ए-माले ए-कता !
फरकधार / ७ साउन, २०७८

आज नेपालका सबै कम्युनिस्टले पार्टीका संस्थापक पुष्पलाललाई स्मरण गरिरहेका छन् । हिजोअस्ति नगरे पनि वा पुष्पलालपथ नपछ्याए पनि ! संस्थापक नेतालाई सम्झनु आवश्यक छ, त्यो आवश्यकताका पूर्ति नेपालका कम्युनिस्ट पार्टीहरुले गरिरहेका छन् । तर, विडम्बना चाहिँ के छ भने आज पुष्पलाललाई सम्झनका निम्ति दर्जनौं पार्टीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिरहेका छन् । 



कम्युनिस्टहरु टुटफुटको सिकार भएका कारण हरेक पार्टीले आफ्ना संस्थापक नेताको स्मृति अलगअलग स्थानमा गर्नुलाई अन्यथा मान्न नमिल्ला, तर नेकपा एमाले नामक पार्टीले पनि छुट्टाछुट्टै पुष्पलाल स्मृति दिवस मनाउनाले भने नेपाली कम्युनिस्टहरुको मनोविज्ञान बुझ्न निकै सहज पारिदिएको छ । एमाले अहिले विभाजित भएको छैन, पार्टी एकढिक्का छ- शीर्ष नेताहरुको मुख धेरैतिर फर्किएको भए पनि ।

पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमालेको माधव नेपाल समूहले कार्यक्रम आयोजना गरिसकेको छ भने ओली समूहले दिउँसो कार्यक्रम गर्ने योजना बनाएको छ । कार्यक्रममा अरु केही हुने छैन– दुवै कार्यक्रममा को बढी पुष्पलालको भक्त भन्नेमा होड चल्ने छ । आफूलाई पुष्पलालको ‘अनुज’ देखाउने प्रयत्न पनि उसै गरी चल्ने छ । ओली र नेपालबीच छेडखानी हुने छ, बस् ! यदि पुष्पलालले यी सबै घटनाक्रम कतैबाट हेरिरहेको (मेरो कल्पना) हुँदा हुन् त के भन्थे होलान् ? कसलाई आफ्नो लिगेसीको अनुयायी घोषणा गर्थे होलान् ?

स्मरणीय कुरा के छ भने, तिनै पुष्पलालले २००६ साल बैशाख १० गते आफ्नो अगुवाइमा चार जनालाई साथ लिएर ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन गरेका थिए । ती वाम नेताको २०३५ साउन ७ गते (आजैका दिन) निधन भएको थियो । आज उनको ४३औं स्मृति दिवस । यो समयमा नेपालमा कतिवटा वामपार्टी जन्मिए र फुटको सिकार भए होलान् ? पुष्पलालको जतिवटा स्मृति दिवस उतिवटै वाम पार्टी ? कुनै समय मसाल र मशाल दुई पार्टी हुँदा ‘स’ र ‘श’ मा आफूलाई असली कम्युनिस्ट सोच्ने पनि यिनै थिए । साँच्चै अब त्यसको लेखाजोखा, कारण र फुटेर अस्तित्वमा रहेका वा नामेटै भएका नेपालका कम्युनिस्ट पार्टीहरुको शोध गर्न एउटा छुट्टै अनुसन्धाताको टोली बन्नुपर्ने अवस्था छ ।



अचम्म त के हुन पुग्यो भने, फुटेर कहिल्यै नथाक्ने कम्युनिस्टहरु (एमाले–माओवादी) झण्डै ३८ महिनाअघि एक हुन पुगे । एउटा क्रान्तिकारी धारको अर्को व्यवहारवादी । थोत्रिइसकेको माओवादको ह्याङ बोकेर राज्यविरुद्ध दशक लामो सशस्त्र संघर्ष गरेको तत्कालीन माओवादी पार्टीले ‘माओवाद’ त्याग्दै माक्र्सवाद–लेनिनवाद अँगाल्न सहमत भयो । यस्तो किन भयो ? किनकि, दुई पार्टी बीचको त्यो ‘मर्जर’ मा कुनै सिद्धान्त नै थिएन । तिनलाई सैद्धान्तिक राजनीति गर्नु थिएन, सिद्धान्त त केवल जनतासामु देखाउने दाँत थियो । 

अपवित्र त्यो गठबन्धनलाई अन्ततः सर्वोच्च अदालतले करिब चार महिनाअघि अवैधानिक ठहर गरिदियो । र, अहिले ती पुनः आ–आफ्नै बाटोमा लागे । यसरी दुईवटा कम्युनिस्ट पार्टी मिलेको अदालतलाई पनि स्वीकार भएन, पार्टीका नेताको त कुरै छाडौँ । 

माओवादी फुटेर गएपछि बाँकी रहेको एमालेमा लामो समयदेखि दुई शीर्ष नेता केपी शर्मा ओली र माधव नेपालबीच घाँटी कोराकोर चलिरहेको छ । यतिसम्म कि, यिनको झगडाले आफ्नै पार्टीको सरकार ढलेर विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको हातमा सत्ता पुगेको छ । 

आश्चर्यको कुरा त के छ भने, सत्ता परिवर्तनको यो खेलमा मुख्य खेलाडी बनेका माधव नेपाललाई अहिले पनि एमाले एकता चाहिएको छ ! अहिले एमालेको ‘ए’ अर्थात् एकीकृत र ‘माले’ को माक्र्सवाद–लेनिनवाद दुवै नेतालाई चाहिएको छैन । त्यसकारण यो एकता हुनु र नहुनुमा कुनै तात्विक फरक छैन । कम्तीमा दुई नेताबीच सैद्धान्तिक लडाइँ भएर मनमुटाव हुन पुगेको भए, त्यसमा एकताको अर्थ रहन्थ्यो । यो त दुई नेताबीचको ‘जुँगाको लडाइँ’ बाहेक अर्थोक केही पनि हुन सकेन ।

पार्टी एकताको वार्ता पनि गरिरहने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर पनि ठोकिदिने माधव पक्षका कतिपय नेतालाई आफ्नो समूहमा भित्राउन ओली चाहँदैनन् । हस्ताक्षर नगर्ने केही प्रभावशाली नेतालाई आफूतिर तान्ने दाउमा ओली लागेका त छन्, तर देउवाका सही ठोक्नेलाई उनी भित्राउन चाहँदैनन् ।

विडम्बना त के छ भने, सर्वोच्चको आदेशअघि दुई पक्षबीच भएको १० बुँदे सहमतिमा अहिलेसम्म दुवै पक्ष असहमत देखिएका छैनन् । तर, १० बुँदेको मर्म भने सर्वोच्चको निर्णय आएकै दिन ओलीले च्यातचुत पारिसकेका छन् । बालुवाटार छाडेर निवास बालकोट पुगेपछि ओलीले माधव नेपाललाई ‘गद्दार’ घोषणा गरिसकेपछि पनि यी नेपाल पार्टी एकताको भजन किन गाइरहेका छन्, बुझ्न नसकिने ‘पहेली’ बनेको छ । नेपालले ओलीलाई प्रतिगामी ठहर गरिसकेका छन्, तर अझै पनि किन उनैसँग एकताको राग अलापिरिहेका छन् ? 

यहाँनिर एउटा महत्वपूर्ण अभिव्यक्ति स्मरण गर्नु वाञ्छनीय हुन आउँछ । त्यो अभिव्यक्ति हो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को । यसै साता प्रचण्डले एउटा अनौठो कुरा सञ्चारकर्मीसँग गरे । उनी नेकपा एमालेमा एकता भएको देख्न चाहन्छन् रे ! अनि त्यो पार्टीमा ओली होइन, माधव नेपाल अध्यक्ष बनेको पनि हेर्न चाहन्छन् रे ! यतिमात्र होइन, त्यसका निम्ति आफूले गृहकार्य गरिराखेको र सहयोग पुर्याइरहेको भन्न समेत उनले भ्याए ! 

के साँच्चै प्रचण्डको मनोविज्ञान उनले भनेजस्तै होला ? के उनी आफ्नो चिरप्रतिद्वन्द्वी एमालेलाई एकताबद्ध बनाएर आफ्नै खुट्टामा बन्चरो प्रहार गर्न चाहलान् ? यी सबै प्रश्नको उत्तर नकारात्मक नै आउँछ । खासमा प्रचण्ड एमालेभित्र कहिल्यै ननिभ्ने भुसको आगो सल्काइदिन चाहन्छन् र माधव नेपाललाई आफूतिर तान्न चाहन्छन् । 

झिनामसिना कुरामा लोभ गर्ने नेपाललाई राष्ट्रपति बनाइदिने ‘लोभ’ जन्माइदिने छन् र आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्षको कुर्सीमा बस्न चाहन्छन् । प्रचण्डलाई के थाहा छ भने, एमालेको तल्लो तह वा स्थानीय स्तरमा माधव नेपालको प्रभाव निकै बलियो छ । त्यसलाई आफ्नो हितमा प्रयोग गर्न सक्दा माओवादीले आगामी निर्वाचनमा केही उन्नति गर्न सक्ने छ । प्रचण्डको स्वार्थ बस् यत्ति नै हो । 

केपी-माधव मिलन
माथि नै भनिसकियो, ७२ वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीमा हाँगा पलाएर दुई बीसभन्दा बढी पार्टी खुलिसकेका छन् । टुटफुट अन्य धर्म मान्नु हुन्न भन्ने कम्युनिस्टहरुको ‘धर्म’ हो । यो धर्म निर्वाहमा नेपाली कम्युनिस्टहरुले कुनै भुल गरिरहेका छैनन् । 

यस्तो खालको स्कुलिङ र धार्मिकताबाट दीक्षित केपी-माधवको मिलन कुनै पनि हालतमा सम्भव देखिँदैन । आफूलाई ‘गद्दार’ घोषणा गर्ने पात्रसँग कसरी ‘सहयात्रा’ कसैले गर्न सक्ला र ! यो यथार्थबीच किन एमालेमा एकताको अनावश्यक होहल्ला चलिरहेको छ ? के स्थानीय र संसदीय निर्वाचन संघारैमा आइसकेकाले यस्तो गोटी चाल्न खोजिएको हो ? यदि हो भने त्यसलाई चिर्ने हिम्मत अब एमालेका असल–इमानदार र लगनशील कार्यकर्ता–नेताले गर्न सक्नुपर्ने छ । 

अब पनि केपी-माधवलाई एकै लाइनको कुर्सी र एउटै उचाइमा बसिरहेका देख्ने चाहना राख्नु दिवास्वप्नबाहेक अरु केही होइन । कथंकदाचित् यी दुई विपरीत सोचका नेताले सँगै हिँड्ने बाचा गरेछन् भने पनि त्यो ‘नक्कली’ प्रमाणित हुने छ । त्यो टिकाउ त हुनै सक्दैन । उसै टुटफुटको संस्कार बोकिरहेको कम्युनिस्ट पार्टीमा एउटा अर्को पार्टी थपिँदा के नै फरक पर्ला र !

त्यतिखेर सर्वसाधारण जनताको कोणबाट अपेक्षा चाहिँ के गर्न सकिन्छ र गर्नुपर्छ भने– त्यो नयाँ खुल्ने कम्युनिस्ट पार्टीलाई दाइँ गर्ने व्यक्ति बूढो गोरु होइन, नयाँ सोच–विचार–चिन्तनबाट दीक्षित र असल–इमानदार–दूरद्रष्टा युवा हुनुपर्छ । त्यो वैकल्पिक राजनीतिक शक्ति बनेर उदाओस् । 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १४:८:१,   अन्तिम अपडेट : साउन ७, २०७८ बिहीबार १४:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया