कार्यदलका ती १० प्रस्ताव, एमाले नमिल्ने यी १० कारण
फरकधार / ३ साउन, २०७८

विभाजनको डिलमा पुगेको नेकपा एमाले मिलाउन २ जेठमा गठित कार्यदल विघटन भएको छ । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले १० सदस्यीय कार्यदललाई धन्यवाद दिँदै त्यसले अघि सारेको प्रस्तावलाई अनुमोदन भने गरेको छ । रोचक कुरा त के छ भने, शुक्रबारकै बैठकमा असन्तुष्ट नेपाल समूहका नेताहरु सहभागी त भए तर केहीबेरमै निस्किए । पार्टी एकताका लागि उपाध्यक्ष समेत रहेका भीम रावलले केही बुँदा अघि सार्दै बैठक स्थगित गर्न भनेका थिए । तर ओलीले बैठकको कार्यसूची अघि बढाउने बताएपछि नेपाल समूहका नेताहरु रुष्ट हुँदै बैठकबाट बाहिरिएका थिए । 



गत २७ गते राति अबेर सार्वजनिक भएको सहमतिको प्रस्ताव अनुरुप बैठक आह्वान हुनुपर्ने नेपाल पक्षका नेताहरुको भनाइ थियो । तर शुक्रबार त्यसो हुन सकेन । कार्यदलले तयार पारेको १० बुँदामा ओली सहमत हुन नसकेका हुन् । यसले एमाले एक गराउन भएको प्रयास असफल हुन पुगेको देखिएको छ । पछिल्लो एक साता कार्यदलले गरेको कसरत अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णयसँगै प्रभावमा परेको हो ।

एमाले नमिल्ने १० कारण 

१) ओलीको आक्रामक शैली
पहिलोपटक संसद् विघटन गर्दा प्रचण्डसहितका नेताहरुसँग लागेर ओलीको मानसपटल नै खलबलाइदिएका माधव नेपाल समूहलाई २३ फागुन ०७७ पछि ओलीले झन्झन् संकटमा पार्दै गए । नेपाल समूहको संकट चुलिँदै गर्दा ओली अझै आक्रामक हुँदै गए । 



केही दिनअघि एकताका लागि प्रयास हुनुपर्ने बताउँदै आएको ओली समूह शुक्रबारको स्थायी कमिटी बैठकपछि भने नेपाल समूहको कुरै नसुन्ने मुडमा पुगेको छ । ओलीलाई सत्ताबाट बाहिर पुर्याउनका लागि नेपाल समूहले सबैभन्दा बढी प्रयास गरेको ओली समूहको बुझाई छ, त्यसकारण पनि एमाले एकता छिन्नभिन्न हुन पुगेको हो । 

शुक्रबारको बैठकमा रावलले बैठक स्थगित हुनुपर्ने भन्दै राखेको मागलाई पनि ओलीले लत्याए । यसले अब एमाले एक हुन सक्ने सम्भावनालाई टार्दै लगेको धेरैको बुझाइ छ । 

२) विपक्षी गठबन्धनसँग माधव नेपालको उठबस
२१ असारमा ब्यूँतिएको कार्यदलको त्यसपछि भएका लगातारका बैठकले एमाले एक हुन सक्ने अपेक्षा गरिएको थियो । कार्यदल बैठक चल्दै गर्दा एकातिर माधव नेपालसहितका ११ जना सदस्यलाई कारबाही गरिएको थियो भने अर्कोतिर नेपाल समूहका २३ जना सांसद देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित अदालत पुगेका थिए । 

यसबीच भएका वार्तालाई नेपाल समूहका धेरैजस्ता हार्डलाइनर नेताहरुले अदालतलाई प्रभावित बनाउन खोजेको टिप्पणी गरेका थिए । कार्यदल बैठक चलेसँगै माधव नेपालसँग विपक्षी गठबन्धनका नेताहरुले गरेको उठबसले अन्ततः एक हुन नसक्ने देखिएको बुझाइ एमाले ओली समूहको छ । पार्टी ‘नेकपा’ हुँदादेखि नै प्रचण्डसँग माधव नेपालले गरेको साँठगाँठ ओलीले मन पराएका थिएनन् । अझ २३ फागुनमा एमाले र माओवादी अलग–अलग भएपछि पनि नेपाल पेरिसडाँडाबाट प्रचण्डसँग ‘राजनीतिक डिभोर्स’ गरेर माउ पार्टीमा फर्किएनन् । बालुवाटार वा धुम्बाराही पुगेर बैठक आह्वान गर्नुपर्ने नेपालले बानेश्वरस्थित होटलमा आफू पक्षीय भेटघाट सुरु गरे । जसको कारण ओली झनै आक्रामक बन्दै गए । 

३) माधव नेपालको ‘चट्टानी’ अडान
ओलीसँग असमझदारी बढ्दै गएपछि नेपाल समूहका शर्तहरु विस्तारै बाहिरिन थाले । २ जेठ अगाडिको पूर्ववत् अवस्थामा पार्टीलाई फर्काउनुपर्ने र पार्टीका हरेक निर्णयमा आफ्नो हस्ताक्षर हुनपर्ने नेपालको चट्टानी अडानले एमाले एक हुन नसकेको धेरैको बुझाइ छ । 

मध्यमार्गी बाटोबाट एकताको बटमलाइन समाएका दोस्रो पक्षका नेताहरुलाई पनि यही समस्या समाधान गर्न ‘हम्मेहम्मे’ परेको थियो । २३ असारमा होटल मेरियटमा भएको ओली र नेपालको अर्थपूर्ण भेटघाटमा पनि यही विषयले प्रवेश पाएको थियो । 

मेरियटमा नेपालले ओलीलाई पार्टीमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै हरेक निर्णयको साक्षी आफू हुनुपर्ने मागसहित हस्ताक्षर आफ्नो पनि चल्नुपर्ने अडान राखेका थिए । यो मागले ओली झनै बिच्किएका थिए । नेपाल पक्षकै दोस्रो तहका नेताहरुले पनि नेपाललाई त्यो चट्टानी अडानमा केही लचिलो बन्न सुझाएका थिए । २७ गते दिनभर सिंहदरबारमा चलेको वार्तामा पनि नेपाललाई फकाउन कार्यदल सदस्य घनश्याम भुसाल पछाडिको ढोकाबाट निस्किएर सोही विषयमा ‘कन्भिन्स’ गराउन कोटेश्वर कुदेका थिए । केहीबेरपछि बैठकस्थलमा आइपुगेका भुसालले नेपाललाई कन्भिन्स गराउन नसकेपछि अबेर राति १० बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गरिएको थियो ।

४) पूर्वमाओवादी नेताको अप्रत्यासित ‘इन्ट्री’
एमाले र माओवादी विभाजित भएसँगै माओवादीका केही शीर्ष नेताहरु नै एमाले प्रवेश गरे । २८ फागुनमा बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले उनीहरुलाई स्थायी कमिटीमा समाहित ग¥यो । जसले एमाले विवाद उत्कर्षमा पुर्याउन ठूलो भूमिका खेल्यो । 

९ औं महाधिवेशनबाट निर्वाचित कमिटी भंग गराएको भन्दै असन्तुष्ट नेपाल समूहका नेताहरुलाई पूर्वमाओवादीबाट आएका नेताहरुले पाएको स्थानका कारण निकै असजिलो महसुस गराइरहेको थियो । यसको स्वरुप यतिसम्म झाँगिदै गयो कि, केन्द्र हुँदै प्रदेशसम्मका सरकारहरुमा यसको प्रत्यक्ष÷अप्रत्यक्ष रुप देखिन थाल्यो । माओवादीबाट आएका नेताहरुलाई २ जेठ अघिको बैठक बोलाएर मात्रै स्थान दिनुपर्ने नेपाल पक्षको स्पष्ट धारणा थियो । 

५) पुनःस्थापनापछि गठबन्धनको बैठकमा नेपालको सहभागिता 
२८ असारमा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनको बैठक बस्यो । त्यसअघिका धेरैजसो बैठक बुढानिलकण्ठस्थित देउवा निवासमा बस्ने गरेको थियो । तर त्यो दिनको बैठक कोटेश्वरस्थित माधव नेपाल निवासनजिकै रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा बस्यो । 

नेता नेपालको चट्टानी अडानकै कारण प्रधानमन्त्री बनेका देउवा पनि कोटेश्वर पुगेका थिए । नेपाललाई केन्द्रमा राख्नेगरी आयोजना भएको सो बैठकमा नेपालले भने आइन्दा गठबन्धनमा नबस्ने अनपेक्षित घोषणा गरेका थिए । लगत्तै धेरैले एमाले एक हुने आकलन पनि गर्न थालेका थिए । उक्त घोषणा एमाले एकताका लागि कोशेढुंगा बन्न सक्छ भन्ने आम एमाले नेता-कार्यकर्ताको बुझाइ थियो ।

अघिल्लो दिनमात्र कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव र ओलीले त्यसमा दिने प्रतिक्रिया नेता नेपालका लागि ‘पर्ख र हेर’ को विषय थियो । तर सो बैठकमा नेपालको सहभागिताको विषयलाई नै ओलीले प्रमुख समस्याको रुपमा अथ्र्याएका थिए । 

६) ओलीले बोलाएको बैठकमै नजानु
विवाद झाँगिदै जाँदा ओलीले बोलाएको सबै बैठकमा नेता नेपालसहितको उनको टिमले खासै चासो देखाएन । शुक्रबार नै बसेको दुईवटा बैठकमा नेपाल समूह अनुपस्थित भएको छ । विघटित एकता कार्यदलको बैठक शनिबार पनि अनौपचारिक बस्यो, तर तात्विक भिन्नता केही पनि आएन ।

शुक्रबार बिहान ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा पनि नेपाल समूहको सहभागिता रहेन । बरु नेपाल समूहका केही नेताहरु उत्साहित हुँदै कार्यदलको सहमति सम्झाउन केहीबेर त्यहाँ पुगे । तर त्यहाँ ओलीले बैठक भएरै छाड्ने बताएपछि उनीहरु रुष्ट भएर फर्किएका थिए । 

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा पनि नेपाल समूह उपस्थित भएन । यसले अब एमाले एक हुन नसक्ने अर्थपूर्ण सन्देश दिएको टिप्पणी हुन थालेका छन् । 

७) बालकोटबाट ओलीले दिएको ‘गद्दार’को संज्ञा
यसअघि नेपाल समूहका हार्डलाइनर मानिएका नेता भीम रावल पछिल्ला केहीदिन पार्टी मिलाउन मरिहत्ते गरिरहेका छन् । त्यसैको प्रयासस्वरुप शुक्रबार पनि उनकै नेतृत्वमा स्थायी कमिटी बैठकमा नेताहरु पुगेका हुन् । तर त्यहाँ उनीहरुले अपेक्षित परिणाम नपाएपछि रुष्ट भएर फर्किएका थिए । 

बैठकमा केहीबेर बसेर निस्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले बालकोट पुगेर ओलीले गरेको त्यो भाषणलाई सम्झिएका थिए । उनले भनेका थिए, ‘हामीले जुन कार्यदलमा गरिएको सहमति प्रक्रिया अघि बढ्ला भन्ने सोचेका थियौं त्यो हाम्रा पार्टी अध्यक्षले आफ्नो निवासमा सर्ने बेलामा दिएका अभिव्यक्तिहरुले झनै अप्ठेरो पारेको छ । त्यसकारण आज (शुक्रबार)को बैठक पनि स्थगित गर्नुस् भनेर हामीले भनेका थियौं ।’

ओलीले बालकोटबाट माधव नेपाल ‘गद्दार’ भएको भन्दै अब पार्टीमा कुनै ठाउँ नभएको बताएका थिए । ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्‍नँ । कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा गल्ती, कमजोरी महसुस गरे पनि पार्टीमा स्वीकार्ने ठाउँ छैन,’ उनले भनेका थिए । पार्टी अध्यक्षको त्यो आक्रामक र अपमानजनक अभिव्यक्तिपछि एमाले मिल्ने वातावरण झनै धमिलिँदै गएको छ ।

८) ओली बालकोट पुगेपछि माधव नेपालको पुत्ला दहन
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा देउवा नियुक्त भएपछि तामझामसहित ओली बालकोट गए । उनी बालकोट पुगेको केहीबेरमै भक्तपुरबाट माधव नेपालको पुत्ला दहन सहितको र्याली निस्कियो । यसले नेपाललाई झनै चिढ्याएको छ । 

ओली निवास पुगेर फर्किएका युवा संघका कार्यकर्ताले कोटेश्वर–बालकुमारीबीचको आकाशे पुलनजिकै माधव नेपालविरुद्ध नाराबाजी गर्दै नेपालको पुत्ला जलाएका थिए । आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग साँठगाँठ गरेको भन्दै युवा संघका कार्यकर्ताहरुले नेता नेपालको पुत्ला जलाएर विरोध गरेका हुन् ।  पार्टी एकताको प्रयास भइरहेको बेलामा आफ्नै पार्टीका कार्यकर्ताले पुत्ला दहनसम्मको अवस्था सिर्जना गरेपछि नेपाल झनै रिसाएका छन् । यतिसम्म कि, आक्रोशित नेता–कार्यकर्ता माधव नेपालको घर घेर्न जाने सम्मको चर्चा चल्यो ।

९) नयाँ पार्टी खोल्ने नेपालको तयारी
गत चैत ५ र ६ गते ललितपुरस्थित एक होटलमा नेपाल समूहले कार्यकर्ता भेला गरेको थियो । सोही भेलामा नेपालले नयाँ पार्टी निर्माणको आधार भएको देखाइसकेको थिए । 

नेपालले यसको तयारी गरिसकेका छन् । उनीनिकट युवा नेता जीवन राईको अध्यक्षतामा नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता छ । यसको प्रयासस्वरुप एकताका नेपाल समूहले देशभर समानान्तर कमिटीहरु सक्रिय बनायो । नेपाल पक्षका कतिपय नेता–कार्यकर्ता केन्द्रमा केही कमजोर देखिए पनि जिल्ला र स्थानीय तहमा माधव नेपाल पक्ष सशक्त रहेको बताउँछन् । यस्ता टिप्पणी र निर्वाचन आयोगमा पुगेर कानुनी आधिकारिकता दिनका लागि नेपालले गरेको यो कदमबाट पनि ओली रुष्ट छन् । 

नेपालकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पार्टी विभाजनका लागि सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गरिदिए भने नेपालको यो सपना पूरा हुने देखिन्छ । स्रोतका अनुसार त्यसका लागि देउवाले माधव नेपाललाई बचन समेत दिइसकेका छन् । 

पार्टी फुटाउनका लागि ओलीले गरेको प्रयास अन्ततः देउवाको सहयोगमा नेपालले पूरा गर्न सक्छन् । ओलीले प्रयास गरेर ल्याउन नसकेको दल विभाजनसम्बन्धी अध्यादेश पारित गरिदिए मात्रै पुग्छ । यसो गर्दा पार्टी विभाजन भए पनि नेपाल समूहका सांसदहरूको पद जाने छैन ।

१०) शीर्ष नेताहरुको एकलौटी शैली
०७४ सालमा ओली र प्रचण्डले वाम गठबन्धनको घोषणा गर्दैगर्दा एमालेकै अन्य शीर्ष तहका नेताहरुसँग यसबारे खुलेर छलफल गरेका थिएनन् । केही समयअघि फरकधारको ‘फरक संवाद’ मा कुरा गर्दै नेपाल पक्षीय नेता बेदुराम भुसालले पनि यसबारे प्रष्ट पारेका थिए । उनका अनुसार पार्टी एकताका ताका ओलीले एमालेभित्र अब कसरी एकता गर्ने ? वा कुन विन्दुसम्म पुगेर सहमति खोज्ने भन्नेबारे कुनै सहमति भएको थिएन । उता, माओवादी केन्द्रमा पनि एकता हुनेबारे प्रचण्डले छलफल गरेका थिएनन् । 

सरप्राइजका रुपमा एकताको खाका नेताहरुलाई सुनाउँदै गर्दा दुवै पक्ष उत्साहित पनि थियो । तर उत्साह लामो समय टिकेन । २३ फागुन ०७७ मा आइपुग्दा त सर्वोच्च अदालतले नै ‘नेकपा’को वैधानिकतामाथि प्रश्न उठायो । र, एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज भयो । 

त्यस्तै अवस्था यतिबेला एमालेमा पनि छ । एमालेमा आगामी रणनीति बारेको छलफल त परै जाओस्, हुनै लागेको निर्णय सम्बन्धमा पनि छलफल हुँदैन । यसबाट एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु रुष्ट छन् । यसकारण पनि उत्कर्षमा पुगेको एमाले मिल्ने सम्भावना न्यून हुँदै गएको विश्लेषण राजनीतिक वृत्तमा गरिन थालेको छ ।

  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार ११:३९:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया