[प्रसव पीडा र खुसी] ‘सानामा छोरीको राम्रो टेक केयर गर्न सकिन, पछुतो लाग्छ’

६० को दशक अघि नै रोल्पा जिल्लामा राधिका हमालको नाम चर्चित भइसकेको थियो । स्थानीय गायिकाका रूपमा चर्चा बटुलेकी हमाल राष्ट्रिय कलाकार बन्न राजधानी झर्ने क्रममा थिइन् । त्यही बेला उनको भेट गाउँकै इन्द्रबहादुर पुनसँग भयो । उनका भाइ कृष्ण पुन पनि जिल्लामा खाँदै गरेको मास्टरको जागिर छोडेर काठमाडौं आएका थिए । इन्द्रले भाइका लागि बुहारी छाने राधिका ।

काठमाडौं आएपछि कृष्णले गीत रेकर्डिङ स्टुडियोमा रेकर्डिसको काम सुरु गरे । राधिका पनि काठमाडौं आइन् । गीत गाउन स्टुडियो धाउँदा कृष्णसँग बारम्बार भेट भयो । भेटमा आधा मन साटियो । आधा मन त कृष्णका दाइले पहिले नै कृष्णको बनाइ दिइसकेका थिए ।

मन साटिएपछि उनीहरूले विवाह गर्ने निधो गरे । २०६० साल वैशाख ४ गते मन्दिरका देउतालाई साक्षी राखेर राधिका र कृष्णले एक-अर्काको हात थामे । छोरीको रोजाइमा उनका परिवारको कुनै गुनासो त थिएन । तर, त्यतिबेला खै के पर्‍यो थाहा छैन राधिकाको बिहेको साक्षी बस्न उनका बाबु*आमा आउन पाएनन् । मन्दिरबाट एक पुरोहितले राधिकाको कन्यादान गरेर कृष्णको हातमा सुम्पिए । सम्झँदा कहिले-कसो मन अमिलो भए जस्तो लाग्छ राधिकालाई ।

२०६० सालतिर नेपाली लोक गीत-संगीतको क्षेत्रमा राधिकाको राम्रो चहलपहल थियो । निक्कै व्यस्त राधिकाले करिअरको उक्लँदो गतिलाई भन्दा प्राथमिकतामा सन्तानलाई राखेकी थिइन् । उनी बिहेको लगत्तै आमा बन्ने प्लानमा थिइन् । उनलाई लाग्थ्यो, ‘कामले मान्छेलाई कहिल्यै छोड्दैन । त्यसैले काम सकेर बच्चा जन्माउँछु भन्ने लागेन । बरु मेरो करिअरसँगै बच्चा पनि हुर्किँदै जान्छ ।’ गर्भमा बच्चा बस्न भने लामो समय लाग्यो ।

६२ साल असारमा राधिका पहिलो पटक गर्भवती भइन् । गर्भ बसेको थाहा पाउँदा सुरुमा त उनलाई निक्कै डर लागेको थियो । त्यो डर के को थियो र कति समय टिक्यो राधिकालाई अहिले सम्झना छैन । त्यतिबेला राधिका स्टेजमा चलेकी कलाकार भित्र पर्थिन् । डाक्टरले धेरै नहिँड्न भन्थे । राधिका कार्यक्रमका लागि दौडिरहन्थिन् । नियमित चेकअपमा डाक्टरले बच्चा ठिक छ भन्थे । राधिका लामो स्वास तान्थिन् ।

७ महिनाकी गर्भवती हुँदा राधिका लमजुङको ठूलीबेसी भन्ने ठाउँमा कार्यक्रममा जाँदै थिइन् । बाटो अप्ठ्यारो । गाडी गएन । हिँड्न मुस्किल । आयोजक घोडा लिएर आए । राधिका घोडा चढेर कार्यक्रमस्थलमा गइन् । पछि उनलाई थाहा भयो घोडा चढ्दा बच्चा खेर जाने धेरै सम्भावनाका कुरा । त्यतिबेला राधिकाको शिरमा अजङ्गको पहाड आएर बसेझैँ भएको थियो । भाग्यवश उनको गर्भमा हुर्किरहेको सानो साथीलाई केही भएन ।



अहिले उनी गर्भवतीहरूलाई सुझाव दिन्छिन् ‘गर्भमा सानो साथी बोकेर घोडा नचढ्नु होला ।’ अहिले पनि घोडा चढेको त्यो क्षण सम्झिँदा राधिकाको मनमा आउँछ ‘केही भएको भए ?’ कुरा गर्दा गर्दै सिरिङ्ग हुन्छिन् ।

पेटमा बच्चा हुर्किँदै गयो । राधिका स्टेज र स्टुडियोमा झन् व्यस्त हुँदै गइन् । ठूलो पेट देखाएर स्टेज चढ्न लाज लाग्थ्यो । उनी पेट छोप्ने पहिरन लगाउँथिन् । अहिले उनी गर्भवती महिलाले प्रदर्शन गरेका पेटका तस्बिर हेर्छिन् र अचम्म मान्छिन् ।



६०६२ साल फागुन २१ गतेलाई राधिकाले डेलिभरी डेट पाएकी थिइन् । २२ गतेसम्म बच्चा जन्मने कुनै छाँट देखिएन । २३ गते चेकअप गराउन अस्पताल गइन् । डाक्टरले सबै नर्मल छ एक साताभित्र हुन्छ भने । उनी घर फर्किन गेट बाहिर पुगेकी थिइन् । त्यसबेला उनको यौनाङ्ग निक्कै चिलाउँथ्यो । यसपटक डाक्टरलाई सोधेर जाने विचार गरेर गेट बाहिर पुगेकी राधिका पुनः फर्किन् । डाक्टरले चेकअप गरे र भने, ‘आजै भर्ना गर्नु पर्ने भयो ।’

राधिकालाई आफू नर्मल छु भन्ने थियो । डाक्टरको कुरा सुनेर मज्जाले हाँसिन् । उनले प्रश्न गरिन् ‘मलाई केही भएको छैन किन भर्ना गर्नु डाक्टर साब ?’ डाक्टरले त्यसपछि भने, ‘ठिक छ अहिले हाँस्नु गायिकाज्यू । रुने बेला एकैछिनमा आउँछ ।’

उनी अस्पताल भर्ना भइन् । प्रसूति वार्डमा भर्ना भएका सबै आमाहरू चिच्याइ-चिच्याइ रोइरहेका थिए । राधिकालाई कतै दुखेकै थिएन । अरू रुन्छन्, राधिका गाउन लाएर यता-उता गर्थिन् । उनी सोच्थिन्, ‘यसरी रुने बेला कतिखेर आउने हो ?’ अरू रोएको देखेर राधिकाको पहिला नै सातो गयो । तर, पेट दुखेन ।

राति साढे ८ बजे डाक्टरले पहिलो डोज व्यथा लाग्ने सुई लगाइदिए । राधिकाको पेट हल्का दुख्न थाल्यो । रातको साढे ९ बजेतिर उनको पेट अलि बढी दुख्यो । उनलाई बच्चा जन्माउने रुममा लगियो ।

त्यसबेला पनि राधिकालाई लाग्यो, ‘मभन्दा धेरै रुने मान्छे बाहिरै रोइरहेका छन् । मलाई त्यस्तो सहन नसक्ने भएकै छैन । किन मलाई पहिला लगेको होला ?’ ९:४५ बजे उनकी छोरी नर्मल रूपमा जन्मिइन् । छोरी जन्मिसक्दासम्म पनि राधिका डाक्टरले भनेको त्यो रुने समय कुर्दै थिइन् । राधिकालाई छोरी जन्मिँदा नभएको पीडा छोरीको जन्मपछि फाटेको ठाउँ सिलाउँदा भयो । त्यतिबेला उनी बेस्सरी चिच्याएर रोइन् ।

पहिलो सन्तान छोरी भइन् । छोरी जन्मँदै ४ किलोकी जन्मिएकी । राधिका निक्कै खुसी भइन् । उनलाई त्यसबेला लागेको थियो, ‘मेरी जस्ती राम्री छोरी त अरूको जन्मिँदैन होला ।’ भोलिपल्ट बिहान अस्पतालबाट राधिका डिस्चार्ज भएर घर फर्किन् ।

त्यसबेला देशमा ६२-६३ को जन आन्दोलन सुरु भएको थियो । सबैतिर बन्द । राधिकालाई सुत्केरी स्याहार्न कोही आउँन पाएनन् । उनले राम्रो स्याहार पाइनन् । स्याहार मात्रै होइन भनेको जस्तो मासु किन्न पनि निक्कै टाढा जानु पर्थ्यो । एक दिन ल्याएको मासु एक सातासम्म खानु पर्ने । पैसाको दुःखले होइन, त्यो समय किन्नै पाइँदैनथ्यो ।

त्यसबेला राधिकालाई ज्ञान नै थिएन सुत्केरी महिलाले कसरी बस्नु पर्छ भन्ने । खाने कुराका बारेमा पनि जे मिठो लाग्यो त्यही खाइन् । खानु पर्ने के हो भन्ने त्यति धेरै जानकारी भएन । उनको सुत्केरी ज्यान बिग्रियो । त्यसले अहिले पनि उनलाई सताइरहन्छ । उनी अरूलाई भन्छिन्, ‘सुत्केरी भएको समय आफ्नो खूब धेरै स्याहार गर्नुहोला । सुत्केरीमा बिग्रेको ज्यानले जिन्दगीभरि सताउँछ ।’

२२ दिनकी छोरी बोकेर राधिकाले पुनः गायन यात्रा सुरु गरिन् । उनले पहिलो पटक सिर्जना विरही थापाको ‘टुहुरीको पीडा’बोलको गीत गाइन् । त्यसपछि उनले निरन्तर गीत रेकर्डिङ सुरु गरिन् ।

छोरी उनको जीवनमा ‘गुड लक’ भएर आइन् । त्यसपछि उनका थुप्रै गीत हिट भए । छोरीको आगमनले राधिकाको करिअर रोकिएन । बरु उनीहरूले आफ्नै रेकर्डिङ स्टुडियो सुरु गरे । उनका श्रीमान् संगीत संयोजनमा पनि निक्कै चल्न थाले । राधिकाले सोचिन् ‘करिअर विकासमा सन्तान बाधक हुन्न रहेछन् ।’

छोरी २ वर्षकी भएपछि राधिका छोरी लिएरै फेरि स्टेज कार्यक्रममा निस्किन् । उनकी छोरीले आमासँगै सानैमा देशका विभिन्न ठाउँमा पुग्ने अवसर पाइन् । छोरीले रोएर कहिल्यै दुःख दिइनन् ।

बाबु-आमा दुवै व्यस्त । घरमा हुँदा पनि छोरीलाई सुताएर टिभी हेराउँदै उनीहरू काम गर्थे । कोल्टे परेर टिभी हेर्दा हेर्दै उनकी छोरीका आँखाका नानी एक साइडे भए ।

छोरीले राम्रोसँग आँखा हेर्न सकिनन् । छोरी लिएर राधिका तिलगंगा अस्पताल पुगिन् । डाक्टरले कोल्टे पारेर टिभी हेराउँदा यस्तो भएको अप्रेसन गर्नु पर्ने हुन्छ भने । राधिकाको मुटु फुत्त बाहिर निस्केला जस्तो भयो । अस्पताल आएका अरु साना नानीहरूका आँखा हेरिन् । ‘समस्या मेरी छोरीमा मात्रै होइन रहेछ ।’उनको मन अलि हलुका भयो ।

धेरै कुराको ज्ञान नहुँदा राधिकाले आफ्नी छोरीको राम्रो केयर गर्न सकिनन् । थोरै बिरामी हुँदा पनि डाक्टरको सल्लाहबिनै उनले छोरीलाई आफ्नै मनले औषधी खुवाइन् । त्यसले छोरीको स्वास्थ्यलाई नकारात्मक असर गर्‍यो ।

अहिले राधिका अरूलाई सम्झाउँछिन्, ‘सानोतिनो दुखाइमै बच्चालाई आफूखुसी औषधी खुवाउनु हुँदैन । हाम्रो घरेलु उपायद्वारा बच्चाको उपचार गर्नुपर्छ ।’ आफूले राम्रो केयर गर्न नसक्दा छोरीले सानैबाट चस्मा लगाउनु पर्‍यो । राधिकालाई बारम्बार पछुतो लाग्छ । बच्चा हुर्काउने क्रममा आमा र बच्चा दुवैको स्वास्थ्यका लागि घरमा बूढापाका चाहिने रहेछ भन्ने कुरा राधिकाको मनमा खट्किरहन्छ ।

उनकी छोरी हुर्कंदै छिन् । छोरीले आफ्नो जिन्दगीको सपनाको खाका बनाउँदै छिन् । राधिका कहिल्यै पनि छोरीलाई ‘तिमीले यो बन्नु पर्छ’ भन्दिनन् । बाबु-आमाले छोरा-छोरीलाई आफ्नो इच्छामा ढाल्न खोज्यो भने कतिपय बच्चाले ‘बाबु-आमालाई खुसी पार्न सकिन भनेर गलत बाटो रोज्न सक्ने राधिका बताउँछिन् ।

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार ४:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया