आर्थिक अवस्था कमजोर हुँदा आफूलाई समाजमा हेयको दृष्टिकोण हेर्ने गरेको एकल महिलाहरुको गुनासो छ। आर्थिक रुपमा सबल बन्नका लागि एकल महिलाहरु व्यवसायिक खेतीतर्फ अग्रसर भएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–२ मा एकल महिलाहरु सामूहिक बेसार खेतीमा लागेका छन्। एकल महिलाहरुले धनगढी उपमहानगर–२ को कार्यालयले छुट्याएको आर्थिक सहयोग र केही आफ्नो लगानीमा बेसार खेती सुरु गरेको हुन्।
आर्थिक रुपमा पछाडि परेको एकल महिलाहरुको जीवनस्तर माथि उकास्न वडा कार्यालयले उनीहरुलाई तीन लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रायः एकल महिलाका समस्या समान छन्।
आफ्ना हकहित र देखिएका समस्या समाधानका लागि एकल महिलाहरु संगठित छन्। वडा, पालिका, जिल्ला, प्रदेश र संघ अन्तर्गत रहेर एकल महिलाहरु संगठित भएका छन्। यसैबीच धनगढी उपमहागनरपालिका–२ का एकल महिलाले आत्मनिर्भर बन्न बेसार खेती गर्ने उपाय खोजेका हुन्।
महिलाहरुको छलफलबाट फुरेको थियो आर्थिक रुपमा सबल बन्ने यो नयाँ योजना। जसले एकल महिलालाई आर्थिक रुपमा आत्मनिर्भर र सबल बनाओस्।
एकल महिलाहरुले आत्मनिर्भर बन्ने योजना बनाएपनि सुरुमा लगानी कहाँबाट ल्याउने भन्ने समस्या देखियो। त्यसका लागि उनीहरुले वडामा पहल गरे। बेसार खेतीका लागि अनुदान प्राप्त गर्न सहज थिएन।
वडामा एकजना चल्ताफुर्ता वडा सदस्य छिन्, रत्ना बिष्ट। एकल महिलाहरु उनै वडासदस्य बिष्ट मार्फत बेसार खेतीका लागि वडाको सहयोग माग्न अगाडि बढे। महिलाहरुको प्रयासपछि वडाले बेसार खेतीका लागि एकल महिलालाई बजेट उपलब्ध गराउने निर्णय गर्यो।
दुई विघामा बेसार खेती गर्नका लागि वडाले तीन लाख रुपैयाँ दियो। बजेट प्राप्त भएपछि महिलाहरुले सामूहिक रुपमा वडा नम्बर २ मिलनचोक क्षेत्रमा दुई बिघा जग्गा भाडामा लिए।
वडा नम्बर २ ले बजेट उपलब्ध गराएकाले सोही क्षेत्र भित्रै जग्गा भाडामा लिनुपर्ने थियो। वडाबाट प्राप्त बजेट र समूहबाट थप ३० प्रतिशत गरी झण्डै चार लाख रुपैयाँको लगानीबाट महिलाहरुले बेसार सुरु गरेका छन्।
वडा नम्बर २ का करिब ६० जना महिलाहरु समूहमा आबद्ध भएर बेसार खेतीमा लागेका छन्। उनीहरु बेसार खेती काममा आफैँ खटिए। श्रमदान गरे। बेसार रोपीसकेपछि अब गोडमेललगायत रेखदेख गर्ने काममा पालो लगाउने उनीहरुको तयारी छ।
‘खेती लगाउने काममा जति जना सहभागी भएपनि अब पालैपालो खेतीको रेखदेखमा सहभागी हुनेछन्,’ एकल महिला समूहकी अगुवा भगवती हमालले भनिन्।
अहिले दुई बिघामा बेसार खेती सुरु गरेका एकल महिलाको लक्ष्य छ, बेसार उद्योग स्थापना गर्ने। जहाँ संघीय सरकारले पनि सहयोग गरोस् र यहाँका सबै एकल महिला तथा तिनका सन्ततिले रोजगारी पाउन्।
‘हाम्रो भावी योजना भनेको वैधानिक रुपमा एक बेसार उद्योग दर्ता गरेर अगाडि बढ्ने हो,’ एकल महिला अगुवा हमालले भनिन्, ‘जहाँ एकल महिला वा एकल महिलामाथि निर्भर परिवारका सदस्यहरुले काम गर्ने अवसर पाउन्।’
उद्योग कसरी सञ्चालन गर्ने र कसलाई कसरी काम लगाउने भन्ने समूहको विधानले तय गर्ने उनले बताइन्।
उत्पादन भएको बेसार बजारीकरण गर्ने र सहयोग प्राप्त हुँदै गएर बिस्तारै उद्योग स्थापनाका लागि लाग्ने एकल महिलाका अगुवा बेद अवस्थीले बताइन्। ‘अहिले हामीले थालनी गरेको काम जीविकोपाजर्नका लागि हो,’ उनले भनिन्, ‘भविष्यमा यसलाई बेसार उद्योगकै रुपमा स्थापना गर्ने हाम्रो योजना हो। त्यसका लागि हामी सक्रिय भएर लागिरहेका छौं।’
अहिले बेसार खेतीका लागि भनेर उनीहरुले ‘रामजानकी एकल महिला समूह’ र ‘सरस्वती एकल महिला समूह’ भनेर दुईवटा समूह दर्ता गरेका छन्। काम संयुक्त भएपनि प्रशासनिक कार्य गर्दा सहज होस् भनेर दुईवटा समूह दर्ता गरिएका छन्।
एकल महिलाहरुले बेसार खेतीको प्रस्ताव ल्याएपछि सहयोगका लागि बजेट दिन आफूले सक्दो पहल गरेको वडा नम्बर २ की वडा सदस्य रत्ना बिष्टले बताइन्। महिलाले थालनी गरेको प्रयास सह्रानीय र प्रत्यवायी भएको विष्ट भन्छिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।