धनगढीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थानयान सञ्चालनमा ल्याएका छन् । मृत्युपछि घरदेखि आर्यघाटसम्मको यात्रा सहज होस् भन्ने उद्देश्यका साथ निःशुल्क महाप्रस्थानयान सञ्चालनमा ल्याएको हमाालले बताएका छन् ।
शुक्रबार धनगढीमा एक कार्यक्रमका बीच महाप्रस्थानयान निःशुल्क रूपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ । शिक्षाप्रेमी प्रा. डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थानयान सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक व्यक्तित्व सिद्धराज पनेरुलाई यानको साँचो हस्तान्तरण गरेका हुन् ।
हमालले पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजान सो यानको व्यवस्था गरिएको जनाए । व्यवसायी हमालका अनुसार महाप्रस्थानयान सञ्चालनका लागि ३० लाख लगानी लागेको छ ।
कार्यक्रममा बाेल्दै हमालले भने, ‘शव वाहन पाउन निकै मुश्किल छ । शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्या पनि छ । कुनै पनि परिवारको सदस्य गुमाउँदा परिवार शोकमा डुबेको हुन्छ । यस्तो अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुन्छ । त्यसैले महाप्रस्थानयानको नाम दिएर निःशुल्क वाहन सञ्चालन गरिएको हो ।’
यान हस्तान्तरण कार्यक्रममा शिक्षाप्रेमी तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिस्टार डा. हेमराज पन्तले सम्मानजनक अन्तिम संस्कारका लागि अभियन्ता हमालले महाप्रस्थानयान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेकोमा प्रशंसा गरे ।
यानभित्र पार्थिव शरीर र किरियापुत्र बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ । साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ । यान धनगढी उप-महानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने गरी ल्याइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हमालले धनगढीमा सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएका छन् । निशुल्क यान सञ्चालन गर्न सम्पर्क व्यक्तिका रूपमा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुलाई तोकिएको र सञ्चालन खर्च हमाल परिवारले नै व्यहोर्ने छ । यान सञ्चालनका लागि एक चालकको समेत व्यवस्था गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।