पुस्तक समीक्षा : राजनीतिसँगै राजकाज

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रद्वारा एउटा पत्रिकामा स्तम्भका रूपमा पहिल्यै प्रकाशित भइसकेका निबन्धहरूको संग्रह हो- राजनीतिसँगै राजकाज ।

रवीन्द्र मिश्रलाई सामाजिक सञ्जालमा पछ्याउने सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई यो संग्रहका आलेखहरू मलाईजस्तै नवीन लाग्ने छैनन् । एक दुई अध्याय छाडेर संग्रहका लगभग सबै खण्ड र तिनमा भएका विचार यस अघि नै रवीन्द्र मिश्रका फेसबुक स्टाटस, ट्विट अनि विभिन्न टेलिभिजन अन्तर्वार्ताहरूमा सुनिएका विषयहरू छन् । पत्रिकामा उनका स्तम्भ नियमित रूपमा पढेकाहरूका लागि पनि यो संग्रह पुरानै लाग्छ ।​

संग्रहको ‘मेरा बुवाको कथा’  चाहिँ यस अघि कतै नपढेको हुनाले नौलो लाग्यो र मन छोयो  ।  रविन्द्र मिश्रका बुवा र काकाको बाल्यकालको पीडा र संघर्षको कथा मार्मिक छ  । त्यस्तै ‘विदेश पढ्न गएका छोराछोरीलाई खुला पत्र’ अध्याय पनि यस अघि कतै नपढेको हुनाले पठनीय खण्ड लाग्यो  । यो खण्डमा लेखकले आफ्नो सम्भ्रान्तता राम्रैसँग पोखेका छन् । विश्वका बिरलै विद्यार्थीले  पाउने दुर्लभ अवसर आफ्ना छोराछोरीले पाएको बारे जमेर लेखेका छन् । उच्च छात्रवृत्तिमा विदेशमा अध्ययन गरिरहेका छोराछोरीलाई उनी यसो भन्छन्, ‘कलेजको पढाइपछि तिमीहरूको पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय जागिर खोजी हुनेछ !’

छोराछोरीलाई अन्तर्राष्ट्रिय जागिर खान मनोवैज्ञानिक दवाव दिँदादिँदै पनि लेख्छन्, ‘तिमीहरूले जीवनमा विशिष्ट सफलता हासिल गरे पनि  तिमीहरूको सफलताले कुनै न कुनै रूपमा नेपाललाई स्पर्श गरेन भने म त्यो सफलतामा गर्व गर्ने छैन ।’ (यो त ढोंग भयो )

संग्रहमा - विदुरको विद्वता र चाणक्यको चातुर्य केही छैन  ।

यो संग्रह विशेष गरी तपाईं हामी जस्तै देशको वर्तमान दुर्दशादेखि चिन्तित , अनि परम्परागत राजनीतिक शैलीले आक्रान्त युवा तथा सचेत वर्गको भँडासको प्रतिनिधि संग्रह हो । देश खराब राजनीतिक नेतृत्वकै कारण गरिबको गरिब हुन पुगेको भन्ने लेखकको तर्कसँग सहमत हुन सकिन्छ  । साथै ‘राजकाज’ को ज्ञान नेताहरूमा नभएकै हो पनि भन्न सकिन्छ । धेरै राजनीतिक समस्या अनि थोरै समाधानका उपाय यो संग्रहमा संग्रहित छन् । परम्परागत राजनीति दलहरूमा आबद्ध भएर नेतृत्वमा पुगौँला भन्नेहरूले एक पटक यो संग्रह पढ्दा यो संग्रह अवश्य सहयोगी हुनेछ ।



एउटा पत्रिकाको एक समयको स्तम्भहरूको संगालो भएको हुनाले पढ्दै जाँदा कतिपय विषयहरूमा समय सन्दर्भ नमिलेको भान हुन्छ  । कतिपय विषयहरू ३-४ पटक दोहोरिएका तेहेरिएका छन्  । जस्तो कि -‘देश परिवर्तन गर्ने बेलामा लाखौंको संख्यामा तपाईँहरू सडकमा निस्कने अनि चुनावमा चाहिँ जसले बढी खर्च गर्छ, जो सबैभन्दा चोर छ उसैलाई जिताउने ?’ राजनीतिक विश्लेषक प्रदीप गिरिको यो विचार लेखकले आफ्नो पुस्तकको भूमिकामा र पृष्ठहरू २७२ अनि २९५ मा तेहेर्याएका छन् ।

त्यस्तै अर्को प्रसंग, ‘देशका लगभग ८०% विद्यार्थी सरकारी विद्यालय जान्छन्, देशभर एक कक्षामा भर्ना हुनेको संख्या १५ लाख हुन्छ । तर एसएलसी (एसइई) दिने बेला त्यो संख्या साढे चार लाखमा झर्छ  र पनि न्युन स्तरको नतिजा ल्याउँछन् । एसइई दिने बेलासम्म १० लाखले पढाइ छाड्छन् ।’



यो प्रसंग पनि पुस्तकको पृष्ठ ७, १५० र २१७ मा दोहोरिएको छ । पुस्तकको बाहिरी साजसज्जालाई छोडेर आन्तरिक संपादनमा यो एउटा कुरूप संग्रह हो ! किताब प्रकाशक यसको दोषी देखिन्छ ।

लेखकले कल्याणकारी लोकतन्त्रको परिकल्पना गर्दै शिक्षा र स्वास्थ्य राज्यकै दायित्व भएको विषय जोडदार रूपमा उठान गरेका छन् । दलीय पेशागत संघ संगठनको विघटनको कुरा पनि सान्दर्भिक छ । नीति, नियम र नैतिकता अनि नेतृत्वका गुणहरू बारेका खण्डहरू पनि पठनीय नै छन् । सुशासनका बारेमा चर्का कुरा गरेका लेखकले देशको आर्थिक मूलस्रोत के हो र कसरी परिचालन गर्ने भनेर कतै उल्लेख गरेका छैनन् ।

यो संग्रहमा विभिन्न सन्दर्भमा केही विदेशी लगायत १०४ जना नेपाली व्यक्तित्वहरूको नाम समावेश छ । कतै केपी ओली , कतै ओली र कतै प्रधानमन्त्री भन्दै केपी ओलीको नाम सबैभन्दा धेरै ३७ पटक समावेश गरिएको छ  । त्यस्तै कतै पुष्पकमल दाहाल , कतै दाहाल त कतै प्रचण्ड भन्दै प्रचण्ड पनि २९ पटक लेखिएको छ । त्यस्तै काठमाडौंको मेयरमा पराजित साझा पार्टीका किशोर थापा १० पटक, अहिले साझाबाट अलग्गिएका सूर्यराज आचार्य ४ पटक, शेरबहादुर देउवा ९ पटक, राजा महेन्द्र १५ पटक, राजा वीरेन्द्र १२ पटक र राजा ज्ञानेन्द्र ८ पटक लेखिएको छ ।

विभिन्न प्रशंगमा डा. गोविन्द केसीको नाम पनि १६ पटक लेखिएको छ । गगन थापा एक पटक, बिपी कोइराला ७ पटक र गिरिजाप्रसाद कोइराला ६ पटक लेखिएको छ।

नेपालमा वैकल्पिक शक्तिको वहस चल्दै गर्दा नेपालमा स्थापना भएको विवेकशील नेपाली पार्टीपछि साझा पार्टीसँग एकीकरण भएको थियो । दुई पूर्ववत् पार्टीका अध्यक्षहरू  (उज्ज्वल थापा र रवीन्द्र मिश्र)  नै दुई जना संयोजक रहने गरी बनेको विवेकशील साझा पार्टीको एकताको रथ धेरै दिन टिकेन ।

नेपालमा सभ्य, सुसंस्कृत र सृजनशील राजनीति संस्कारको सुरुवात गरेका उज्ज्वल थापा कोरोना महामारीका कारण दिवंगत भइसक्नुभएको छ  । रवीन्द्र मिश्रसँग एउटै पार्टी र समान हैसियतको पदमा सहकार्य गरेका स्व. उज्ज्वल थापालाई ‘राजनीतिसँगै राजकाज’ मा एक पटक पनि पढ्न नपाउँदा उहाँहरू दुईजनामा व्यक्तिगत मित्रता कत्ति पनि थिएन कि जस्तो लाग्यो ।

हुन त उज्ज्वल थापा कोरोनाका कारण भेन्टिलेटरमा पुगेदेखि दिवंगत हुने बेला सम्मका रवीन्द्र मिश्रका सामाजिक सञ्जालका पोष्टहरू हेर्दा त्यस्तो लाग्दैन । देखिएका सबै कुरा सत्य नहुन पनि सक्दा रहेछन् ।

एउटा पाठकको रूपमा संग्रह पढिसकेपछि  मनमा जस्ता भावना आए, त्यस्तै लेखेँ ।

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार ११:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया