कैलालीमा दुर्लभ पाटे बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोलीले मंगलबार साँझ जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका-५ सालघारीका अन्दाजी ५५ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका-१ का लोकेश सिजापति रहेका छन् ।
करिब १० मिटर लम्बाइको पाटेबाघको छाला बिक्री गर्दै हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको आरआइटीको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए । उनीहरूलाई छालासहित आरआइटीले इलाका प्रहरी कार्यालय चौमालाको जिम्मा लगाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।