माओवादीलाई आगाेसँग किन तुलना गरे प्रचण्डले ?

५ वर्षे लामो कार्यकालसहित प्रधानमन्त्री भएका केपी शर्मा ओली साढे ३ वर्ष नपुग्दै प्रधानमन्त्रीबाट बिदा भए । यसबीचमा नेपालको राजनीतिक वृत्तमा निकै हलचल भयो । त्यो मध्येको एक महत्वपूर्ण हलचल बन्यो-प्रधानमन्त्रीमा शेरबहादुर देउवाको इन्ट्री ।

ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभालाई अदालतले ब्युँताएसँगै देउवा प्रधानमन्त्री बने । तिनै देउवाले विश्वासको मत मागिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने संसदबाटै एक अर्थपूर्ण अभिव्यक्ति दिए । संसदबाटै उनले माओवादीलाई ‘आगो’ को उपमा दिँदै आगोसँग नखेल्ने खुला चुनौती नै दिए ।

१० वर्षे जनयुद्धको पृष्ठभूमिबाट आएका प्रचण्डको यो चुनौती अरू कसैलाई नभइ केही समय अघिसम्मका आफ्ना सहयात्री ओलीप्रति लक्षित थियो । उनले संसदबाट ओलीतर्फ इंकित गर्दै भने, ‘माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । यसलाई हेप्न र अपमानित गर्न थाल्नु भयो भने आगो फेरि सल्किन सक्छ ।’ 

आफ्नै अगुवाइमा प्रधानमन्त्री बनाइएका ओलीलाई सोही दिनबाट विधिवत् रूपमा प्रधानमन्त्रीको कुर्सीबाट ‘गलहत्याउँदै’ थिए प्रचण्ड । उनी देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिलाउने वाचासहित रोस्टरमा उभिएका थिए । त्यसकारण पनि प्रचण्डका यी भनाइ अर्थपूर्ण मानियो । 

प्रचण्डभन्दा अगाडि सम्बोधन गरेका एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीमा नियुक्त भएका देउवाप्रति कडा कटाक्ष गरेका थिए । उनले २०५९ असोजमा अक्षम भनेर बर्खास्त भएका देउवालाई तत्कालीन राजाले २०६१ मा प्रधानमन्त्री नियुक्त भएपछि मैले आज श्री ५ बाट न्याय पाएँ भनेको स्मरण गरे । ज्ञवालीले भने, ‘श्री ५ ले दिनु भएको न्याय माघ १९ मा कहाँ गयो, हामी सबैलाई थाहा छ । आज ५ जना श्रीमानहरूबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको छ । उति बेला श्री ५, अहिले श्रीमान ५! ’

ज्ञवालीले संसदबाट भनेका यी कुरालाई प्रचण्डले प्रतिउत्तर दिँदै आक्रमक शैलीमा सो विषय उठान गरेका थिए । 



यसअघि पनि प्रचण्डले यस्तै आक्रामक भाषण गरेका थिए । ओलीले पहिलोपटक संसद विघटन गर्दा त्यसको विरोधमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनको क्रममा आन्दोलन बाघ र सिंहजस्तो ‘आक्रामक’ हुनपर्‍याे भनेका थिए । 

त्यतिबेला उनले भनेका थिए, ‘अब हाम्रो आन्दोलन अलि आक्रामक हुनुपर्‍याे । अलिकति बाघ र सिंह गर्जेजस्तो हुनुपर्‍याे कि प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिनपर्‍याे । त्यस्तो आन्दोलन चाहिएको छ कमरेडहरू ।’ शाकाहारी आन्दोलनले नपुगेको अथ्र्याउँदै उनले मांसाहारी आन्दोलनको माग गरेका थिए । 



प्रचण्डको अभिव्यक्तिका सन्देश के ?

बेला-बेलामा उत्साहित हुँदै जनयुद्धलाई स्मरण गरिरहेका प्रचण्डलाई पछिल्लो समय एमाले अध्यक्ष ओलीले बिर्सन नसक्ने गरी ‘चोट’ दिए । वाम गठबन्धनसहित एक भएको घोषणा गरेका यी दुई नेता अहिले आ-आफ्नो पूर्व पार्टीमा फर्किएका छन् । 

त्यसो त पछिल्लो ३ वर्षमा उनीहरूको उठबसको श्रृङ्खला पनि बिर्सन नसकिने खालकै रह्यो । देउवा प्रधानमन्त्री भएर विश्वासको मत लिँदै गर्दा प्रचण्डले संसदबाटै माओवादीलाई ‘आगो’को उपमा दिनुलाई राजनीतिक स्टन्ट हुनसक्ने विश्लेषकहरूको तर्क छ । 

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन्, ‘यसको खासै अर्थ त देखिइरहेको छैन । राजनीतिमा एउटा स्टन्डबाजी पनि हुन्छ । त्यसैको प्रयास पनि हुनसक्छ ।’

उनका अनुसार प्रचण्डले मात्र नभइ अन्य राजनीतिक दलका नेताहरूले पनि आफ्ना अभिव्यक्ति राख्दा समय र सन्दर्भ मिल्नेगरी राख्दा उपयुक्त हुने तर्क गर्छन् । 

त्यस्तै अर्का राजनीतिक विश्लेषक लोकराज बराल प्रचण्डले आफू विरुद्धलाई संसदबाट सन्देश दिनेगरी नखेल्न चेतावनी दिएको बताउँछन् । ‘प्रदीप ज्ञवालीले माओवादी वा जनयुद्ध केही पनि होइन भन्न त मिल्दैन नि । माओवादीले १० वर्ष जनयुद्ध नगरेको भए गणतन्त्र आउने थियो ? धर्म निरपेक्षता आउने थियो ? समावेशीता आउने थियो ? केही पनि आउने थिएन् नि’, बरालले भने, ‘कांग्रेस एमालेहरूले गणतन्त्रको कुरा उठाएकै थिएन नि । संविधानसभाको कुरा आउने थियो ?’ 

माधव नेपालदेखि विप्लवसम्मलाई सन्देश !

केपी ओलीसँग राजनीतिक ‘डिभोर्स’ गरेका प्रचण्ड त्यसयता एमालेकै असन्तुष्ट माधव नेपालसँग नजिक छन् । दैनिकजसो दुवैबीच भेटवार्ता र छलफल भइरहे । देउवालाई प्रधानमन्त्री बनाउन पनि नेपालले प्रचण्डसँगकै छलफलमा समर्थन जनाइरहे । 

उता लामो समय सहकार्य गरेर छुटिएका नेत्र विक्रम चन्द विप्लवसँगको भेटवार्तालाई पनि प्रचण्डले बाक्लो बनाइरहेका छन् । यसले कतै अब फेरि पुराना घटकहरू समेटेर माधव नेपालसहितको सहकार्यका लागि प्रचण्डले सोचिरहेको चर्चा पनि हुन थालेका छन् । 

‘प्रचण्डको त्यो भनाइबाट पनि संकेत त देखिँदैन तर विप्लवहरूसँगको भेटघाट, केही हदसम्म माधव नेपालसँगको निकटता लगायतबाट उत्साहित भएको हुनसक्छ’, विश्लेषक महर्जनले फरकधारसँग भने । 

उता अर्का विश्लेषक बराल पनि माओवादीले केही पनि गरेन भन्न नमिल्ने तर्क गर्छन् । ‘केही पनि होइन भन्न पाइन्छ ? एमाले पनि टाउको काटेरै आएका हुन नि झापाको । प्रचण्डले संसदबाट आगो नखेल्नुहोस् भनेर ज्ञवालीलाई काउन्टर गरेका हुन् । गर्दागर्दै अति गर्न पनि हुन्न नि । माओवादीले केही पनि गरेको होइन भन्न मिल्दैन’, उनले भने, ‘माओवादीको एजेण्डा त्यो नभएको भए गणतन्त्र आउँथ्यो ? कारक तत्व त उनीहरू नै हुन् नि । अन्तिममा राजासँग आजित भएपछि गिरिजाप्रसाद कोइरालाहरू पनि मानेर आएका थिए नि हिजो । प्रदीप ज्ञवालीले उत्तेजित हुनेगरी भाषण गर्नुभयो त्यसलाई काउन्टर गरेका हुन प्रचण्डले ।’

प्रचण्डको व्यवस्थापकीय क्षमता बलियो !

विश्लेषक महर्जन चाहिँ यतिबेला प्रचण्डको व्यवस्थापकीय क्षमता देखिएको तर्क गर्छन् । ‘यसपाली चाहिँ प्रचण्डको व्यवस्थापकीय क्षमता चाहिँ देखियो’, उनले अघि भने, ‘उनले जसरी माधव नेपालदेखि देउवा हुँदै तराई केन्द्रित दलहरूलाई एक ठाउँमा ल्याउन कोशिस गरेर ओलीको सर्वसत्तावादलाई धक्का दिन खोजे त्यसको लिडरसिप प्रचण्डकै हो ।’

संसदीय अभ्यासमा प्रचण्डले अहिलेको गठबन्धनलाई बलियो बनाएर लान सके सफल हुन सक्ने उनको शंका छ । उनले भने, ‘संसदीय अभ्यासमा उनी एक ढंगले आफ्नो सहकर्मीहरूको साथ पाए भने सफल हुने अवस्था नदेखिएको हो ।’

तर उत्तेजित भएर आफ्ना भाषणहरूमा प्रस्तुत हुने प्रचण्ड समय र सन्दर्भ बुझेर मात्र बोल्नु पर्ने बेला आएको पनि उनको सुझाव छ । उनले भने, ‘जुन खालका शब्दहरू उनले प्रयोग गरिरहेका छन्, त्यो अहिलेको समयसँग सान्दर्भिक छ वा छैन भन्ने चाहिँ उहाँले सोच्नुपर्छ ।’ 
 

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार ११:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया