मैले जब-जब आफ्नो जीवनमाथि दृष्टि दिने र विश्लेषण गर्ने प्रयास गरेँ, तब-तब म हैरान भएँ कि मेरो व्यक्तित्वको थुप्रै रहस्य रहेछन्, जुन अहिलेसम्म मलाई थाहा थिएन ।आत्मविश्लेषणको यो प्रक्रिया सबैभन्दा पहिला ‘शबनम’ नामक सुरुआती समयको सिनेमाबाट आरम्भ भयो । त्यो यस्तो समय थियो, म चौबाटोमा उभिएको थिएँ र सोचिरहेको थिएँ- के म कहिल्यै ‘ट्रेजेडी किङ’ को उपाधि त्याग्न सकुँला ? यो उपाधि मसँग अटुट रूपमा जोडिएको थियो ।
हाम्रो विडम्बना के छ भने, मानिसहरू ट्रेजेडीको तुलना भावुकतासँग गरिदिन्छन् ! मलाई लाग्छ, एक दुखद चरित्रको चित्रण केवल उदास देखिनु या सतही विपदहरू (जस्तैः प्रेमिकासँग विछोड, टाट पल्टनु, मित्रबाट घात या परिवारले अस्वीकार गर्नु)बाट पिल्सनुमा सीमित छैन । त्रासदिको अर्थ मेरा निम्ति ग्रिक तथा सेक्सपियरले गरेका चित्रणसँग नजिक छ । म मान्दछु, वास्तविक त्रासदिले एक प्रकारको उदासीतर्फ डोर्याउँछ, जसले मानिसको हृदयलाई पक्रन्छ र मानिस भीडमा पनि एक्लो हुन थाल्छ ।
परम्परागत बुझाइमा जब कोही गायक आफ्नो कलाको गहिराइमा डुब्छ तब ऊ आफ्नो शैलीलाई शुद्ध सुनमा बदल्न सक्छ । र, त्यसपछि मात्रै ऊ त्रासदिको चित्रण गर्न योग्य हुन्छ । यदि कसैले त्यसलाई बेग्लै चस्माले हेर्छन् भने मेरो बुझाइ पूरै विरोधाभासपूर्ण हुन सक्छ।
मलाई यस्तो समय ‘ट्रेजेडियन’ घोषणा गरियो त्यसबेला म आफ्नो प्रतिभा तिखार्ने प्रक्रियामा थिएँ । फिराक महोदयको एउटा मिसरा(गजल पंक्ति) मेरा निम्ति उपयोगी देख्छुः म अमृतमा परिवर्तित हुने छु, यदि थोरै थप आँचमा जल्न पाए । ममाथि ट्रेजेडी किङको ठप्पा समयभन्दा अगावै लगाइयो । सिनेमाहरूमा जसरी मैले दुखद चरित्र निर्वाह गरेँ, मानिसहरू त्यसबाट प्रभावित हुँदै ममाथि दया र भावुकताका साथ प्रस्तुत हुन्छन् । ठीकै छ, मैले समयभन्दा अघि नै दुःखका पहिरन लगाउनुपर्याे र यसले मेरो व्यक्तित्व असामान्य ढंगमा प्रभावित हुन पुग्यो । मलाई लाग्न थाल्यो- सायद खुसी र सफलताको अनुभव गर्न पाउनु मेरो भाग्यमा छैन ।
म स्वयम् आफूलाई एउटा यस्तो मानिसका रूपमा हेर्न थालेँ, जसको अस्तित्व दुःख र पीडाले भरिएको थियो, जसको जीवनमा मुस्कान र हाँसोको कुनै स्थान नै छैन । यो स्थितिले मेरो जीवनमा भयानक उथलपुथल मच्चाइदियो र मभित्रको सुखी-भाग्यमानी हृदयलाई हल्लाइदियो । जब मैले आफूभित्रको सुखी मानिसलाई दबाउनुपर्याे तब म अनौठो प्रकारको मनोविज्ञानको सिकार भएँ । जतिजति मेरो पेशागत जीवनले मेरो निजी जीवनमा असर पार्न सुरु गर्याे, उतिउति मभित्रको संघर्ष थप गहिरिँदै गयो । यो मेरो जिन्दगीको अधिक अस्वाभाविक र दुखद समय थियो ।
लगभग त्यही समय जब मलाई शबनम फिल्ममा एक हल्काफुल्का चरित्रमा अभिनयको प्रस्ताव आयो तब म त्यसलाई स्वीकार गर्ने कुरा दुविधामा परेँ । र, कयौं दिनसम्म त्यसले मलाई चिन्ता थपिदियो । मैले बेलायती मनोवैज्ञानिकको सल्लाह लिने निर्णय गरेँ । त्यहाँ गएर मैले केही विशेषज्ञहरूसँग भेट गरेँ । उनीहरूमध्ये अधिकांशले मलाई सल्लाह दिए- दुःखपूर्ण चरित्रमा अभिनय गर्न छाडेर हल्काफुल्का र कमेडी चरित्रको खोज गर्नुपर्छ । त्यसो नगर्ने हो भने, मेरो व्यक्तित्व कमजोर र अधूरो रहने उनीहरूले बताए । म आफ्नो अभिनयका बारेमा एउटा स्पष्ट निर्णय बोकेर भारत फर्किएँ । जब मलाई एसएमएसको सिनेमा ‘आजाद’को प्रस्ताव आयो तब त्यसलाई मैले तत्कालै पक्रिएँ । मेरो अभिनेता जीवन र कलाकारको विकासका रूपमा त्यो सिनेमा एउटा अहम् मोड थियो । त्यो यस्तो समय थियो, जुन बेला मेरो टुक्राटुक्रा भएको व्यक्तित्व पुनः जोडिएको थियो ।
एउटा नयाँ बाटो बनाउनु कुनै पनि हिसाबमा सहज हुँदैन । त्यसमाथि मलाई बौद्धिक र काल्पनिक उल्झनहरूले कमजोर बनाइदिएको थियो । त्यो ‘पहिचानको परिवर्तन’ मेरा निम्ति एक मुश्किल यात्रा थियो । म पुनः दुःखको घेरामा पुगेको थिएँ, किनकि आफ्नो पछिल्लो व्यक्तित्वभन्दा बिलकुलै उल्टो बन्ने प्रयासमा थिएँ । र, त्यसो गर्नु सहज पक्कै थिएन । तर अल्लाहको आशीर्वादले म राम्रो काम गर्न सफल भएँ र मेरो सफलताले ट्रेजेडी किङलाई कमेडियनको नजिक पुर्याइदियो । मेरो मतलब के होइन भने मैले फरक चरित्र निर्वाह गरेर फुटपाथको भावुक अभिनेतालाई कुनै अलग थैलीमा पुर्याइदिएँ । जब ‘इनायत’ र ‘कोहिनुर’ को नयाँ जमिनमा मैले पाइला राखेको थिएँ तब सोही समय ‘देवदास’, ‘मुगल ए आजम’ र ‘गंगा जमुना’ जस्ता सिनेमामा पनि काम गरिरहेको थिएँ ।
फरकफरक भूमिका निर्वाह गर्नाले म यस्तो बाटोमा पुगेको थिएँ, जुन बिलकुल नयाँ थियो र चुनौतीपूर्ण पनि थियो । नयाँ क्षेत्रमा आफ्नो कौशल प्रस्तुत गर्न ‘कम्फोर्ट जोन’ बाट बाहिर निस्कनुमा एक अभिनेताका लागि तालिमको अहम हिस्सा हुने गर्छ । वास्तवमै एक कलाकारको यात्रामा कलात्मकताको विकास गर्नु पहिलो लक्ष्य हुन्छ । अहंकारीको आरोप लाग्ने जोखिम उठाउँदै म आफूलाई थोरै सन्देहसहित एउटा यस्तो अभिनेता मान्छु– जोसँग कलात्मक मूल्य छ । मैले पूरै विनम्रताका साथ ‘सन्देह’ शब्दको प्रयोग गरेको छु । नत्र कसले अधिकारसहित दाबी गर्न सक्छ कि आँसुका केही थोपामा अर्काको तुलनामा अधिक लगाव छ भनेर या हाँसोमा हास्यको मापन गर्न ! एक कलाकारको जीवनमा आँसु, हाँसो दुइटा यस्ता विशेषता हुन् जसको सम्बन्धमा सबैखाले मान्यता बेकार हुन जान्छ ।
गंगा जुमना, मुगल ए आजम, राम और श्याम, आदमी, गोपी, दास्तान तथा सगिना महतो सबै फरकफरक चरित्रका सिनेमा थिए । ती विरोधाभासपूर्ण चरित्रमा अभिनय गर्नु सिकाइको महत्वपूर्ण मोड थियो जसले मेरा हरेक नयाँ कदम, नयाँ कौशल, नयाँ शैलीको माग पेश गर्थ्याे । एक कलाकारको जीवनमा यो निरन्तर चलिरहने प्रक्रिया हो ।
(ब्लुम्सबरीद्वारा प्रकाशित यासिर अब्बासीको पुस्तक ‘ये उन दिनों कि बात है’बाट दि हिन्दुस्तान टाइम्सले गरेको साभारको अनूदित तथा सम्पादित अंश)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।