मेलम्चीको पानी दुई महिनापछि

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताएका छन् । कँडेलका अनुसार करिब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । 

दैनिक रूपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । काम सकिएसँगै उपत्यकावासीले सहज रूपमा खानेपानी पाउनेछन् । 

दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने बताइएको छ । 

‘मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्यांकीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्यांकी निर्माण हुँदै छ,’ आयोजनका प्रमुख कँडेलले भने, ‘पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।’ सुन्दरीजलको ट्यांकीबाट अन्य स्थानमा रहेका पुरानै ट्यांकीमा पानी संकलन गरी घरघरमा वितरण गरिन्छ । 

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले सो कुरा बताएका हुन् ।

बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रूपमा खानेपानी खान पाउँछन् भनेर प्रश्न राखेका थिए ।  



समितिका सभापति दिलकुमारी रावल थापाले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहज रूपमा पाऊन् भन्ने उद्देश्यले सो बैठक राखिएको जानकारी दिए । सो समितिले यही असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ । 

दशैँभित्र मेचम्चीको खानेपानी आउने आशामा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ । 



  • प्रकाशित मिति : असोज ११, २०७५ बिहीबार १७:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया