नेपाल चिनाउने अभियान कहिलेदेखि सुरु भयो ?

नेपालको पर्यटन हिमालबाट सुरु भएको हो । सन् १९५० मा मौरिस हर्जोग र लुइस लाचेनलले संसारमै पहिलोपटक अन्नपूर्ण हिमाल (८०९१ मि.) आरोहण गरेपछि नेपालले विश्व बजारमा चर्चा पाएको थियो । 

यस्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि हिमालको देशमात्रै नभएर विश्वकै पर्यटकीय गन्तव्यको रूपमा नेपालको प्रवर्द्धन भयो । तर त्यो समय विदेशी पर्यटकलाई नेपाल आउन सोचेजस्तो सहज थिएन । पर्यटन उद्योगको विकास र प्रवर्द्धन गर्दै अर्थतन्त्रमै ठूलो योगदान दिनसक्ने सम्भावना भएको क्षेत्र हो ।

नेपाल भ्रमण वर्ष १९९८

नेपालको पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्नका लागि २३ वर्षअघि ‘नेपाल भ्रमण वर्ष १९९८’ घोषणा भएको थियो । पहिलो पटक घोषणा गरिएको भ्रमण वर्षले विदेशी नागरिकमा नेपाल घुम्ने वातावरण तय भएको जानकारहरू बताउँछन् । भ्रमण वर्षकै कारण नेपालीहरूमा समेत घुम्ने संस्कृतिको विकास भएको थियो ।

२०११ मा ‘पर्यटन वर्ष’

दोस्रो पटक नेपाललाई अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित २०११ मा पर्यटन वर्ष घोषणा गरिएको थियो । सो कार्यक्रमका संयोजक होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्ष योगेन्द्र शाक्य थिए । 



दशक लामो माओवादी द्वन्द्वका कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि पर्यटन वर्ष घोषणा गरिएको थियो ।  पर्यटन वर्षका संयोजक शाक्यका अनुसार सन् २०११ मा ८ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसअघि ५ लाखभन्दा माथि पर्यटक नेपाल आउन सकेको थिएन । सन् २०११ को पर्यटन वर्षमा चीन, भारत केन्द्रित अभियान चलाइएको थियो । 

पर्यटन वर्षका अभियानहरू



२०६८ साल पुस २८ गतेको मन्त्रिपरिषद्को बैठकले सन २०१३ देखि २०२० सम्मका वर्षहरूलाई पर्यटन अभियान वर्ष मनाउने निर्णय गरेका थिए । अन्तिम वर्ष २०२० लाई आन्तरिक भ्रमण तथा नागरिक वर्षका रूपमा मनाउने निर्णय गरेको थियो ।

सिस्ने-जलजला-ढोरपाटन-कर्णाली पर्यटन वर्ष २०१३, विदेह मिथिला सलेहस पर्यटन वर्ष २०१४, विराट मेची पहाडी पर्यटन वर्ष २०१५, रुरु-पोखरा-अन्नपूर्ण-मनास्लु पर्यटन वर्ष २०१६, सिम्रौनगढ-काठमाडौं-लाङटाङ पयर्टन वर्ष २०१७, अरुण-सगरमाथा पर्यटन वर्ष २०१८, चिसापानी-खप्तड-रामरोशन पर्यटन वर्ष २०१९ र आन्तरिक भ्रमण तथा नागरिक उड्डयन वर्ष २०२० का रूपमा मनाउने निर्णय गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिएको थियो । 

नेपाल भ्रमण वर्ष २०२०

त्यसको २२ वर्षपछि दोस्रोपटक सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिए पनि तीन महिनापछि कोरोना महामारीका कारण स्थगित गर्नु परेको थियो । कोरोना महामारीका कारण भ्रमण वर्ष स्थगितसँगै पर्यटन बजार नै अस्तव्यस्त भएको छ । पहिलो चरणको कोरोना पार गरेको नेपालले दोस्रो चरणको महामारी समेत भोगिसकेका छन् । अहिले पनि कोरोनाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईसेवाहरू बन्द रहेका कारण नेपाल घुम्न आउन सक्ने सम्भावना नरहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले सन् २०२० लाई भ्रमण वर्ष अभियानको प्रारम्भिक वर्षका रूपमा मनाउने र २०३० सम्म नै अभियान सञ्चालन गर्ने बताएका थिए । 

हिमाल, पदयात्रा र वन्यजन्तुको ‘प्याकेज’ 

नेपाल घुम्न आउनेमा सबैभन्दा बढी भारतीय र त्यसपछि चिनियाँ भएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । पर्यटन व्यवसायीहरूले विशेषगरी हिमाल, पदयात्रा र वन्यजन्तुको प्याकेज ल्याउने गरेका छन् । संस्कृति र पर्व हेर्न र अध्ययन गर्न कमैमात्र पर्यटक आउने गरेको पर्यट व्यवसायी मनोज श्रेष्ठ बताउँछन् । 

सरकारले तीन वर्षअघि १०० स्थानलाई पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । यी गन्तव्यहरूको प्रवद्र्धनमा भने सरकार चुक्न नहुने पर्यटन व्यवसायीहरूको भनाइ छ।

नेपाल घुम्न आउने अधिकांश पर्यटकले पोखरा, चितवन र लुम्बिनी रोज्ने गरेका छन् । पदयात्राका लागि कञ्चनजंघा, मनास्लु, डोल्पा जाने पर्यटकको संख्या पनि न्यून छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा मार्च र अप्रिललाई पर्यटकीय सिजन मानिन्छ । 

कुनै बेला नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान २२ प्रतिशतसम्म थियो । तर, अहिले करिब २ प्रतिशतमा झरेको छ । 

पोखरामा ‘रोपाइँ महोत्सव’

पोखरा आफैमा पर्यटकीय गन्तव्य हो । यद्यपि पोखरालाई प्रवद्र्धन गर्नका लागि धान रोपाइँ समेत गर्ने गरेका छन् । पोखरा पर्यटन परिषदले करिब दुई दशकदेखि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘रोपाइँ महोत्सव’ गर्दै आएको हो ।

हिमालय मार्ट 

नेपालको प्रवद्र्धनका लागि हुने विभिन्न कार्यक्रममध्ये हिमालय मार्ट पनि एक हो । नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्ने उद्देश्यका साथ हिमालयन ट्राभल मार्ट हुने गरेका छन् । यस कार्यक्रममा हिमालय क्षेत्रका विज्ञहरूले प्रस्तुती दिने गरेका छन् । 

हात्तीपोलो महोत्सव

विश्वभरिका पर्यटकको ध्यानकर्षण हुने गरी चितवनमा हात्तीपोलो खेल हुने गरेको छ ।  हात्तीमाथि मान्छे बसेर लट्ठीको सहायतामा पोलो बललाई गोलपोस्टमा छिराएर खेलिने यो रोमाञ्चक खेल हो । सन् १९८१ देखि पश्चिम चितवनका मेघौलीमा हुँदै आएकोे योे खेल पुनः सात वर्षपछि खेलाउन लागिएको हो ।

मनाङमा आइस क्लाइम्बिङ 

मनाङको प्रसिद्ध खेल हो ‘आइस क्लाइम्बिङ’ । यस खेलका लागि नेपाली मात्रै नभएर विदेशीहरू समेत आइस क्लाइम्बिङका लागि आउने गरेका छन् । उनीहरू विशेषगरी आइसमा खेलमा रमाउन चाहने भएका कारण विगत एक दशकदेखि मनाङमा आइस क्लाइम्बिङ हुने गरेकाे छ । 

अबको बाटो 

कोरोनाका कारण अहिले नेपाल रेड जोडमा छ । रेड जोनबाट हट्नका लागि पहिला आम नेपाली नागरिकले कोरोनाको भ्याक्सिन लगाउन पाउनुपर्ने पर्यटन व्यवसायीहरूको माग छ । यसपछि मात्रै पर्यटनको गतिविधि सुरु हुने ट्रेकिङ एजेसिन्स् एसोसिएसन अफ नेपाल(टान) का अध्यक्ष खुम बहादुर सुवेदीले बताए । अन्तर्राष्ट्रिय हवाइ नेपाल आउने सक्ने वातावरण तयार भएपछि मात्रै पर्यटन बजार फेरि लयमा फर्किन सकिने उनको भनाइ छ ।  हरेक पर्यटकीय पदमार्ग र पर्यटकीय क्षेत्रका होटल र आवास क्षेत्र सुरक्षित भएमात्रै नेपालको पर्यटन बजार विगतकै बाटोमा फर्कने अध्यक्ष सुवेदीको भनाइ छ । 
 

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १२:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया