कर्णाली प्रदेशसभा फेरि अवरुद्ध, ओली-नेपाल पक्ष नमिलेसम्म नचल्ने

नेकपा एमालेले कर्णाली प्रदेशसभा पुनः अवरुद्ध गरेको छ । आइतबार दिउँसो दुई बजे बोलाइएको बैठकमा एमालेका सांसदहरू उभिएर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । बैठकको सुरुमा नै एमाले सांसद पदमबहादुर रोकायाले एमालेले उठाउँदै आएका मागहरू पूरा नभएसम्म बैठक चल्न नदिने बताए । 

एमालेले असार एक गते संसदमा बजेट प्रस्तुत भएयता देखि निरन्तर रूपमा बैठक अवरुद्ध पारिरहेको छ । एमालेले फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीनजना मन्त्रीलाई सरकारबाट फिर्ता भएर प्रतिपक्षको रोमा बस्न आग्रह गरिरहेको छ । संसदीय प्रणालीमा एउटै पार्टी सरकार पक्ष र एउटै पार्टी प्रतिपक्ष हुन नसक्ने भन्दै एमालेले संसदीय व्यवस्था अनुसार बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । 

एमालेको फ्लोर क्रस गरेर सांसद पद समेत नरहने गरी कारबाहीमा परेका सांसदहरूलाई सर्वोच्चले सांसद पद पुन:स्थापना गरेपछि एमालेले आफ्नो सरकार बनाउने दाउमा छ ।

बैठकमा सांसद रोकायले भने, ‘एमाले नियम कानुन, विधि पद्धति अनुसार चल्ने पार्टी हो । कर्णालीमा पनि हामी विधि, पद्धति अनुसार चलिरहेका छौँ । दुई-चार दिन लाग्ला अझै पनि, हाम्रा केही साथीहरूले फ्लाेर क्रस गरेर जानु भएको छ । उहाँहरूले हेरेका होलान- के हुन्छ माथि पार्टी एकता हुन्छ वा हुँदैन । त्यति स्थितिमा होलान् । अब एकता भयो भने उहाँहरू पनि आउने होलान् । आए भने के होला यो सरकार ?’ 

एमाले एक भएर सरकार निर्माण गरेको अवस्थामा बजेट पास हुन्छ कि हुँदैन ? मन्त्रीहरूका जिल्लामा छुट्याइएको अरबौँ रकम के हुन्छ भन्दै उनले प्रश्न गरे । यता फ्लोर क्रस गरेर गएका नेपाल समूहका मन्त्रीहरू पनि केन्द्रबाट निर्देशन नआएसम्म सरकारमै रहने अडान लिइरहेका छन् । 

यसरी एमालेले निरन्तर बैठक अवरुद्ध गर्दा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथिको छलफल अन्यौल भएको छ । बैठक असार २९ गते सम्मका लागि स्थगित भएको छ । 
 





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १५:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया