राष्ट्रपतिले लोकतन्त्रको अभ्यास र परम्परालाई पालना गर्न नसकेको सांसदहरुको आरोप

राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको अभ्यास र परम्परालाई पालना गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै उनले संविधानमा स्पष्ट लेखिएको कुरालाई राष्ट्रपतिले बेवास्ता गरेको आरोप लगाएका हुन् । 

अन्य मुलुकका राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको दृष्टान्त दिँदै बिडारीले राष्ट्रपतिको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् । संविधान बन्न नदिन प्रयास गरेको भारतले त्यसको सफल कार्यान्वयन हुनबाट रोक्न सोही समयदेखि नै प्रयास गरेको पनि उनको आरोप थियो । 

संविधान निर्माणका क्रममा संविधानको धारा ७६ को उपधारा ५ माथिको व्याख्या र टिप्पणी गायव गरिएको उनको दाबी छ । उनले भने, ‘संविधानसभामा संविधानको धारा ७६ को उपधारा ५ राख्नुपर्ने कुराको रेकर्ड गायव गराएछ । त्यो गायव गराउने मान्छे त अहिले सत्तासँग ट्याप्प गाँसिएर पो बसेको रहेछ । संविधानसभाको त्यो रेकर्ड अहिले छैन ।’ 

व्याख्या टिप्पणी पहिलो संविधानसभामा भएको तर दोस्रो संविधानसभाको व्याख्या टिप्पणी गायब गरेको उनको भनाइ छ । सो गायव गर्ने व्यक्ति अहिले मुखमा पानी हालेर बसेको उनको आरोप छ । 

प्रधानमन्त्री चुन्ने मुख्य कर्तव्य प्रतिनिधिसभाको भएको तर्क पेश गर्दै उनले आक्रोश पोखे, ‘प्रधानमन्त्री चुन्न नदिने । विघटन गरिदिने ? प्रतिनिधिसभा विघटन गरेर त्यसका सम्पूर्ण अधिकार आफूले प्रयोग गर्ने बेइमानी हो ।’

एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई–दुईपटक विघटन गर्नु जघन्य राजनीतिक अपराध भएको उनको भनाइ छ । उनले थपे, ‘यो अक्षम्य अपराध हो । यस्तो अपराध संसारका कुनै तानाशाहले गर्दैनन् । चुनाव त संविधानले भनेअनुसार हुन्छ प्रधानमन्त्रीले भनेअनुसार चुनाव हुने हो र ?’



राष्ट्रिय सभा सदस्य डाक्टर खिमलाललाई देवकोटाले प्रतिनिधिसभा विघटन गर्नु संविधानसम्मत नभएको भन्दै सत्तापक्षले संविधानको गलत व्याख्या गरेको दाबी गरे । प्रतिनिधिसभा विघटन संविधान र राष्ट्रप्रतिको घात, बेइमानी र धोकाधडी भएको उनले बताए ।

आवधिक चुनावबाहेकको अवस्थामा जनतालाई आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गर्नु संविधानको मर्मविपरीत भएको उनको दाबी छ । 



०७७ साल फागुन ११ गते सर्वोच्च अदालतले गरेको फैसलालाई आफूले आधार बनाएको र अदालतले गरेको व्याख्यामा प्रतिनिधिसभा विघटन नभनी प्रतिनिधिसभाभित्रै विकल्प खोज्नुपर्ने र त्यसका लागि दलहरुबीच सहमति खोज्न भनेको उनले स्मरण गराए । 

  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार २०:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया