई कानुनी रुपमा फुटाउने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिएका छन्। आयोगमा भएको छलफलका क्रममा एकै पार्टीमा रहन नसकिने निचोडसहित आपसी सहमतिमा अलग बाटो लाग्ने निचोडसहित जसपाका दुवै पक्षका नेता बाहिरिएका हुन्। 

मंगलबार बिहान ११ बजे निर्वाचन आयोगमा भएको छलफलका क्रममा ठाकुर र यादव दुवै पक्ष एकै ठाउँ बस्न नसक्ने पक्षमा उभिएका थिए। आयोगले सहमतिका लागि बोलाए पनि उनीहरु फुटेर आफ्नो बाटो लाग्ने सहमतिसहित उठेका छन्।

आयोगले सहमतिका लागि जसपाका दुवै पक्षलाई मंगलबार बोलाएको थियो। एकै ठाउँ बस्ने विकल्पका लागि आयोगले छलफल गरेको थियो। तर, ठाकुर र यादव दुवै पक्षले एकअर्कालाई गरेको कारबाहीसहित आधिकारिकता दाबी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार आउन निर्देशन दिएको छ।

आयोगले जसपा विवाद समाधानका लागि बुधबार नै इजलास गठन गर्ने भएको छ। यस्तो अवस्थामा पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोगका एक अधिकारीले बताएका छन्। 

यससँगै अब आयोगले आधिकारिकताका लागि दुवै पक्षलाई दावी पेश गर्न भन्ने छ। मंगलबारको बैठकमा अध्यक्ष ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा र केशव झा तथा दुईजना कानुन व्यवसायी पनि कान्तिपथ पुगेका थिए। 

उता यादवसहित, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग पुगेका थिए। 



जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एकअर्कालाई कारबाही गरेपछि पार्टी फुट्न लागेको हो। यी दुई पक्षबीच आजको छलफलबाट पनि सहमति नजुटेपछि अब आयोगले दल विभाजनसम्बन्धी कानुन अनुसार प्रक्रिया अघि बढाउने निर्णय लिएको छ।

५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरसहितका नेतालाई कारबाही गरेको पत्र यादवले आयोगमा बुझाएका थिए । तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार पार्टी विधानले प्रदान गरेको भन्दै २० सदस्य थप गरेर पठाएका थिए। तर दुवै पक्षलाई आयोगले मान्यता दिएको थिएन।



एकअर्कालाई कारबाहीको पत्र पठाएपछि आयोगले दुवै मान्यता दिन अस्वीकार गरेको थियो। जसपा विवादको मूल जड एमाले, माओवादी र कांग्रेस हुन्। ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओली सघाएको छ। यादव पक्षले कांग्रेस-माओवादीलाई साथ दिएको छ। 

तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी मिलेर दुई वर्षअघि जसपा बनेको थियो। जेठ ८ मा भएको प्रतिनिधिसभा विघटनपछि पनि ठाकुर पक्षले ओलीलाई साथ दिएको छ। यादव पक्ष कांग्रेस-माओवादीसहित विपक्षी मोर्चामा उभिएको छ।

यादव पक्षसँगको विवाद मिल्ने सम्भावना नरहेपछि अध्यक्ष ठाकुरले अब पुरानै बाटोमा हिँड्ने बताएका थिए। त्यो भनेको नेकपामा जस्तै साविककै राजपा र संघीय समाजवादीको यात्रा हो। 

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १३:४७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया