कैलालीको चुरे गाउँपालिका जाने सडक असार लागेपछि निर्माण सुरु भएको छ । अन्य समयमा काम नगर्ने र असार मसान्तमा मात्रै गरिने निर्माणले आवत–जावतमा नै सास्ती भएको छ । गाउँपालिका जाने बाटोमा साना सवारी साधनदेखि पैदल हिँड्न समेत सकिने अवस्था छैन । सडक स्तरोन्नतिका लागि काम सुरु हुनु भन्दा अगाडि बजारसम्म पुग्ने स्थानीय कृषि उत्पादन अहिले गाउँमै कुहिन थालेको छ । गाउँमा तरकारी तथा फलफूल उत्पादन हुने समयमा नै सडक हिँड्नै नसकिने भएको छ ।
सुगम जिल्ला कैलालीको दुर्गम गाउँपालिका चुरेमा सडक हिलाम्मे हुँदा किसानले उत्पादन गरेका वस्तुहरू बजारसम्म पुर्याउन सास्ती भएको हो । सहजपुरदेखि चुरे गाउँपालिका जाने बाटो असारमा आएर स्तरोन्नति भइरहेका हो । चुरे गाउँपालिका ३ का टीकाराम ढुंगानाले सडक हिलाम्मे हुँदा हिँडडुल गर्न समस्या भएको गुनासो गरे । ‘सुख्खायामको समयमा वास्ता नगरेको सरकारले अहिले बर्खा लागेपछि निर्माण सुरु हुँदा समस्या भएको छ’, उनले भने, ‘यसले गर्दा स्थानीयहरूले आफूले उत्पादन गरेको वस्तु बजारसम्म पुर्याउन समस्या भएको छ ।’
गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म उत्पादन भएका तरकारी, फलफूल बजारमा पुर्याउन समस्या भएको अर्का स्थानीय खगेन्द्र खडायतको भनाइ छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ वर्ष बित्दा पनि गाउँपालिका केन्द्र जाने सडक व्यवस्थित नबनेको उनले गुनासो गरे ।
चालु आर्थिक वर्ष ०७७/७८ को असार मसान्तसम्म काम सक्नुपर्नेमा सम्झौता सकिनै लाग्न निर्माण कम्पनीले काम सुरु गरेको हो । चालु आर्थिक वर्षको असार मसान्तका सम्झौता सकिन लाग्दा निर्माण कम्पनीले जेठदेखि सडक स्तरोन्नतिको काम अगाडि बढाउँदा अहिले जनतालाई सही नसक्नु भएको हो ।
निर्माण कम्पनीले वर्षाको समयमै आएर काम गर्न थालेपछि आजित भएका स्थानीयले केही दिनअघि सडकमै धान रोपेर विरोध गरेको थिए । सरकारले धान उत्पादनलाई बढवा दिनका लागि असार १५ मा धान दिवस मनाइ रहँदा स्थानीयले भने सडकमा आएर धान रोपेका थिए ।
स्थानीय तहको निर्वाचनमा असारमै गाडीमा यही बाटो भएर प्रचार-प्रसार गरेको स्मरण गर्दै गाउँपालिकाको अध्यक्षका उम्मेदवार ढुंगानाले भने, ‘अहिले आएर जेठ-असारमा बाटो हिँड्ने नसकिने भयो ।’ उनले यसमा गाउँपालिकाको चरम लापरबाही भएको आरोप लगाए ।
साना सवारी साधन लिएर जानेहरूलाई पनि गाउँपालिकासम्म पुग्न सहज छैन । हिलाम्मे भएर हिँड्नुपरेको छ । जनप्रतिनिधिले पनि यो समस्यालाई स्वीकार गर्दै आफू पनि पैदल हिँड्न बाध्य भएको बताउँछन् ।
पटक-पटक योजना
यस सडकमा पटक-पटक योजना परेको स्थानीयले बताए । तर, विकास भने त्यही पुरानै छ । ०५१/५२ मा चुरे गाउँपालिकाको कार्यालय हुँदै जाने सडकलाई कृषि सडक अन्तर्गत सहजपुर-सोल्टा सडक नामकरण गर्दै काटियो । त्यसपछि ०६०/६१ मा साविकको जिल्ला विकास समितिले सुधारका लागि बजेट विनियोजन पनि गर्यो ।
त्यसयता उक्त सडक स्तरोन्नतिका लागि कुनै काम भएन । मानिसहरूलाई सडक हुँदै आवत-जावत गर्न सहज भएकै थियो । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय सहजुरबाट ६ किमि टाढा घरखेडामा निर्माण गर्ने निर्णय गरियो ।
सो निर्णयसँगै गाउँपालिकासम्म उक्त सडकलाई स्तरोन्नति गर्ने निर्णय पनि गरियो । त्यसका लागि ०७४/७५ मा स्थानीय उपभोक्तामार्फत् र ०७५/७६ मा सडक स्तरोन्नतिका लागि नाला र ग्राबेल गर्न जागृति निर्माण कम्पनीलाई गाउँपालिकाले ठेक्का लगायो ।
आरोप–प्रत्यारोप मात्र
सडक समयमै निर्माण हुन नसक्नुमा गाउँपालिका र निर्माण कम्पनी एकअर्कालाई आरोप-प्रत्यारोप गरिरहेका छन् । सडक स्तरोन्नतिका लागि चुरे गाउँपालिकाले दुई वर्षअघि चालु आर्थिक वर्षमा सडक निर्माण सम्पन्न गर्नुपर्ने समय तोकेर जागृति निर्माण कम्पनीसँग ३ करोड ६४ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
तर, अहिलेसम्म निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाको दाबी छ । गाउँपालिकाका इन्जिनियर विक्रम कँडेलले निर्माण कम्पनी र प्राविधिक त्रुटिका कारण सडक निर्माण ढिलाइ भएको बताए । उनले अहिले ५० प्रतिशत काम सम्पन्न भएको दाबीसमेत गरे ।
गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले निर्माण कम्पनीका कारण सडक निर्माणमा ढिलाइ हुँदा सेवाग्राही र जनप्रतिनिधिले सास्ती पाएको बताए । निर्माण कम्पनीले बदमासी गर्दा जनताको गाली खानुपरेको उनले बताए । ‘छ महिना भित्रै काम सक्ने प्रतिबद्धता जनाए म्याद थप्ने तयारीमा छौं’, अध्यक्ष रोकामगरले फरकधारसँग भने ।
जागृति निर्माण सेवाका तर्फबाट वारेसनामा काम गरिरहेका सुरेश रोकायाले समयमै इआइए नहुँदा र भिओमा परिणाम नहुँदा सडक निर्माणमा ढिलाइ भएको बताए । सडक चौडा गर्ने, माटो पटानी, नाली बनाउने काम धेरै ठाउँमा सम्पन्न भएको दाबी गर्दै उनले भने, ‘छ महिना म्याद थपिएर सरासर काम गर्न पाए त्यो समयभित्र काम सक्छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।