प्रतिलिपि अधिकारसम्बन्धी कानुन स्पष्ट नहुँदा धरै अन्योल हुने गरेको भन्दै कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने सरोकारवालाले बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ को सम्बन्धमा गरिएको छलफलमा भाग लिँदै सरोकारवालाले प्रतिलिपि अधिकारको सम्बन्धमा विद्यमान कानुनी भाषामा अस्पष्टता हुँदा विवादित विषयको समाधान गर्न गाह्रो पर्ने गरेकाले आगामी दिनमा कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने बताएका हुन् ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य हेमनाथ पौडेलले लोक साहित्यलाई कपी गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताए । पछिल्लो समय स्वबौद्धिक चोरीको विकृति बढेका कारण ऐनमा स्वबौद्धिक चोरीलाई नियन्त्रण गर्ने व्यवस्था हुनपर्ने बताए ।
संगीतकार संघ नेपालका पूर्व अध्यक्ष तथा संरक्षक लक्ष्मण शेषले संगितको क्षेत्रमा १५ सेकेन्डसम्म हुबहु नोटेसन मिलेकोलाई कपी मानिने स्पष्ट रूपमा लेखिनुपर्ने बताए । १५ सेकेन्डसम्म नोटेसन मिल्ने संयोग लाखौँमा पनि हुन नसकिने अनुसन्धानले पुष्टि गरेको उनले बताए ।
राउटे समुदायसँग नजिक रहेर अनुसन्धानमा सक्रिय सत्यदेवीले सरकारले राउटेको भाषा संरक्षण गर्न नीति बनाउनुपर्ने बताइन् । राउटेको भाषाको लिपी बनाएर नै सुरक्षित राख्नुपर्ने उनले बताइन् ।
गीतकार संघ नेपालका महासचिव रमेश कोइरालाले व्युत्पत्ति, अनुवाद अथवा अनुकरणका नाममा मौलिकतालाई मास्नु गलत भएको बताए । उनले कानुनी भाषाको कुरालाई गम्भीरतापूर्वक लिइनुपर्नेमा सुझाव दिए ।
लेखक आरसी न्यौपानेले समाजको मनोविज्ञान, राजनीति, इतिहास, दर्शन लगायतको समग्र पाटोलाई विद्यमान प्रतिलिपि ऐनले नसमेटेको बताए । नेपालको सांस्कृतिक, दार्शनिक ग्रन्थहरूलाई अन्य देशहरूले अधिग्रहण गरेर आफ्नो प्रतिलिपि अधिकारमा राखिसकेको भन्दै आवश्यक पर्दा अन्तर्राष्ट्रियस्तरमा जानेगरी प्रतिलिपि ऐन संशोधन गर्नुपर्ने उनले धारणा राखे ।
लेखक न्यौपानेले राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा कला, साहित्यको सम्बन्धमा नेपालले गरेको अन्वेषणलाई रचना परिभाषाको खण्डमा राखिनुपर्ने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।