खोला किनारमा खनिएको खाडलका कारण तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा

तटबन्ध निर्माणका लागि भन्दै विराटनगरस्थित सिंघीया खोला किनारमा गहिरो खाडल खनेर लथालिङ्ग छाडिएपछि तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।

घर पछाडि खनिएको गहिरो खाडलका कारण खोलामा आउने बाढीले जुनसुकै बेला बस्ती कटान गर्नसक्ने भएपछि स्थानीयवासीमा त्रास सृजना भएको छ ।

विराटनगर महानगरपालिकाको वडानम्बर २ तीनपैनीको उत्तर-पूर्वी सीमान्त सुकुम्बासी बस्तीमा यतिखेर त्रासको अवस्था छ । लगातार बर्षात् भइरहेको र घर पछाडिबाट बग्ने सिंघीया खोला किनारमा गहिरो खाडल खनेर छाडिएका कारण खोलाको बाढीले जुनसुकै बेला घर कटान भएर बगाउन सक्ने भएपछि उनीहरुमा त्रास छाएको हो । 

असार ६ गते तटबन्ध निर्माणका लागि भन्दै सो ठाँउमा खाडल खनिएको स्थानीयले जानकारी दिए । पानी पर्ने समयमा आफूहरु ठूलो जोखिममा रहेको पीडित जगदीश सहनीले बताए । निर्माण पक्षलाई तटबन्धको काम छिटो गर्न आग्रह गर्दा चासो नदिएको स्थानीय सहनीले गुनासो गरे । 

उत्तरबाट दक्षिणतर्फ खनिएको खाडलका कारण स्थानीय जगदीश सहनी, रमेश झा, सुरेन्द्र सहनी र रामु सहनीको घर सबैभन्दा बढी जोखिममा परेको छ । उनीहरुको घर पछाडि नै खाडल खनिएका कारण घर तथा बारीका भित्ताहरु भासिन थालेको छ । 

खाडलकै कारण बस्तीको उत्तरतर्फ रहेको तीनपैनी स्पोर्टिङ क्लबको जगको माटो समेत भासिएर ढल्ने जोखिममा छ । क्लबको सो भवनले दक्षिणतर्फ फैलिएको सुकुम्बासी बस्तीका लागि बाढीको बेगबाट जोगिने महत्वपूर्ण सुरक्षा कवचको रुपमा समेत काम गर्दै आएको छ । बाढी आउने महिना साउन, भदौ बाँकी रहेकाले उक्त क्षेत्रको सिंगो बस्ती नै कटानको जोखिममा परेको स्थानीय मनोज मलहाले बताए । 



संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत उक्त क्षेत्रमा बोल्डर हाल्न सय फिट बढी लम्बाइको खाडल खनिएको हो । झण्डै १० लाख बजेटबाट तटबन्ध निर्माण गर्न स्थानीय शिला दीक्षित कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।

तार-जाली र बोल्डर हाल्ने काम सुरु गरिएपनि पछिल्लो समय मजदुर अभावका कारण काममा ढिलाई भइरहेको अध्यक्ष कार्कीले बताइन् । आउँदो केहीदिन भित्रै तटबन्धको काम सक्ने उनले दाबी समेत गरिन् । 



खोला नियन्त्रणका लागि तटबन्ध गर्न खाडल खनिएको भएपनि मध्य बर्षातको समयमा निर्माण गर्न खोजिएकाले स्थानीयको जीउधन जोखिममा परेको हो । सम्भावित दुर्घटनालाई टार्न समयमै निर्माण सक्नु आवश्यक छ ।

  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १३:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया