कहिले पाउलान् सबै नेपालीले कोरोनाविरुद्धको खोप ?

गत माघ २४ गतेदेखि नेपालमा कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान कार्यक्रमको बालुवाटारबाट भर्चुअल उद्घाटन गर्दै तीन महिनाभित्रमा सबै नेपालीलाई खोप लगाइसक्ने दाबी गरे । प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार खोप अभियान अघि बढेको भए वैशाख २४ सम्ममा सबै लक्षित समूहले खोप पाइसक्थे ।  

७२ प्रतिशतभन्दा बढी अर्थात् दुई करोडभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप दिने सरकारको योजना छ । त्यहीअनुसार सरकारले खोप कार्यक्रम अगाडि बढाइरहेको छ । तर, मागअनुसार खोप नपाउँदा समस्या देखिएको छ । 

सुरुमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो । त्यसपछि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार डोज खोप आयो । नेपालले भारतबाटै २० लाख डोज खोप किनेकोमा १० लाख डोज खोप मात्र दियो । १० लाख डोज कहिले पाउने भन्ने अन्योल अझै छ । 

त्यसपछि चीनले पनि ८ लाख डोज खोप अनुदानमा दियो । सुरुवाती चरणमा जुन रूपमा खोप आउने क्रम चलेको थियो । त्यसलाई हेरेर प्रधानमन्त्री ओली निकै उत्साहित देखिएका थिए । प्रधानमन्त्री ओलीले तीन महिनाभित्रमा जसरी पनि खोप अभियान सकिने बताइरहँदा विज्ञहरूले यसलाई हास्यास्पद भनिरहेका थिए । 

जनस्वास्थ्यविद् डा. शरद वन्तले खोप अभियान सकिन कम्तीमा पनि एक वर्ष लाग्ने बताएका थिए । खोपको सहज उपलब्धता, नेपालको किन्न सक्ने क्षमता, नेपालको खोप भण्डार क्षमतालगायतलाई मध्यनजर गर्दै एक वर्षभन्दा पहिला खोप अभियान नसकिने उनको दाबी थियो । 

तीन महिनामा खोप अभियान नै सकिने दाबी गरेका प्रधानमन्त्री ओलीले आज आएर आफ्नो बोली नै फेरेका छन् । वीर अस्पतालको नयाँ भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘०२१ सम्ममा लक्ष्यअनुसार खोप दिन्छौँ, हामीले प्रयास गरिरहेका छौँ । अब हामी खोपको अभावले तड्पिनुपर्दैन् ।’ उनको भनाइ अनुसार हुन्थ्यो भने यसअघि नै दुई करोडभन्दा बढी नेपालीले कोरोना खोप लगाएर अहिले सहज जनजीवन निर्वाह गरिरहेका हुन्थे । तर, अझै पनि कति समयसम्ममा खोप दिइन्छ भन्ने यकिन छैन । 



सरकारले भने आगामी मंसिर ३ गतेभन्दा पहिला नै लक्षित समूहलाई खोप दिइसक्ने लक्ष्य लिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सम्भव भएसम्म दशैँ–तिहार र नभए मंसिरसम्ममा खोप लगाइसक्ने लक्ष्य सरकारको रहेको बताए । 

तर, विश्वभर खोपको अभावका कारण मंसिरसम्ममा पनि त्यो सम्भव देखिँदैन । जनस्वास्थ्यविद् डा. वन्तले खोप कूटनीतिमा सरकार कमजोर देखिएको बताए । ‘खोप कूटनीतिका विषयमा सरकारले गर्नुपर्ने होमवर्क पुगेन । राष्ट्रपतिले पत्र पठाएर मात्र खोप आउँछ भन्ने हुँदैन,’ वन्तले भने, ‘त्यसपछि पनि हामी निकायहरूले त्यसलाई फलोअप गर्ने, सम्बन्धित कम्पनी वा देशलाई बेला–बेलामा झक्झक्याउने काम गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन ।’ 



नेपाल अनुदानको खोपको मात्र पखाइमा रहेको र त्यसले अहिलेको समस्या निम्त्याएको उनको भनाइ छ । ‘अहिले कुनै पनि देश अनुदानको पखाईमा छैनन् । सबैले बजेटको व्यवस्था गरेर खोप किनिरहेका छन् । हामीले त्यही गरेर खोपका लागि पर्याप्त बजेट छुट्याउनुपर्छ,’ वन्तले भने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नेपालीलाई पुग्नेगरी खोपको परिमाण एकैपटक उपलब्ध हुन नसक्ने भएकाले प्राथमिकता तोकेर खोप कार्यक्रम अगाडि बढाएको थियो । 

सरकारले पहिलो प्राथमिकतामा फ्रन्टलाइनरलाई राखेको थियो । उनीहरूलाई खोप पनि दिइसकिएको छ । त्यस्तै, दोस्रो प्राथमिकतामा ५५ वर्षभन्दा माथिका महिला तथा पुरुषलाई राखिएको छ । यो उमेर समूहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मुत्युदर र जटिलता उच्च देखिएको भन्दै सरकारले यो उमेर समूहलाई दोस्रो प्राथिमकतामा राखेको थियो । तर, खोपको उपलब्धताका आधारमा अहिले ६० वर्षमाथिको उमेर समूहलाई मात्र खोप दिइएको छ । सरकारले तेस्रो प्राथिकतामा १८ वर्ष भन्दामाथिको उमेर समूहलाई राखेको छ । 

खोप नै नपाउँदा लक्ष्यअनुसार अभियान सुरु गर्न नसकिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक गौतमको भनाइ छ । सरकारले सन् २०२१ भित्रमा लक्षित समूहलाई खोप दिइसक्ने लक्ष्य लिएको डा. गौतमले बताए । ‘हामीले सन् २०२१ भित्रमा लक्षित समूहलाई खोप दिनेगरी तयारी गरेका छौँ । अब त्यसमा खोप नपाउँदा समस्या देखिएको छ,’ डा. गौतमले भने । 

सहज रूपमा खोप पाएको खण्डमा यो वर्षभित्रमा सबैले पाउने तर खोप नपाएको खण्डमा केही भन्न नसकिने उनको भनाइ छ । 

नेपालले अहिलेसम्म ९ प्रतिशतभन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज दिइएको छ । भने तीन प्रतिशतभन्दा बढी जनसंख्याले दुवै डोज लगाइसकेका छन् । खोप अभियान सुरु भएको पाँच महिनामा झण्डै १० प्रतिशतले मात्र खोप पाए । यही हिसाबले खोप अभियान अगाडि बढ्ने हो भने ५० महिना अर्थात् चार वर्ष लाग्न सक्छ । 

अब केही सहज हुने

खोप अभावका कारण नेपालले खरिद गर्न सकिरहेको थिएन । जुन कम्पनीसँग नेपालले खोप खरिदका लागि प्रस्ताव गरे पनि तत्काल उपलब्ध गराउन नसकिने जवाफ आउँथ्यो । 

यो बीचमा नेपालले भारतको सेरम इन्स्ट्यिुट, भारत बायोटेक, चीनको भेरोसेल, अमेरिकाको जोनसन एण्ड जानेसन, मोडर्ना, रुसको फाइजरलगायत कम्पनीसँग खोप खरिदका लागि पहल गरेको थियो । तर, सबैले तत्काल खोप दिन नसकिने प्रतिक्रिया दिएका थिए । 

लामो समयको प्रयासपछि नेपालले चीनबाट ४० लाख डोज खोप किनेको छ । जसमा पहिलो लटमा ८ लाख डोज खोप काठमाडौं आइसकेको छ । अबको दुई लटमा १८ लाख डोज खोप ल्याउने तयारी छ । बाँकी खोप अर्को चरणमा ल्याउने गरी व्यवस्था मिलाइएको खोप शाखा प्रमुख डा. गौतमले बताए । 

त्यस्तै, अमेरिकाले पनि कोभ्याक्स सुविधामार्फत १५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । भोलि (सोमबार) सम्ममा १५ लाख डोज खोप नेपाल आइपुग्ने जानकारी पाएको डा. गौतमले बताए । उक्त खोप एक डोज लगाए मात्र हुन्छ । यो खोपका लागि बुस्टर डोज आवश्यक पर्दैन । यसो हुँँदा थप १५ लाख जनसंख्याले खोप पाउनेछन् । चीनबाट आउने खोपसमेत गर्दा अबको केही महिनाभित्रमा ३५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसक्नेछन् ।

अहिलेसम्म २६ लाख जनसंख्याले पहिलो डोज खोप लगाइसकेका छन् । जसमध्ये साढे १३ लाख जनसंख्या दोस्रो डोजको पखाईमा छन् । त्यस्तै, १० लाख १७ हजार भन्दा बढीले दुवै डोज खोप लगाइसकेका छन् । 

अब यसअघि नेपालले गरेको खोप पहलले सार्थकता पाइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल बताउँछन् । 

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १९:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया