प्रतिनिधिसभा विघटन बदरको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ । दिउँसोतिर २–३ बजेतिर मात्रै फैसला सुनाउने तयारी भइरहेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
कांग्रेस सभापनि शेरबहादुर देउवासहित १४६ जना सांसदले जेठ १० गते दर्ता गरेको रिटमा असार ९ गतेबाट नियमित बहस भएको थियो ।
संवैधानिक इजलासले रिट निवेदकलाई १५ घण्टा र विपक्षीलाई १५ घण्टाको समय दिइएको थियो । त्यसपछि सभामुखको तर्फबाट बहसका लागि २ घण्टा र एमिकस क्युरीको रुपमा बहसमा आएका ४ जनाले २ घण्टा बहस गरेका थिए ।
यो गरी यस रिटमा जम्मा ३४ घण्टा बहस भएको छ । रिट निवेदक पक्षको बहस ४ दिनसम्म चल्यो । निवेदक पक्षका कानुन व्यवसायीले पाएको १२ घण्टाको समयमा असार ९, १०, ११ र १३ गतेसम्म बहस गरे।
जसमा असार ९ गते ५ जना, १० गते ९ जना, ११ गते ६ जना र १३ गते १६ जना गरी ३६ जनाले बहस गरेका थिए।
विपक्षीको तर्फबाट अर्थात प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट असार १४, १५, १६, १७ र १८ गते प्रतिरक्षा बहस भएको थियो ।
सरकारको तर्फबाट प्रतिरक्षा बहसमा जसमा ११ सरकारी वकिल र २१ निजी वकिल गरी जम्मा ३२ जनाले बहस गरे ।
२० गते सुरुमा सभामुखका तर्फबाट बहस भयो । सभामुखका तर्फबाट बहसका लागि पाएको २ घण्टाको समयमा ५ जना वकिलले बहस गरे । २० गते रिट निवेदक पक्षले जवाफी बहस सुरु गरे । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २० गते र बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले २१ गते बहस गरे ।
२१ गते नै एमिकस क्युरीका रुपमा झिकाइएका ४ जना बरिष्ठ अधिवक्ताहरूले बहस गरेपछि । उक्त रिटमाथिको सुनुवाइ सकिएको थियो।
यसरी हेर्दा यो रिटमा रिट निवेदक पक्षको जवाफी बहसमा दोहरिएकालाई समेत पुनः गन्ने हो भने ८१ जनाले बहस गरे ।
जसमा रिट निवेदकको पक्षबाट ३६, विपक्षबाट ३२, सभामुखको तर्फबाट ५ जनाले बहस गरेका थिए । जवाफी बहसमा ४ जना र ४ जना एमिकस क्युरीले यस मुद्दामा बहस गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।