पार्टी एकताविरोधी कुनै पनि खालका गतिविधि नगर्न ओलीलाई नेपाल पक्षको ध्यानाकर्षण

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताविरोधी कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराएको छ । वरिष्ठ नेता नेपाल पक्षको स्थायी समितिको बैठकले यस्तो ध्यानाकर्षण गराएको हो । 

एकता वार्ता चलिरहेका बेला आफू पक्षीय सांसदहरुलाई स्पष्टीकरण सोध्ने तथा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध उत्तेजक नाराबाजी लगाउनेलगायतका गतिविधिप्रति बैठकले आपत्ति जनाएको छ । नेपाल पक्षले यस्ता खालका एकताविरोधी गतिविधि नगर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो । 

बुधबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै नेता रघुजी पन्तले भने, ‘सर्वोच्च अदालतको फैैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्दछ ।’ 

बैठकले यस्ता गलत र उत्तेजक काम–कारबाहीविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन आग्रह गरेको पन्तले बताए । 

माधव नेपाल पक्षले अदालतको फैसलाअनुसार आफ्ना पार्टीका २२ सांसदले स्वविवेक प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो । यसै विषयलाई लिएर ओलीले उनीहरुलाई स्पष्टीकरण पत्र पठाइसकेका छन् । 

नेपाल पक्षले यसलाई पार्टीको एकतालाई भाँड्ने कामको रुपमा व्याख्या गरेको छ । अदालतको फैसलामै स्वविवेकीय अधिकार प्रयोग गर्न पाइने उल्लेख भएको भन्दै पन्तले यसमा कुनै हालतमा कारबाही गर्न नमिल्ने तर्क गरे । 



बैठकले पार्टीभित्र एकताको वातावरण बनिरहेको उल्लेख गर्दै त्यसलाई बिथोल्ने काम नगर्न पनि अध्यक्ष ओलीपक्षीय नेताहरुलाई आग्रह गरेको छ । 



  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १८:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया