टोकियो ओलम्पिक : महिला फुटबलमा नेदरल्यान्ड र अस्ट्रेलिया विजयी, जापान बराबरीमा रोकियो

जापानको टोकियोमा सुरु भएको ३२औँ संस्करणको गृष्मकालीन ओलम्पिकअन्तर्गत बुधबार भएको महिला फुटबलमा नेदरल्यान्ड र अस्ट्रेलिया विजयी हुँदा आयोजक जापान र क्यानडाले बराबरी खेलेका छन् । 
सापोरो डोमे फुटबल मैदानमा भएको खेलमा क्यानडा र जापानले १–१ को बराबरी खेलेका हुन् ।  खेलको छैटौँ मिनेटमा क्रिस्टिन सिन्क्लेयरले गोल गर्दै क्यानडालाई अग्रता दिलाएकी थिइन् ।

५४औँ मिनेटमा मिना तनाका पेनाल्टीमा चुक्दा जापानले बराबरी गर्ने अवसर गुमायो । ८४औँ मिनेटमा मना इवाबुचीले गोल गर्दै टोलीलाई बराबरीमा ल्याइन् ।  

मियागी फुटबल मैदानमा नेदरल्यान्डले जाम्बियामाथि १०–३ को फराकिलो जित दर्ता गर्यो । उसका लागि भिभियानी मिडामाले ४, लेकी मार्टिन्सले २, सनिस स्यान्डन, जिल रोर्ड, लिनेथ बिरेनस्टिन र भिक्टोरिया पेलोभाले समान १–१ गोल गरे । जाम्बियाका लागि तीनै गोल ब्राब्रा बान्डाले गरिन् ।

मिडामाले नवौँ, १५, २९ र ५९औँ मिनेटमा गोल गरिन् । मार्टिन्सले १४ र ३८ मिनेटमा गोल गर्दा स्यान्डनले ४५ र रोर्डले ६४औँ मिनेटमा गोल थपे । 

बिरेनस्टिनले ७५ र पेलोभाले ८०औँ मिनेटमा गोल गरेपछि नेदरल्यान्डले फराकिलो जित दर्ता गरेको हो । 

बान्डाले १९, ८२ र ८३औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । 



टोकियो फुटबल मैदानमा अस्टे«ेलियाले न्युजिल्यान्डलाई २–१ ले पराजित गर्यो । उसका लागि तमिका यालोप र साम केरले १–१ गोल गरे । न्युजिल्यान्डका लागि गाबी रेनीले एक गोल फर्काइन् ।

खेलको २०औँ मिनेटमा गोल गर्दै यालोपले अस्ट्रलियालाई अग्रता दिलाइन् । ३३औँ मिनेटमा केरले टोलीका लागि दोस्रो गोल गरिन् । 



थप गरिएको समयमा रेनीले गोल गर्दै न्युजिल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

ओलम्पिकको उद्घाटन जुलाई २३ (शुक्रबार) हुने भए पनि महिला फुटबल र सफ्टबल भने बुधबारदेखि नै सुरु भएको हो ।

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १९:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया