[टिप्पणी] ‘कृतज्ञ’ बनेकै हुन् त देउवा ?
फरकधार / ६ साउन, २०७८

साउन ३ गते संसद्मा विश्वासको मत प्राप्त गर्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा अन्य राजनीतिक दलप्रति निकै कृतज्ञ देखिए । उनले आफ्नो पार्टी नेपाली कांग्रेसको संस्कार र संस्कृतिबारे पनि स्मरण गरे– गराए । आफूलाई विश्वासको मत दिने पार्टी र त्यसका नेता (सांसद)लाई भावुक रुपमा धन्यवाद पनि दिए । मिलेर देशलाई अघि बढाउने बाचा गरे । कोरोनाविरुद्धको खोप आफ्नो मुख्य प्राथमिकता रहेको तेहर्याए ।

वास्तवमा देउवाले व्यक्त गरेका विचार नयाँ होइनन् । देशको शीर्ष कार्यकारी पदमा पुग्ने जो-कोहीबाट यस्तै अभिव्यक्ति अपेक्षित रहन्छ । कतिपयले त्यो अपेक्षा पूरा गर्छन्- बोली अनुरुपको व्यवहार पनि गरेर । तर, नेपालको परिप्रेक्ष्यमा नेताका बोलाइ र गराइबीच कुनै तादत्म्य रहेको देखिन्न ।

यसपटक भने देउवाले विगतबाट पाठ सिकेको हुन् कि भन्ने छनक देखिएको छ । तथापि, प्रधानमन्त्री भएलगत्तै उनले आफ्नो दल नेपाली कांग्रेसको बैठक बालुवाटारमा गर्ने जुन काम गरे, त्यो आलोच्य छ । विपक्षीमात्र होइन, स्वयम् कांग्रेसका नेता–कार्यकर्ताले यसको गम्भीर ढंगमा आलोचना गर्नु आवश्यक छ । 

भनिरहनु पर्दैन कि, देउवालाई यस पटक प्रधानमन्त्री बनाउने मुख्य श्रेय नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जान्छ । त्यो गुन तिर्न देउवा प्रधानमन्त्रीमा विश्वासको मत पाएको भोलिपल्टै नेपाल निवास कोटेश्वर पुगे । र, कृतज्ञताको एउटा उदाहरण प्रस्तुत गरे । त्यसपछि उनी अर्का महत्वपूर्ण व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे । त्यतिमात्र होइन, लामो समयदेखि थलिएकी प्रचण्ड पत्नी सीतालाई भेटेर स्वास्थ्य अवस्था पनि बुझे । त्यो क्षण निकै भावुक बन्न पुग्यो । यसबाट पनि देउवाले आफूलाई सुधार गर्न खोजेको प्रष्ट हुन्छ । उनको यो कृतज्ञता जाहेर गर्ने शैली अनुकरणीय छ ।

देउवा यतिखेरसम्म पनि भेटघाटमा व्यस्त छन् । कसैलाई उनले सम्बन्धित नेताको घरमै त कसैलाई बालुवाटारमा भेट गर्दै आएका छन् । उनको भेटघाट मन्त्री बनाउने कार्यमा मात्रै सीमित नहोस्, सबै राजनीतिक दलसँग छलफलका रुपमा अघि बढोस् भन्ने कामना थुप्रैले गरिरहेका छन् । 

अझै केही दिन उनको यसरी नै बित्ने छ । उनलाई प्रधानमन्त्रीमा विश्वासको मत दिनेमध्ये कतिपयका स्वार्थको व्यवस्थापन पनि उनले गर्नुपर्ने छ । अन्यथा, चाँडै नै ती राजनीतिक दल र नेताले उनलाई दिएको विश्वासको मत फिर्ता लिन सक्ने छन् । त्यो अवस्थाले मुलुकको राजनीतिलाई थप अस्थिर बनाउने छ । त्यसो हुन नदिन पनि उनले सबै राजनीतिक दलका नेतालाई निरन्तर भेट गर्नु जरुरी छ । तिनका उचित र रचनात्मक सल्लाह लागू गर्नु आवश्यक छ ।
 
स्वाभाविक रुपमा बाक्लिएको भेटघाटका कारण उनले मुलुकको वर्तमान जटिल अवस्थामा ध्यान दिन पाएका छैनन् । त्यसका निम्ति उनले मुख्य रुपमा राजनीतिक नियुक्ति दिने कार्यमा बढी गम्भीर बन्नु आवश्यक छ । अन्यथा उनको राजनीतिक दुर्घटना विगतमा जस्तै यस पटक पनि अवश्यम्भावी छ ।  

देउवाको विगतलाई ‘कृतज्ञता’को कसीमा हेर्दा निकै धमिलो देखिन्छ । आफूलाई राजनीतिक मद्दत गर्ने नेता–कार्यकर्ताप्रति उनी खासै उदार देखिएका थिएनन् । आफ्ना वरिपरि रहने र चाकरी गर्नेका निम्ति भने उनी ‘मसिहा’जस्तै लाग्थे ।

२०५८ सालको यस्तै साउन महिनाको अन्त्यतिर उनले अभिव्यक्त गरेका केही वाक्य यहाँनिर स्मरणीय छ, जुन त्यसबखत निकै चर्चित पनि थियो । उनीसँग संगत वा सहकार्य गरेको अधिकांशलाई यी कुरा थाहा हुन पनि सक्छ । देउवाका सल्लाहकार रहिसकेका एकजनाले त्यसबखत उनलाई भनेका थिए, ‘शेरबहादुर दाइ तपाईं आफ्ना सल्लाहकार राख्दा वा महत्वपूर्ण पदमा नियुक्ति दिँदा अलि विचार पुर्याउनुस् है, तपाईंलाई तपाईंका सल्लाहकार र तपाईंले विश्वास गरेर नियुक्ति दिएका मानिसले डुबाउँछन् ।’ 

देउवाको जवाफ यस्तो थियो, ‘मेरो वरिपरि र मसँग नजिक जो छ, त्यसैलाई दिने हो मैले नियुक्ति । तँ मलाई भेट्न त आउँदैनस् कसरी मैले तँलाई सम्झेर नियुक्ति दिनु ?’
ती व्यक्ति देउवाका निकै नजिकका मानिस रहेको कुरा ‘तँ’ सम्बोधनबाटै बुझ्न सकिन्छ । उनले त्यो सम्बोधन हेपेर होइन– माया गरेर गरेका थिए । पूर्वसल्लाहकारसँग देउवाको अपेक्षा थियो, कुनै पद लिएर सहयोग गरोस् । तर ती सल्लाहकारको दाउ अलि ठूलै पद हात पार्ने रहेकाले अपेक्षा सफल हुन सकेन । 

समयक्रमले देउवालाई पुनः मुलुकको कार्यकारी बन्ने सौभाग्य मिलेको छ । उनले अब पनि सल्लाहकार र अन्य महत्वपूर्ण पदमा नियुक्ति गर्नुपर्ने छ । केपी शर्मा ओलीको राज्य सञ्चालनको शैली अनुचित भएका कारण उनलाई सत्ताबाट बाहिर पुर्याउन विपक्षीहरुको राजनीतिक गठबन्धन भएको हो । त्यो गठबन्धनमा ओली अध्यक्ष रहेकै पार्टी एमालेले समेत सहभागिता जनाउनाले नै ओली हटाऊ अभियान सफल भएको हो । गठबन्धनमा संलग्न १४९ सांसदको अपिलमा टेकेर सर्वोच्च अदालतले ओलीलाई हटाउँदै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको हो ।

यसकारण पनि देउवाले नियुक्तिका सवालमा सचेत हुनु जरुरी छ । हिजोको दिनमा देउवाले जसरी पद बाँडफाँट गरे त्यो सुविधा अहिले छैन । त्यतिमात्र होइन, कतिपय सवालमा निवर्तमान प्रधानमन्त्री ओलीलाई उनका सल्लाहकारहरुले बदनाम गराइदिए । सल्लाहकारका विभिन्न अभिव्यक्तिले एमाले पार्टीभित्र वैमनश्य पैदा गरिदिएका दृष्टान्त छन् । यसबाट पनि देउवाले पाठ सिक्नु जरुरी छ । 

आफ्नै पूर्वसल्लाहकारलाई आजभन्दा ठीक १९ वर्षअघि नियुक्तिका सम्बन्धमा देउवाले जे–जस्तो उत्तर दिएका थिए, अहिले समय निकै परिवर्तन भइसकेको छ । देशले अंगिकार गरेको त्यसबेलाको कानुन र अहिलेको संविधानमा आकाश–जमिनको फरक छ । संवैधानिक राजतन्त्र (वास्तवमा कार्यकारी राजतन्त्र) थियो त्यो बेला, अहिले राजा हटेर देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । त्यसबेला कतिपय कमजोरीको दोष राजाको टाउकोमा हालिदिन पाइन्थ्यो । अब त्यो सुविधा देउवासँग छैन । उनले आफ्नो सोच र कार्यशैलीलाई पूर्णतः परिवर्तन गर्नुपर्ने छ ।

मुलुकले हिँडिरहेको बाटो हिजोको भन्दा यतिखेर तुलनात्मक रुपमा निकै फराकिलो छ । फराकिलो बाटोमा हिँड्न साँघुरोमा भन्दा सहज त हुन्छ, तर दुर्घटनाका सम्भावना पनि उत्तिकै हुन्छन् । फराकिलो बाटोमा अन्य सवारीहरु पनि द्रुत गतिमा कुदिरहेका हुन्छन् । नेपाल परिवर्तनको द्रुत अभियानमा छ यतिखेर । यो परिवर्तनको यामलाई चिनेर देउवाले कदम चाल्नु अत्यावश्यक छ । आसेपासे र वरिपरि घुमिरहने व्यक्तिलाई नियुक्ति दिनु उनकै निम्ति हानिकारक हुन्छ । दल वा आसेपासे होइन, सक्षमलाई साथमा लिएर हिँड्न सक्दा नै देउवा सफल हुने छन् । र, अहिले उनले देखाएको कृतज्ञताको पनि अर्थ रहने छ ।

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १४:१२:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया