आफ्नै माटोमा युरो कप उचाल्ने ह्यारी केनको सपना

इङ्ल्यान्डका कप्तान ह्यारी केनले यतिखेर एउटा सुनौलो सपना बुनेका छन्– आफ्नै माटोमा हुने युरो कप फाइनल जितेर ट्रफी उचाल्ने चाहना उनीभित्र तीव्र बनेको छ । उनले आफ्नो सपना पूरा गर्ने बाटोमा हिँड्न बुधबार मध्यराति (नेपाली समय अनुसार पौने एक बजे ) हुने डेनमार्कसँगको प्रतिस्पर्धामा जित निकाल्नु पर्ने छ । यी कप्तानले घरेलु मैदानमा रहने ६० हजार दर्शकको मन जित्न सक्नुपर्ने छ ।

अर्का महत्वपूर्ण खेलाडी ह्यारी म्यागुइरले क्रोयसियाविरुद्ध २०१८ मा भएको विश्वकप सेमिफाइनलमा व्यहोर्नु परेको हारको पीडा महत्वपूर्ण पाठ हुन सक्ने बताएका छन् । केनले म्यागुइर र टोलीका अन्य अनुभवी सदस्यलाई प्रेरणा दिने खालको उक्त वाक्य स्मरण गर्नुपर्ने टिप्पणी गरेका छन् ।

‘यो एक अद्भूत वातावरण हुनेछ,’ उनले भने, ‘एक अनुभव पनि हुनेछ कि, हामी सायद पुनः खेलाडीका रूपमा नहुन सक्छौँ, जबसम्म युवा खेलाडीका निम्ति घरेलु प्रतियोगिता हुने छैन । मेरा लागि र अन्य अनुभवी पुराना खेलाडीका लागि पनि वेम्बली महत्वपूर्ण प्रतियोगिता खेल खेल्ने यही नै अन्तिम मौका हुन सक्छ । क्या अवसर छ । क्या पल ! आशा छ, हामी जित्न सक्ने छौँ र जर्मनीविरुद्ध जसरी हामीले (अन्तिम १६) खेलेको थियौँ त्यस्तै दृश्य हुन सक्छ ।’

फाइनलमा इङ्ल्यान्ड पछाडि परेको दृश्य उनले सोचेका थिए । उनले बिबिसी रेडियोसँग भने, ‘म कोसिस गर्ने छु कि आफ्नो दिमागलाई धेरै अगाडि नजाओस् भनेर । तर यसबारे मैले सोचेकै थिइनँ, म झुट बोल्न सक्दिनँ । मलाई विश्वास छ, मेरो सपना पूरा हुनेछ । म रुस(अघिल्लो टुर्नामेन्ट)लाई फिर्ता पठाउने सोच्थेँ, त्यो सपना पूरा भयो । त्यो यति ठूलो खेल थियो कि, जे पनि हुन सक्थ्यो ।’

उनी थप्छन्, ‘अचानक हामी सेमिफाइनल हारेर, कसरी राम्रो गर्न सकिन्थ्यो भन्ने सोच्नु भनेको पुनः तीन वर्ष कुर्नतिर लाग्नु हो । त्यसपछि मात्रै यस्तो टुर्नामेन्ट खेल्न पाइनेछ । हामीलाई मौका छ, एक कदम अघि बढेर प्रतियोगिता आफ्नो हातमा पार्ने ।’

रुसको तुलनामा आफ्नो टोलीमा ठूलो खेलबारे विश्वास र अनुभवसमेत अधिक रहेको म्यागुइर बताउँछन् । उनले दोस्रो प्रतियोगिताको सेमिफाइनलमा इङ्ल्यान्डले गरेको प्रगतिलाई ‘एक महान् उपलब्धि’का रूपमा वर्णित गरेका छन् । 



तीन वर्षअघिको घटनाले इङ्ल्यान्डलाई अझै अगाडि बढ्ने तीव्र इच्छा जगाइदिएको उनको बुझाइ छ । ‘वर्ल्डकप सेमिफाइनलमा हार्नुको पीडा निकै छ । त्यसैले हामीले बुधबारबारे सकारात्मक सोच्नुपर्छ, जसरी क्रोयसिया विरुद्ध सफलता पाएका थियौँ,’ २८ वर्षीय यी खेलाडी भन्छन्, ‘सायद हामी क्रोयसिया विरुद्धको खेलमा भन्दा डेनमार्कसँगको प्रतिस्पर्धामा बढी विश्वास गर्छौँ । यति ठूलो देश भएर पनि सेमिफाइनलमा लामो समयदेखि पुग्न सकिरहेका थिएनौँ । त्यसैले क्रोयसियासँग खेल्दा विश्वास कम थियो, अब त्यो बढेको छ । हाम्रा प्रशंसकको विश्वास पनि वृद्धि भएको छ । हामी सबैको विश्वासको मात्रा बढेको छ ।’

म्यागुइर टोलीका महत्वपूर्ण आठ खेलाडीमा पर्छन्, जसले २०१८ मा सेमिफाइनल यात्रा तय गरेका थिए । तीमध्ये कम्तीमा ६ जना डेनमार्क विरुद्धको बुधबारको खेलमा मैदान उत्रिनेछन् । उनलाई लाग्छ, यी खेलाडीले विगतबाट राम्रै पाठ सिकिसकेका छन् । 



अब टोली मजबुत र रचनात्मक हुनुपर्ने उनको भनाइ छ । बल आफ्नो पकडमा राखेर खेलको नेतृत्व गर्नुपर्ने उनी बताउँछन् । ‘हामीले तीन वर्षको अवधिमा यसबारे निकै ध्यान दिएका छौँ । निश्चित रूपमा क्रोयसियासँग खेल्दाको भन्दा राम्रो स्थानमा हामी छौँ,’ उनले भने ।

म्यागुइरले गत अक्टोबरमा वेम्बलीमा सम्पन्न नेसन्स लिगमा डेनमार्क विरुद्ध खेलेका थिए, त्यसमा इङ्ल्यान्ड १-० ले हारेको थियो । ‘जब म मैदानबाहिर थिएँ, तब आफ्नो कमजोरी महसुस भयो । मैले आफ्नो टोलीलाई निराश पारिरहेको जस्तो लाग्यो । तर त्यो फुटबल खेलको एउटा हिस्सा थियो । त्यसपछि भने मैले आफूलाई सम्हालेको छु र यसमा मलाई गर्व छ ।’

म्यागुइर मात्र होइन, स्वयम् केनलाई अर्का डिफेन्डर ल्युक समाथि उत्तिकै विश्वास छ । टोलीको कठिन समयमा पुनरुत्थान गरेकाले उनलाई प्रेरणा दिइरहनु पर्ने उनीहको भनाइ छ ।
 

(गार्जियनबाट अनूदित)

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १४:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया