संक्रमितको शव व्यवस्थापन गर्ने ‘लेडी स्क्वायड’
तस्बिर : शव व्यवस्थापन गर्दै कृतिज्ञाको टोली ।

झापाको बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको मृत्यु भयो । यो खबर झण्डै ३० किमि टाढा घर भएकी कनकाई नगरपालिकाकी २५ वर्षीया कृतिज्ञा गौतमले पाइन् । ‘संक्रमितको शव व्यवस्थापन गर्न आउनू ।’

उनी कोरोना संक्रमितको लास व्यवस्थापन गर्न जान तयार भइन् । कृतिज्ञासँगै पुग्यो, उनको टोली ।

कृतिज्ञाको जिम्मा थियो लास बोक्ने । स्ट्रेचर ठिक पारियो । उनले शव व्यवस्थापनको पहिलो अनुभव सुनाइन्, ‘जब स्ट्रेचर लिएर लास उठाउन अघि बढेँ एकाएक मन चिसो भयो । शरीर चिसो भयो । आत्तिएँ, के गरौँ ? कसो गरौँ भयो । सक्दिनँ कि जस्तो मनले भन्यो । तर, सँगै गएका दाइले नडराऊ है हामीसँगै छौँ भनेको सुनेँ । अलि राहत भयो ।’ 

लास छोएको कृतिज्ञाको पहिलो अनुभव थियो । लास उठाउन खोजेँ, लास त भारी हुँदो रहेछ, अररो पनि, उनले सुनाइन् ।

बिर्तामोड ९ कि पूजा कँडेल पनि सोही महिला टोलीमा थिइन् । काठमाडौंको आरआर कलेजमा ब्याचलर दोस्रो वर्षमा अध्ययनरत उनी लकडाउनमा घर आएकी थिइन् ।

साथीमार्फत् स्काउटको शव व्यवस्थापन गर्ने प्रस्ताव आयो । उनी सहज तयार भइन् । उनी स्काउटमा आबद्ध त थिइनन् तर सेवा भावले तान्यो । 



४ दिनको तालिम लिएर पूजा पनि शव व्यवस्थापनमा खटिइन् । पहिलो दिन नै उनले ३ वटा शव व्यवस्थापन गरिन् । 

कनकाई खोलामा २ वटा शव जलाइयो र एउटा सीतापुरीको जंगलमा लगेर गाडियो उनले सुनाइन् । 



पूजालाई शव व्यवस्थापन गर्दा खासै डर लागेन । भन्छिन्, ‘डर त त्यति लागेन, तालिममा माइन्ड डाइर्भट गर्न सिकाउनु भएको थियो । त्यसले काम गर्‍यो ।’

पिपिई लगाउँदा भने निकै गाह्रो भएको पूजाको अनुभव छ । बुट, पिपिई, आँखामा चस्मा लगाएर २ देखि ३ घण्टा काम गर्दा बाफिएर सास फेर्न नै गाह्रो भएको उनले सुनाइन् ।

‘घाम लागेका बेला त बुटमा पसिना भरिएको हुन्थ्यो । हात गुम्सिएर छाला नै कालो भएर एक पत्र उप्किएर गयो । बाफिएर सासै फेर्न गाह्रो भएर मरिने हो कि भन्ने डर पनि लाग्थ्यो ।’

पूजा आफैंले ८ वटा शव व्यवस्थापन गरिन् । ३ महिलाको टिमले मात्रै पनि धेरै शव व्यवस्थापन गर्‍यो ।

झापाको १७ जनाको टोलीले २२ जनाको शव व्यवस्थापन गरेको थियो ।

नेपालमै पहिलो पटक नेपाल स्काउटले सामुदायिक स्तरबाट कोरोना संक्रमितको शव व्यवस्थापनको काम सुरु गरेको थियो । 

त्यसै टोलीकी एक सदस्य हुन् कृतिज्ञा र पूजा । नेपाल स्काउटको संक्रमितको शव व्यवस्थापन गर्ने टोलीमा ४२ जना थिए । जसमा ७ जना महिला । झापामा मात्रै ३ जना महिलाको टोली छ  ।

परिवारको मन्जुरी 

कृतिज्ञा स्काउटको कनकाई नगरको संयोजक थिइन् । तर, शव व्यवस्थापन गर्न जान दिन परिवार तयार भएन । उनले जिद्दी गरिन् । जान्छु नै भनेर आँट गरेपछि उनले कन्भिस गरेर छाडिन् । 

‘यस्तो बेलामा हामीले नगरेर कसले गर्छ ? संक्रमितको लास उठाउने नभएका बेला हामीले पनि गर्नुपर्छ भन्ने लाग्यो ।’ यही कुरा निकै मिहिनेतका साथ परिवारलाई भनेपछि परिवारले मन्जुरी दियो । 

यता, पूजालाई त अझ गाह्रो भयो । लकडाउनले काठमाडौँबाट पढाइ छाडेर घर आएकी थिइन् । अर्को तर्फ उनी स्काउट आबद्ध पनि थिइनन् । 

परिवारले जान अनुमति दिएन । तर, उनलाई जान इच्छा थियो । उनले पनि परिवारलाई सहमतिमा ल्याइन् ।

स्वास्थ्य प्रोटोकल, गर्ने प्रकृया र मृतक संक्रमितबाट पिपिई लगाएपछि कोरोना नसर्ने विश्वास दिलाएर पूजाले परिवारलाई मनाइन् ।

समाजबाट अवहेलना 

पहिलो आफू गर्छु भनेर तयार भएँ । घर-परिवारलाई पनि मनाएँ । पूजा भन्छिन्, ‘समाजलाई बुझाउन सकिनँ ।’ समाजमा उनलाई फरक नजरले हेर्न थालियो । आइसोलेसन बसेर घर पुग्दा छिमेकीहरूले छि-छि र दूर-दूर गर्न थाले । ‘घर नै नआऊँ, गाउँ नै नआऊँ, झैँ बनाए ।’

तिमीले गाउँमा कोरोना ल्याउने भयौ भन्दै छिमेकी र समाजका अन्य व्यक्तिहरूले नराम्रो व्यवहार देखाए, पूजाले सुनाइन् ।

संक्रमण घट्दै गएपछि उनी घर गए पछि पनि छिमेकी र समाजका व्यक्तिलाई बुझाउन गाह्रो पर्‍यो । 

काम गर्ने तरिका, अपनाउने स्वास्थ्य सुरक्षा लगायतका कुरा बुझाएपछि अहिले बिस्तारै बुझ्दै गएको उनी भन्छिन् ।

घर, समाज काम गर्ने ठाउँ सबैतिर महिलाले लड्नु पर्ने, गर्न सक्छु भन्ने प्रमाण देखाउनुपर्ने रहेछ, पूजाको यो सिकाइ हो ।

समाज परिवर्तन भएको छ, महिला पुरुष बराबरी हुन जस्तो लागेको थियो तर होइन रहेछ, पूजाको तितो अनुभव छ ।

पिपिई सेट लगाएर संक्रमितको घरमा पुग्दा वरिपरिका छिमेकीहरूले महिला भन्दै होच्याउने गर्थे । ‘तपाईंहरूले बोक्न त सक्नुहुन्छ ? पुरुष कोही थिएनन् र तपाईंहरू आउनुभएको भन्दै होच्याउने अविश्वास गर्ने गर्थे’ पूजाले बताइन् ।

कृतिज्ञाको पनि यही अनुभव छ । उनलाई पनि समाजले राम्रो मानेन । यस्तो काममा लागेका बेला त उत्साह थप्नु पर्ने हो, सर्पोट गर्नु पर्ने हो । कृतिज्ञाले भनिन्, ‘कोरोना सार्ने भनेर हेलाँ र होचो गरे ।’

‘संक्रमित शवलाई चितामा राखेर दागबत्ती दिने बेलामा परिवारका मान्छेले तपाईंहरू छोरी मान्छे दागबत्ती दिन मिल्दैन, छोरा मान्छेले जलाउन पाए हुन्थ्यो । छोरा मान्छेलाई बोलाउन मिल्दैन सम्म भन्थे’, उनको अनुभव छ । 

कोही भने परिवारको कुनै सदस्य पनि नआउने, संक्रमित लास भन्दै वास्तै नगर्ने । परिवारले नै माया मारेको अवस्थामा आफूले दागबत्ती दिने अवसर पाउँदा भने खुसी लागेको पूजाले बताइन् ।

समाजसँग विद्रोह 

नेपाली हिन्दु संस्कारमा महिलाले मलामी जानु हुँदैन भन्ने मान्यता छ । महिलाले लास छुनु हुँदैन भन्ने धारणा छ ।

दागबत्ती दिन पुरुषकै खोजी गरिन्छ । तर, संक्रमितको शव व्यवस्थापन गर्ने लेडि स्क्वायडले यो मान्यता तोडेको छ । 

उनीहरूले लास छुने मात्रै होइन । आफैंले चितामा राखे । अनि, आफैंले दागबत्ती पनि दिए । आफैंले बोकेर खाडलमा गाड्ने काम गरे । 

महिलाले मलामी नै जानु हुँदैन भन्ने पुरुषवादी समाजमा नेपाल स्काउटको महिला टोलीको  विद्रोही नै थियो । स्काउट प्रदेश १ तदर्थ समितिका संयोजक रवि खनाल भन्छन् यो सामाजिक विद्रोह पनि हो । 

यो त्यति सहज भने थिएन । सुरुमा त धेरै आश्चर्य र अचम्म माने । कतिले गाली गरे । कतिले सम्मान ।

कोरोना माहामारीका कारण प्रदेशमा मृतकको संख्या बढिरहेको थियो । प्रदेशमा दिनकै ३० भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि नेपाली सेनालाई शव व्यवस्थापनमा समस्या भयो । 

शव उठाउन ६ घण्टासम्म कुर्नु पर्ने भएपछि नेपाल स्काउटले शव व्यवस्थापन गर्ने स्वयम्सेवी तयार पार्ने योजना बनायो । 

स्काउटले शव व्यवस्थापन गर्न इच्छुकहरूलाई दर्ता हुन आह्वान गर्‍यो । आह्वानपछि स्वयमसेवीहरुले आफ्नो नाम दर्ता गराए । 

दर्ता भएकाहरूलाई स्काउटकै नेतृत्वले परामर्श र मोटिभेसन क्लास दियो । त्यसपछि मेडिकल क्षेत्रका र कोभिडमा काम गरेकाहरूले । त्यसपछि सर्ट लिस्ट गरी प्रदेश १ मा ४२ जना युवालाई छनोट गरियो । 

तदर्थ समितिका संयोजक खनाल भन्छन्, सेनाले तालिम दिएपछि तयार भयो ४२ जनाको शव व्यवस्थापन गर्ने टोली ।

जसमध्ये ७ जना महिला । भन्नेले त पैसा लिएर गरे भनी आरोप पनि लगाए । तर, यहाँ कसैले पैसा लिएनन् । ज्यान नै दाउमा राखेर गरेको सेवाको मूल्य कति हुन्छ ? हामी सबैले सामाजिक सेवा भावका कारण काम गरेका हौँ ।

  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार ८:१४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया