एमाले केन्द्रीय समिति बैठक : एकता प्रक्रिया जारी राख्ने तर घात गर्नेलाई नछाड्ने
फरकधार / ६ साउन, २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सम्पन्न बुधबारको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । 

‘पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिबद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘तर, पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनुभयो ।’

एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि बैठकले सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा काम गर्र्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पुरानै अवस्थामा पुर्याउने, प्रतिपक्षी दलको हैसियतमा जनसरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दबाब दिने गरी अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए । 

बैठकले प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समीक्षा गर्दैै धन्यवाद समेत दिएको छ । बैठकले बिहीबार दिउँसो १ बजे नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक भोलि पनि बस्नेछ ।

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार २१:२१:३३,   अन्तिम अपडेट : साउन ६, २०७८ बुधबार २१:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया