अमरेश सिंहलाई कारबाही नगरे सामूहिक राजीनामा दिने कांग्रेसका एक दर्जन नेताको चेतावनी

प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता वीरेन्द्र सिंहसहित एक दर्जन नेताले प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहलाई कारबाही गर्न माग गरेका छन् ।

मन्त्री सिंहले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई कारबाही नगरे आफूहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् । 

उनले भनेका छन्,  ‘पटक–पटक विपक्षीसँग मिलेर विपक्षीको घरमा बसी पार्टीप्रति षड्यन्त्र गर्ने, कार्यकर्तालाई धाकधम्की दिने र पार्टीलाई कमजोर गर्ने क्रियाकलाप गरिरहेका सर्लाही क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद सिंहको तानाशाही प्रवृत्ति र आतंकबाट सिंगो क्षेत्र नम्बर–४ नै आतंकित भएकोले पार्टीले उनलाई कारबाही नगरे सो क्षेत्रका सबै तहका पदाधिकारी लगायत सबैले सामूहिक रूपमा राजीनामा गर्न बाध्य हुनेछौँ ।’

सांसद सिंह पार्टीभित्र षड्यन्त्र गरी विपक्षीसँग मिलेर पार्टी सिध्याउने खेलमा लागेकाले सर्लाही जिल्लामा पार्टी कमजोर भएको मन्त्री सिंहले आरोप लगाए । उनले नेता सिंहको आतंकबाट सिंगो पार्टी समेत आतंकित भएको दाबी गरेका छन् ।
 
प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहासहित एक दर्जन नेताले बिहीबार प्रधानमन्त्री देउवालाई पठाएको ध्यानाकर्षण पत्रमा प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारबाही नगरे आफूहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

मन्त्री सिंहले सामूहिक हस्ताक्षरसहित प्रधानमन्त्री देउवालाई पठाएको ध्यानाकर्षण पत्रमा महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध उत्पन्न गरेको उल्लेख गरेका छन् । 

पत्रमा अमरेश सिंहको अहंकार, दुष्ट प्रवृत्ति, पटक–पटक पार्टी र शीर्ष नेतृत्वको बारेमा दिने गैरजिम्मेवार अभिव्यक्ति, झुठो आश्वासन, कुरा लगाउने वानी, क्षेत्रमा विपक्षीको घरमा बसेर पार्टीविरोधी गतिविधि र षड्यन्त्र गरी पार्टी कार्यकर्तालाई गालीगलौज गरी तर्साउन खोज्ने कार्य, पार्टीको विधि विधान, पद्धति र संगठनको निर्णयलाई सधैँ बेवास्त गरी कुल्चेर अगाडि बढ्न खोज्ने जिल्ला र क्षेत्रमा हुने पार्टीको कार्यक्रममा सहभागी नहुने, क्षेत्रमा कांग्रेसको तर्फबाट निर्वाचित पालिकाहरुलाई आफूअनुकुल अनावश्यक कार्य गर्न दबाब दिने, धाक, धम्की, दुःखसमेत दिने गरेको कुरा उल्लेख गरिएको छ ।
 
पटक–पटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराउने विपत् र दैवी प्रकोपका बेला पनि एकचोटि पनि क्षेत्रमा नआउने र अहिले महाधिवेशनका लागि जिल्ला र क्षेत्रले सञ्चालन गरेका कार्यक्रममा नआउने, तर वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्य समितिहरुले गरेका निर्णयलाई नमानी अगाडि बढ्न विभिन्न जालझेल र तानाशाही प्रवृत्ति अवलम्बन गरेको भन्दै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट कांग्रेस पार्टी र नेतालाई बचाउन सो पत्रमार्फत माग गरिएको छ ।



क्रियाशील सदस्यतामा केन्द्रीय उपसभापति विमलेन्द्र निधिले मनाेमानी गरेकाे भन्दै बुधबार सिंहले सांसद पदबाट राजीनामा दिने घाेषणा गरेका थिए । साेही विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कांग्रेस कार्यकर्ताले धर्ना दिइरहेका छन् ।



 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार २०:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया