क्षण विशेषका टिपोट
पहिरो

रिसाहा पैरोमा सललल गरी बग्दछ जिमी
उडायो पैरोले कति भवन वा जीवन पनि ।
न मान्छे उस्तो हो, न प्रकृति बनिन क्रुर धमनी
बगाइन् पैरोमा सम-विषमको भाव नगनी ॥

जहाँ लाग्यो पैरो प्रकृति मरुजस्तै हुन गयो
बगिन् धर्तीमाता अतुल ममताको मुटु बग्यो ।
मरे आमा-बाबा चपल शिशुका जीवन ढले ।
मरे गाई बाच्छा विहग बचराका गुड उडे ।

जहाँ पैरो लाग्यो धन र जन स्वाहा हुन गयो
दु:खैले सिर्जेका नवीन घरबारी सब गयो।
कतै आस्था टुक्र्यो विपुल पहिरो भास्सिन गयो
कतै भाषा बिग्र्यो नय-नियम बग्दै तल गयो ।

गयो पैरो ठुलो, विगत दिन पेन्टागनसँगै
रुँदैछन् किस्तानी विषम घटनाले छिनछिनै ।
गयो दर्बारैमा मधुर विपनाका नृप ढले
सँगै ती निर्दोषी मृदु-कुसुमका यौवन ढले ॥

लडेका छन् मान्छे भवन वन नै मात्र नलडी
चलेका छन् पैरा तन र मनभित्रै अझ कति ।
स्वयं पैरो खन्ने मनुज कति छुच्चो भुवनको
पछारिन्छन् आफैं बगरबीचमा लाग्छ ननिको ॥

अहो, पैरो लाग्यो किन र कसरी आज मनमा
छ भित्रै टुक्रेको मन र पहिरो चल्छ तनमा ।
चलेको हो पैरो कटु समयका चोट खतले
बिझेका काँडाका दहन अथवा खोट सबले ॥





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ४:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया