कैलालीको भजनी नगरपालिकामा उपप्रमुखको नेतृत्वमा तालाबन्दी

कैलालीको भजनी नगरपालिकामा तालाबन्दी गरिएको छ । उपप्रमुख छाया देवकोटासहित वडाध्यक्षहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरिएको भन्दै तालाबन्दी गरिएको उपप्रमुख देवकोटाले फरकधारलाई जानकारी दिइन् ।

उपप्रमुख देवकोटासहितका वडा नम्बर १ का अध्यक्ष रविन थापा, ५ का अध्यक्ष केशवबहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन्।

आइतबार उपप्रमुख छाया देवकोटासहितका वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिष्कार गरेका थिए । नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतका आधारमा निर्णय गर्न थालेपछि बैठक बहिष्कार गरेको उनीहरुको भनाइ छ ।  अहिले भजनीको कार्यपालिकामा १९ जना सदस्य छन् । आइतबार ४ जनाले बैठक बहिष्कार गरेका हुन् ।

१८ असारमा सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि पनि आफूलाई प्रमुख चौधरीले अधिकार नदिएको उपप्रमुख देवकोटाको आरोप छ । स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा बजेट तथा कार्यक्रम तर्जुमा समिति तयार गरिएको छ । त्यसमा उपाध्यक्ष वा उपप्रमुख संयोजक रहने व्यवस्था छ । तर, उपप्रमुखलाई जानकारी नगराई बजेट तथा कार्यक्रम तर्जुमा गरेको भन्दै विरोध भइरहेको छ ।

माओवादीबाट उपप्रमुखमा निर्वाचित देवकोटा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेर पदमुक्त बनाएको थियो । तर, १८ असारमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो । पुनर्बहालीपछि पनि नगरप्रमुखले अधिकार दिन आनाकानी गरेर सर्वोच्च अदालतको मानहानी गरेको उनले बताइन् ।





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १६:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया