वरिष्ठ कलाकार उत्तम नेपालीको निधन
फरकधार / ६ साउन, २०७८

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको बुधबार बिहान निधन भएको हो । 

नेपाली पछिल्लो ३ वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित थिए । उनको उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको हो ।

नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तक मध्येका एक मानिने नेपाली काठमाडौंको किलागलमा वि.सं. १९९४ वैशाखमा जन्मिएका थिए । लखनउबाट चित्रकलामा स्नातक गरेर २०१८ सालमा नेपाल फर्किएपछि उनले नेपालमा आधुनिक चित्रकलाको अगुवाइ गरेका थिए । 

नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका नेपालीको नेपाल, भारत, जापान, तत्कालीन सोभियत संघ, बंगलादेश, कोरिया, अस्ट्रेलियालगायत देशमा चित्रकला प्रदर्शनी भएको थियो ।

चित्रकलाका अलावा नेपालीले गीत तथा कविता लेखनमा पनि कलम चलाएका छन् । नेपालीको ‘बिना शीर्षकको’ नामक कविता संग्रह प्रकाशित छ । यस्तै उनले ‘आमा’ र ‘हिजो आज र भोलि’ चलचित्रमा अभिनय समेत गरेका छन् । 

निजामती सेवामा प्रवेश गरी सूचना विभागको विभागीय प्रमुखका रुपमा अवकाश पाएका नेपालीको विगत ५ वर्षदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।

लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनको एकल चित्रकला प्रदर्शनी हुन नसकेको उनकी छोरी प्रकृति कर्माचार्यले बताएकी छन् । नेपालीका सयौँ कृति प्रदर्शन हुन बाँकी रहेको प्रकृतिको भनाइ छ । नेपालीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १५:१:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया