राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।
एक कार्यक्रमका बीच राखेप सदस्य सचिव रमेश कुमार सिलवाल र ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौता मिति २०७८ साउन १ गतेबाट सुरु भएर २०८० असार मसान्तसम्म लागू हुनेछ र दुबै पक्षको सहमतिमा यसलाई बढाउन पनि सकिनेछ ।
सम्झौता अनुसार ट्रमा सेन्टरमा सेन्टरमा उपलब्ध सम्पूर्ण सेवा खेलाडीले सहुलियत दरमा प्राप्त गर्नेछन् ।
सेन्टरले हेड इन्जुरी, स्पाइनल इन्जुरी, विभिन्न किसिमका शल्यक्रिया जस्ता गम्भीर प्रकारका स्वास्थ्य समस्याको उपचार भने नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको विपन्न नागरिक उपचार निर्देशिका अनुसार गर्नेछ ।
सेन्टरले चाँडोभन्दा चाँडो गुणस्तरीय स्वास्थ सेवा उपलव्ध गराउनुका साथै आवश्यक परेको खण्डमा खेल स्थलमै गएर सेवा प्रदान गर्नेछ ।
राखेप र ट्रमा सेन्टरले खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीका परिवारको पनि स्वास्थ्य बिमा गराउनु पर्नेछ ।
ट्रमा सेन्टरका निर्देश डा.सन्तोष पौडेलले यो नेपाली खेलकुदका लागि एक ऐतिहासिक सम्झौता रहेको र यो सुरुवात मात्र भएको बताएका छन् ।
खेलाडीले राष्ट्रको सान बढाउने काम गरेको हुँदा उनीहरूलाई विशेष प्राथमिकतामा राख्दै चाँडोभन्दा चाँडो गुणस्तरीय आकस्मिक सेवा प्रदान गर्ने तथा आवश्यक परेको खण्डमा शल्यक्रिया सम्मको सेवा उपलब्ध होस भन्ने हेतुले सम्झौता गरिएको पौडेलले जानकारी दिए ।
राखेप सदस्य सचिव रमेश कुमार सिलवालले यो सम्झौतापछि खेलाडीहरूले राम्रो र गुणस्तरीय उपचार पाउने र स्वास्थ्य जोखिमलाई कम गर्न मद्दत पुग्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।