प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
आइतबार के–के भयो संसदमा ?

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । ​देउवाकाे पक्षमा १ सय ६५ मत पुगेको छ । कांग्रेसको ६१, माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२ र अन्य थप गरी देउवाको पक्षमा बहुमत पुगेकाे हाे ।

देउवालाई राष्ट्रिय जनमोर्चाको १ , स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसदले पनि विश्वासको मत दिएका छन् । ओली ​सरकारमा वनमन्त्री बनेका प्रेम आले र तनहुँमा रामचन्द्र पाैडेललाई पराजित गरेका सांसद किसान श्रेष्ठले पनि देउवालाई मत दिएका छन् । उनीहरु दुवै एमाले सांसद हुन् । ओली पक्षका धनबहादुर बुढा र गोपाल बमले पनि देउवालाई मत दिएका छन् । 

गत २९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी थिइन् । आज(आइतबार) बसेको प्रतिनिधिसभा बैठकको दोस्रो बैठकमा देउवाले विश्वासको मत पाएका हुन् । 

उनलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र १ स्वतन्त्र सांसदले देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई राप्रपा, नेकपा एमालेको ओली पक्ष र माधव नेपाल पक्षकै केही सांसदले भने मतदान गरेनन् । देउवाले आजकै बैठकमा विश्वासको मत लिनेगरी कार्यसूची तय भएपछि आइतबार दिनभर राजनीति तरंगित भयो । देउवालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा विभाजनको डिलमा पुगेको एमालेमा झनै बढी तरंग यसले ल्यायो । आजै बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर, ह्विपलाई ध्यान नदिई माधव नेपालसहितका केही नेताहरुले देउवालाई विश्वासको मत दिएका छन् । 

दोस्रोपटक विघटन भएको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको थियो । साथै, धारा ७६(५) अनुसार राष्ट्रपति कार्यालयमा दाबी पेस गर्न पुगेका देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । यदि देउवाले विश्वासको मत नपाएको भए  संवैधानिक व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन हुने थियो र त्यसको ६ महिना अर्थात् माघभित्र नयाँ निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता हुन्थ्यो ।

विश्वासको मतअघि संसदमा के भयो ? 



विश्वासको मत दिनुअघि संघीय संसद परिसर निकै चहलपहल बढ्यो । एमालेभित्रको आन्तरिक विवादले पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रवेश पायो । सिंहदरबास्थित संसद सचिवालयमा राजीनामाको पत्र बोकेर पुगेका उपाध्यक्ष भीम रावल अन्ततः संसद भवन परिसर पुगेर राजीनामा पढ्न बाध्य भए । एमाले एक गराउन लागिपरेका नेता सुरेन्द्र पाण्डेले उनलाई सञ्चारकर्मीकै अगाडि पुगेर रोक्न खोजेका थिए । तर, रावलले मानेनन् । 

त्यस्तै, कानुनी विभाजनको डिलमा पुगेको जसपाको महन्थ ठाकुर समूहले पनि संसद भवनभित्र पुगेर देउवालाई विश्वासको मत दिने बतायो । 



कसले के भने ?

नेकपा एमालेका प्रवक्ता एवं सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि विभिन्न प्रश्न उठाए । सर्वोच्च अदालतको फैसलाको चर्को आलोचना गर्दै ज्ञवालीले संवैधानिक निकायबीचको शक्ति सन्तुलनमा खलबल्याएको आरोप लगाए । ‘सर्वोच्चको अपव्याख्याबाट देउवा ७६ (५) अनुसार प्रधानमन्त्री बन्दै छन्’, उनले अगाडि भने, ‘जस्केलाबाट निर्दलीय व्यवस्था छिराएर देउवा प्रधानमन्त्री बन्नुभएको छ । २०६१ सालमा उहाँलाई श्री ५ ले प्रधानमन्त्री बनाएका थिए । न्याय पायौँ भन्नुभयो, तर माघ १९ मा आइपुग्दा के भयो हामीलाई थाहा छ । अहिले श्रीमान् ५ ले प्रधानमन्त्री बनाइदिएका छन्। तर, यसले हाम्रो बहुदलीय व्यवस्थालाई कुरुप बनाउँदै छ ।’

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई धन्यवाद दिए । ‘अहिले प्रतिपक्ष दलका साथीहरुलाई पनि संसद फेरि ब्युँतिएकाले आनन्द भएको छ, म बुझ्छु नि,’ प्रचण्डले आइतबार संसदमा भने, ‘नेपालको संविधानको ७६ (५)लाई निकै राम्रोसँग व्याख्या गरिदिएको छ, यसले हामीलाई सर्वोच्चलाई धन्यवाद दिनुपर्छ ।’

उनले इतिहासलाई कसैले पनि बिर्सन नहुने भन्दै माओवादी केन्द्रको योगदान पनि नबिर्सिन अनुरोध गरे । ‘माओवादी केही पनि होइन, यसलाई मिचिदिए हुन्छ भन्ने ठाने केही साथीहरुले,’ प्रचण्डले भने, ‘मैले त पटकपटक भनेको छु, आगोसँग खेल्ने काम त्यति राम्रो हुँदैन । आगोलाई इनर्जीमा परिणत गर्न ल्याइएको छ, यसलाई अपमानित गर्न थाल्नुभयो भने आगो सल्किन थाल्छ ।’

त्यस्तै, जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पद पाउन सक्ने बेलामा पार्टी नै विवादको भूमरीमा फसेको संकेत गर्दै उनले अभागीलाई खाने बेलामा रिस उठ्ने नेपाली उखानको स्मरण गरे । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको उनको भनाइ थियो ।  

जसपा पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको उल्लेख गर्दै उनले भने, ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो, हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैँले निकास दिन सक्थ्यौँ, हामी आपसमा झगडा गर्न थाल्यौँ ।’ 

त्यसपछि बोलेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पूर्ववर्ती सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरे । डा. भट्टराईले विप्लवसँग भएको सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न सुझाव दिए । ‘तीनबुँदे सम्झौता, मधेस आन्दोलन लगायतका सम्झौता कार्यान्वयन गर्नुपर्छ,’ डा. भट्टराईले भने ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले पाँचौँपटक प्रधानमन्त्री पद सम्हालिरहेका शेरबहादुर देउवाको प्रारम्भले राम्रो संकेत नगरेको बताए । 

‘प्रधानमन्त्री देउवाको प्रारम्भ ठीक छैन’, उनले  भने, ‘बालुवाटार क्याटरिङ हाउस होइन । कुनै पार्टीको कार्यालय होइन। त्यो प्रधानमन्त्रीको सरकारी निवास हो । तर त्यसको दुरुपयोगबाट देउवाले कार्यकाल सुरु गरे ।’

त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्रतिनिधि सभामा हुन गइरहेको प्रधानमन्त्रीको विश्वासको मतको कार्यक्रममा सहभागी नहुने भएको छ । नेमकिपाका सांसद प्रेम सुवालले कार्यक्रममा सहभागी नहुने बताएका हुन् । ‘आजको यो प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा भाग नलिने व्यहोरा अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

लगत्तै देउवाले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । देउवाले अहिलेको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोभिडविरुद्धको खोप रहेको बताए । साथै, उनले विश्वासको मत प्राप्त दिन सबै दललाई आग्रह गरे । 

प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ढिलो गरी पुगेका थिए । प्रधानमन्त्री देउवाले बोलिसकेपछि भने निवर्तमान प्रधानमन्त्री ओली बैठकमा पुगेका थिए । 

बैठकमा पुगेर उनले सुरुमा देउवालाई नै भेटेर हात मिलाएका थिए । प्रधानमन्त्री देउवा र ओलीबीच केही कुराकानी भएको देखिएको थियो ।

त्यसअघि नेकपा एमालेको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय दलको उपनेता सुवास नेम्वाङले धारणा राख्ने अनुमान गरेकामा उनलाई अप्ठेरो परेको हुन सक्ने बताए । 

संविधानमा भएको धारा ७६ (५) को व्यवस्थाबारे बोल्न अप्ठेरो लागेर नेम्वाङले धारणा नराखेको देउवाले टिप्पणी गरेका थिए ।

  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार २२:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया