सञ्चार छोडेर अभिनयमा आएका अभिनेत्री

नेपाली कला क्षेत्र र सञ्चार क्षेत्रलाई एकअर्काको परिपूरक क्षेत्रका रूपमा हेरिन्छ । त्यसैले पनि थुप्रै कलाकार सञ्चारकर्मी र सञ्चारकर्मी कलाकार भएका छन् । अभिनेत्री रिमा विश्वकर्माले कला क्षेत्रमा राम्रै स्थान बनाएकी छिन् । रिमा सञ्चार छोडेर कलाकारितामा लागेकी अभिनेत्री हुन् । 

अहिले पनि चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’को होस्ट गर्दै आएकी रिमा विश्वकर्मा कला क्षेत्रमा आउनु अघि नेपाल टेलिभिजनमा कार्यरत थिइन् । नेपाल टेलिभिजनमा रिमाले केही समय बालबालिका लक्षित कार्यक्रम ‘जाँदा जाँदै’ सञ्चालन गरेकी रिमा कार्यक्रम सञ्चालन छोडेर फिल्ममा आइन् । झण्डै एक दर्जन चलचित्रमा काम गरेकी रिमा अहिले पनि कार्यक्रम प्रस्तोताकै रूपमा चिनिन्छिन् । पत्रकारिता विषयमा नै स्नातकसम्मको अध्ययन गरेकी रिमाले डिसी नेपाल डटकम र तिम्रो हाम्रो डटकममा समेत केही समय काम गरेकी थिइन् । 

चलचित्र ‘नोभेम्बर रेन’ बाट फिल्मी करिअर सुरु गरेकी छुल्ठिम गुरुङको करिअर पनि सञ्चारबाट सुरु भएको थियो । फिल्मी क्षेत्रमा आउनु अघि उनले नेपाल वान टेलिभिजनमा काम गरेकी थिइन् । टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा चर्चित छुल्ठिमले नोभेम्बर रेनपछि नेप्टे, मिस्टर भर्जिन तथा पासवर्ड लगायतका चलचित्रमा काम गरिन् । पहिलो चलचित्रबाट दर्शकको मन जितेकी यी अभिनेत्रीका अन्य फिल्म भने औसत नै रहे । 

अभिनेत्री सोभिता सिम्खडाले पनि आफ्नो करिअरको सुरुवात सञ्चार क्षेत्रबाट गरेकी हुन् । लामो समय रेडियोमा कार्यक्रम सञ्चालन गरेकी यी अभिनेत्रीले करिब एक दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । सोभिता अहिले फिल्म क्षेत्रबाट केही टाढा भएर अध्यात्ममा लागेकी छिन् । उनले एउटा उपन्यास समेत सार्वजनिक गरेकी छिन्।

अभिनेत्री आँचल शर्मा फिल्ममा आउनुअघि टेलिभिजन कर्मी थिइन् । उनले केही समय एनटिभी प्लसमा कार्यक्रम सञ्चालन गरिन् । चलचित्र ‘नाइँ नभन्नु ल’बाट फिल्म क्षेत्रमा आएकी आँचलले त्यसपछि केही चलचित्र तथा म्युजिक भिडियोमा काम गरिन् । पछिल्लो समय चर्चित नायिकाको सूचीमा पर्ने आँचल अहिले विवाह गरेर बसेकी छिन् । 

पछिल्लो समय धेरैले रुचाएकी अभिनेत्री सुरक्षा पन्त एक समयकी चर्चित कार्यक्रम प्रस्तोता हुन् । सुरक्षाले आफ्नो करिअरको सुरुवातमा इमेज च्यानलमा ‘इमेज भिजे हन्ट’नामक कार्यक्रम सञ्चालन गर्थिन् । यही कार्यक्रम सञ्चालनका क्रममा निर्देशक आलोक नेम्वाङले उनलाई फिल्मका लागि अफर गरेका थिए । उनले फिल्मी करिअरको सुरुवात नेम्वाङ निर्देशित फिल्म ‘अझै पनि’ बाट सुरुवात गरेकी हुन् । त्यसयता सुरक्षाले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । 



सञ्चार क्षेत्र छोडेर अभिनयमा आउँने अर्की अभिनेत्री हुन्– सुरजनी केसी । केसीले पनि आफ्नो करिअरको सुरुवातमा इमेज च्यानलमा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रम प्रस्तोता भएर राम्रै चर्चा कमाएका बेला अभिनयमा आएकी उनले कला यात्राको प्रारम्भ म्युजिक भिडियोबाट गरेकी हुन् । त्यसपछि उनले ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘नेपथ्य’, ‘सपना तिम्रो मेरो’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् ।

चलचित्र ‘कृ’बाट अभिनय यात्रा थालेकी अदिती बुढाथोकी पनि सञ्चार छोडेर अभिनयमा आएकी कलाकार हुन् । टेलिभिजन प्रस्तोता हुँदै कला यात्रामा निस्किएकी अदितीले केही भारतीय म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।
 



  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १२:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया