‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’

(सम्पादकीय नाेट:१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाव पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । ९औँ महाधिवेशनदेखि नै पार्टीमा सक्रिय भएका भक्तपुर जिल्लाका सभापति दुर्लभ थापालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेस पार्टीलाई जसले संस्थागत रुपमा संरक्षण गरेर अगाडि लैजान्छ, त्यस्तै खालको नेतृत्व चाहिएको हो । नेतृत्वमा कसैले यस्तो चाहिन्छ र त्यस्तो चाहिन्छ भन्ने कुरा होइन । पार्टीलाई वैधानिक रुपमा संगठित गरेर लान सक्ने नेतृत्व आवश्यक छ ।  

पार्टीको १४औँ महाधिवेशनसम्म आइपुग्दा आन्तरिक प्रतिस्पर्धामा हार स्विकार्ने परम्परा नेपाली कांग्रेसमा नरहेको देखिन्छ । पार्टीमा प्रतिस्पर्धा गरिसकेपछि हार्ने मान्छेले हार स्विकार्नुपर्यो । र, जित्ने मान्छेले हारेको मान्छेलाई समेटेर लिएर जाने परिपाटी हुनुपर्छ । जित्ने मान्छेले हारेको मान्छेलाई समेटेर लिएर जाने र हारेको मान्छेले आफ्ना गल्ती–कमजोरी के–के रह्यो भनेर अर्को अधिवेशनमा नेतृत्वमा आउँछु भन्ने सोच नभएको कारण समस्या आएको हो । पार्टीभित्र देखिएका यी समस्याको समाधान गरेर नेतृत्व छान्ने कुरामा सजग हुँदै सबैले सोच्नुपर्ने बेला आएको छ । 

चुनौती



विशेषगरी संविधान बनिसकेपछि कांग्रेसको नेतृत्वसँग एकखालको चुनौती थियो । कांग्रेसले निर्वाचन नगरीकनै केपी शर्मा ओलीको शैलीमा २–४ वर्ष सत्ता लम्ब्याएर कुर्सीमा अडिने काम गरेन । कांग्रेस जहिले पनि लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी हो । कांग्रेसले आफू हार्न सक्ला, तर लोकतान्त्रिक प्रतिबद्धता कहिल्यै छाड्दैन । हामीले स्थानीय तहको चुनाव हारिसकेपछि प्रदेश र संघको चुनाव गराइरहनुपर्ने स्थिति नै थिएन । ओली शैलीमा हामी पनि सत्ता लम्ब्याउन सक्थ्यौँ । तर, कांग्रेसको आचरणले त्यो दिँदैनथ्यो र गरेन । कुनै पनि हालतमा सत्ता नछाड्ने ओली प्रवृत्ति र स्वयं राष्ट्रपतिको सक्रियता हानिकारक छ । तर, कांग्रेसको इतिहास त्यस्तो छैन । 

०७४ सालको निर्वाचनपछि जुन खालको प्रचण्ड बहुमत कम्युनिस्टहरुलाई दिइयो, त्यही बेलादेखि यो मुलुकमा कम्युनिस्टहरु सदाको लागि बिदा हुन्छन् र तिनको अन्तिम शासक प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् भनेर मैले त्यहिबेला बोलेको थिएँ । कम्युनिस्टको नाम जोडेर अब मुलुकमा कुनै पनि राज्यसत्ता आउन सक्दैन । यो सरकारमार्फत कम्युनिस्ट विघटन गर्ने एउटा बाटो बन्यो । संसारबाटै कम्युनिस्टहरु उन्मूलन भइरहेको बेलामा नेपालमा मात्र के कारणले कम्युनिस्ट आए ? प्रचण्ड बहुमत दिएर हेरौँ भन्ने सोचले अहिलेको अवस्था आएको हो । 



यति मात्र होइन, हामी कांग्रेस पनि संस्थागत रुपमा अगाडि बढ्न नसकेकै हो । यो मुलुकमा यो परिस्थिति आउनमा कहीँकोही जिम्मेवार छ भने नेपाली कांग्रेस पनि छ । कांग्रेसभित्र हामीले धेरैपटक अन्तर्संघर्ष गरेका छौँ । तर, पार्टीमा वैचारिक लडाइँ कहिल्यै पनि भएन । सत्ताको लागि मात्र लडाइँ चल्यो । चाहे त्यो माओवादीसँग गरेको सम्झौता होस्, चाहे दिल्लीमा गरेको १२ बुँदे सम्झौता होस्, हामी पनि कसरी सत्तामा जाने भन्नेमा नै लागिरह्यौँ । हाम्रो नेतृत्वको यो ठूलो कमजोरी हो । अहिले लोकतन्त्रको धज्जी जसरी उडाइएको छ, त्यसमा १४औँ महाधिवेशनमार्फत नेतृत्वले दिने विचारले भूमिका खेल्छ । नेतृत्व विचारले गर्ने हो, उमेरले गर्ने हुँदै होइन । त्यसकारण १४औँ महाधिवेशनमा जो जित्नुहुन्छ, उहाँहरुसँग हाम्रो त्यही माग हुन्छ । कांग्रेस सच्चिएर अगाडि बढ्नुपर्छ । 

युवा नेतृत्वको बहस र युवाभित्रै देखिएको समस्या 

म एक युवा हुँ । यहाँ समस्या के हो भने, एउटा युवाले अर्को युवालाई सहयोग गर्दैन । ‘सर्पको खुट्टा सर्पले देख्छ’ भनेजस्तै एउटा युवाको खुट्टा अर्को युवाले देखेको छ । हामी पनि हिजो विद्यार्थी राजनीतिमै थियौँ । कुन खेमामा पुगेर कहिले स्थापित हुन सकिन्छ भन्ने युवामा सोच रहेको देखिन्छ । त्यो धारणा नबदलेसम्म युवा नेतृत्व आउन सक्दैन । एउटा युवा नेतृत्वमा पुग्नका लागि सबै युवाले सहयोग गर्नुपर्छ । फुटबलर विमल घर्तीलाई गोल गर्ने बेलामा अरुले पास दिएका कारण नै नै उनी सफल भएको हो । क्रिकेटर सन्दीप लामिछानेको पनि त्यही कथा हो । अवसर आइसकेपछि हामी एक युवाले अर्को युवालाई सहयोग गर्नुपर्छ । एक युवाले अर्को युवाको खुट्टा तान्ने प्रवृत्ति अन्त्य नभई कांग्रेसमा युवा नतृत्व आउँछ जस्तो मलाई लाग्दैन । 

पार्टीको तल्लोस्तरसम्म पनि गुटको प्रभाव देखिनले सबैभन्दा बढी समस्या ल्याएको छ । अहिलेको परिस्थितिमा युवाहरुमै समस्या छ । प्रदीप पौडेलको एउटा, गगन थापाको अर्को, धनराज गुरुङको बेग्लै धारणा बोकेर अघि बढिरहँदा समस्या उत्पन्न भएको छ । सबै आ–आफ्ना धारणा बोकेर अघि बढ्नुहुन्छ, आ–आफ्नो रचना रचिरहनुभएको छ । त्यसकारण एउटा युवाले अर्को युवालाई सहयोग गर्दैनौँ । त्यो अवस्था रहेसम्म युवा नेतृत्व आउने कल्पना गर्न सकिँदैन ।  

महाधिवेशन कसरी गर्ने ?

महाधिवेशनबारे मेरो स्पष्ट धारणा छ । महाधिवेशन भनेको संस्थापन पक्षले गर्ने हो, पार्टी सभापतिले गर्ने वा शेरबहादुरको मात्र जिम्मेवारी हो भनेर हामीले बुझेको जस्तो लाग्छ । म पनि जिल्ला सभापति छु । अधिकांश हामी जिल्ला सभापतिहरुले अहिलेसम्म क्रियाशील सदस्यहरुको लिस्ट बुझाएका छैनौँ । महाधिवेशन नजिकिँदै गर्दा यो हुँदैन भनेर चर्को स्वरले हल्ला गर्नेहरुको जमात हामीकहाँ बढेको छ । एक ठाउँमा बस्यो, यो अधिवेशन हुन सक्दैन भनेर जिल्ला सभापतिहरुले नै आशंका गरिसकेपछि अधिवेशनको बारेमा अरु सर्वसाधरण कार्यकर्ताले के सोच्छन् ? हामीले एक वर्षअघि क्रियाशील सदस्यताको फाराम वितरण गरेका थियौँ । तर, आजको दिनसम्म पनि त्यो बुझाउन सकेका छैनौँ । हामीमा कमीकमजोरी छन् । हामी करेक्सन हुनपर्छ भन्ने मलाई लाग्छ । तर, अधिवेशन गर्नुपर्ने डेडलाइनमा हामी छौँ ।

यसको अलावा महामारी पनि हामीबीच छ । यो महामारी न शेरबहादुरले ल्याइदिएर आएको हो न रामचन्द्रले नै ! अहिलेको परिस्थितिलाई हामीले बुझ्नुपर्ने हुन्छ । पार्टीमा परिपक्व नेताहरु हुनुहुन्छ, यो अवस्थालाई दृष्टिगत गर्दै सबै मिलेर यो महाधिवेशन गर्ने वातावरण तय हुन्छ भन्ने मलाई लाग्छ । म आफू जिल्ला सभापति भएकाले वडादेखि जिल्लासम्मको अधिवेशन गर्नुपर्ने जिम्मेवारी काँधमा छ । 

जिल्ला सभापतिको अन्डरमा ५ वटा अधिवेशन गर्नपर्ने अवस्था छ । हामी ५ वटा अधिवेशन गर्ने जिल्ला सभापतिहरु नै गैरजिम्मेवार भयौँ भने कसरी यो महाधिवेशन गर्न सक्छौँ ? त्यसकारण एउटा मात्रै मन्त्र लिएर अगाडि बढ्नुपर्ने छ– कुनै पनि हालतमा भदौमा महाधिवेशन गरिसक्नुपर्नेछ । प्राकृतिक विपत्तिहरु बढिरहेका छन् । त्यति हुँदाहुँदै पनि प्रविधिहरुको प्रयोग गरेर गर्न सकिने विकल्प छन् । जिल्लामै बसेर पनि अधिवेशन गर्न सकिन्छ । नेपाली कांग्रेसका युवा नेताहरु जुम मिटिङ गर्नचाहिँ तयार छन्, तर विकल्पबारे खोजी भने गरिरहेका छैनन् । मलाई एकजना भाइले भन्दै हुनुहन्थ्यो– ५० लाख खर्चेर घरबाटै भोट हाल्न सकिने व्यवस्था मिलाउन सक्छौँ । त्यसकारण हामीले प्रविधिको भरपूर प्रयोग गरेर अधिवेशन गर्नसक्ने अवस्था छ । 

देउवाको विकल्प आवश्यक हो ?

महाधिवेशन नहोस्, शेरबहादुर देउवाले गर्न सकेनन् र उनी फेल भए भने मचाहिँ स्थापित हुन्छु भन्ने सोच सबै नेताले त्याग्नुपर्यो । एउटा नेतृत्वलाई असफल बनाएर अरु सफल हुन सक्दैन । पार्टीलाई सफल बनाएर अघि बढाउन सक्यौँ भने मात्र हामी सफल हुन सक्छौँ । योपटकको महाधिवेशनमा सबै तहका नेता–कार्यकर्ता क्रियाशील रहनुपर्छ । यो महाधिवेशन कम्युनिस्टलाई सधैँका लागि अन्त्य गरेर पार्टी एकठाउँमा बस्नुपर्छ भन्नका लागि पनि सन्देश दिन सक्ने हुनुपर्छ । नेतृत्व अधिवेशनले छान्छ, युवा आउने हो कि ? परम्परागत नेतृत्व आउने हो कि ? वा अरु कुनै खाले नेतृत्व आउने हो भन्ने अधिवेशनले छान्छ नि ! त्यसकारण हामीले वडाबाट राम्रो नेता छान्न सक्यौँ भने मात्र चाहेको जस्तो नेतृत्व आउन सक्छ । गुटको अन्त्य गरौँ, यति गर्न सक्यौँ भने हामीले महाधिवेशन सफलताका साथ सम्पन्न गर्न सक्नेछौँ ।

नेतृत्व दोहोरिने कि नदोहोरिने भन्ने कुरा अधिवेशनले तय गर्नेछ । अधिवेशनले तय गर्ने कुरालाई कोही नेताले म नेतृत्व लिन्छु वा दिन्छु भनेर हुने होइन । कांग्रेसभित्र एउटा परिपाटी छ– ओछ्यानमा नबितेसम्म चुनाव लड्ने । किसुनजी एकजनाले मात्र छाड्नुभयो, उहाँले गिरिजाबाबुलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । उहाँजस्तै पार्टी नेतृत्व भइरहेको भए कांग्रेस अहिले यो अवस्थामा हुने नै थिएन ।

किसुनजीले पार्टी नै छाड्नुपर्यो, गणेशमानजीले पनि त्यसै गर्नुभयो । त्यसपछिको नेतृत्व ओछ्यानमा नबितेसम्म चुनाव लड्ने परम्परा छ । शेरबहादुरले पार्टी डुबाए, उनले नेतृत्व छाड्नुपर्छ भन्ने हो भने हिजोका दिनमा ०६४ सालको संविधानसभाको निर्वाचनमा कुन हालतमा थियो, थाहा छँदै छ । ०७४ सालको स्थानीय निर्वाचनमा पनि कुन हालतमा थियो थाहा छँदै छ । त्यसकारण राजाको छोरा राजा नै हुनुपर्ने, नेताको छोरा नेता नै हुनुपर्ने अनि दूरदराजबाट आएको गरिबको छोरोचाहिँ पार्टी नेतृत्वमा स्थापित हुन नहुने ? देउवा दोहोरिने वा नदोहोरिने, उहाँले पार्टी र संगठनलाई कुन ढंगले अघि बढाउनुभएको छ त्यो महाधिवेशनमा देखिने छ । त्यसकारण देउवालाई दोहोर्याउने वा दोर्याउने भन्नेमा अहिले नै साथीहरु सशंकित हुनुपर्ने अवस्था छैन । 

हाम्रो विधानले नै दुईपटकसम्म निरन्तर पार्टी सभापतिका लागि लड्न सकिन्छ भनेर उल्लेख गरेको छ । त्यो शेरबहादुर देउवाका लागि पनि लागु हुन्छ । त्यो युवा नेता गगन थापालाई पनि लागु हुन्छ । विधानले दिएको कुरा देउवाले उपयोग गर्दै गर्दा पार्टी भड्खालोमा लाने भए भनेर भन्नु देउवाप्रति अन्याय हुन्छ जस्तो लाग्छ । विधानले तय गरेको कुरा उहाँ दोस्रोपटक सभापति लड्न पाउनुहुन्छ । विधानले दिएको सुविधा सबै नेतृत्वले उपयोग गर्न पाउनुपर्छ । 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १८:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया