जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण सम्पन्न, सञ्चालन हुने टुंगो छैन

बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आइतबार सफल परीक्षण गरिएको छ । भारतको जयनगरबाट धनुषाको कुर्था स्टेशनसम्मको ३५ किलोमिटर दूरीमा प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल्वे ट्रयाकको परीक्षण गरिएको हो ।

रेल सञ्चालनको पूर्व तयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । 

उनले भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गरिएको बताए । 

महाप्रबन्धक भट्टराईले ट्रयाकको स्थितिबारे जानकारी लिन आज स्पिड टेस्ट गरिएको र यो एउटा औपचारिक प्रक्रिया मात्र रहेको जानकारी दिए ।

 ‘नयाँ ट्रयाकको संरचना बनेपछि रेल सञ्चालन पूर्व ट्रयाकको स्थिति के छ ? यो सुरक्षित छ कि छैन् ? केही गडबडी छ कि ? भन्ने कुरा टेस्ट गुर्नपर्ने भएकोले सोही अनुरुप आज ट्रयाकको परीक्षण गरिएको हो’ भट्टराईले भने।

भारतीय पक्षले रेल सञ्चालन गर्नका लागि ट्रयाक सुरक्षित रहेको कुरा प्रमाणित गरेपछि नेपाल सरकारले सञ्चालनका बाँकी प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए । भारत सरकारसँग समन्वय गरेर रेल हस्तान्तरण गर्नुपर्ने भएकोले त्यो काम पनि चाँडै गरिने भट्टराईको दावी छ।



उनले भने–हामी पूर्ण रुपले तयारी अवस्थामा छौँ। अब सरकारको स्तरबाट मात्र गर्नुपर्ने काम बाँकी छ’ भट्टराई भन्छन्, ‘मन्त्रालय स्तरमा छलफल गरेर कुन दिनदेखि सञ्चालन गर्ने भन्ने कुराको निष्कर्ष लाग्नेछ।

नेतृत्व नभएसम्म आफूले  मिति तय गर्न नमिल्ने भएकोले रेल सञ्चालनको ठ्याक्कै मिति भन्न नसकिने उनले बताए ।



राजनीतिक नेतृत्व नै संलग्न हुने बिषय रहेकोले यसमा आफूले चाहेर पनि केही गर्न नसक्ने महाप्रबन्धक भट्टराईले भनाइ छ ।

उनले २ सय नेपाली जनशक्तिलाई तालिम दिई तयारी अवस्थामा राखिएको जानकारी दिए ।  भारतीय जनशक्ति समेत तयारी अवस्थामा रहेकोले रेल सञ्चालनका लागि जनशक्तिको कुनै समस्या नरहेको बताए ।

औपचारिक रुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालन हुने उनले जानकारी दिए । भाडादर र टिकटका विषयमा यसअघि नै टुंगो लागिसकेको महाप्रबन्धक भट्टराईको भनाइ छ । 

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा यसअघि पनि रेल सञ्चालनका लागि गतवर्ष असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरधामसम्म ल्याइएको थियो ।

सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सय जनासम्म यात्रुले यात्रा गर्नसक्ने रेल विभागले जनाएको छ । नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगन्ज तथा विसं १९९४ पछि भारतको जय नगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा थियो ।

भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँको लगानीमा पूर्वाधार निर्माण भइसकेको छ । 

नेपालले आफ्नै लगानीमा करिब ५२ करोडको लागतमा १६ सय एचपीको दुई इलेक्ट्रिक इन्जिनसहितको डेमो रेल किनिसकेको छ ।

परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरूमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो ।

तस्वीरहरू हेर्नुहाेस् :

 

  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १४:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया