पुष्पलाल स्मृति दिवसमा आममाफीः के ओली गलेका हुन् ?

केही महिनायता नेकपा एमालेमा देखिएको विवाद अब के हुने हो भन्ने अनुमान र आशंका धेरैमा रहेको छ । पछिल्लो समय यो पार्टीमा देखिएको विवाद मिलाउन बनेको कार्यदलले दिएका १० बुँदे सुझावको कार्यान्वयन होला या नहोला भन्नेमा पनि अन्योल छ ।

१० सदस्यीय समितिले दिएको १० बुँदे सुझावलाई नेकपा एमाले केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको छ । तर, यो केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओली पक्षधरमात्र सहभागी भएका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु अनुपस्थित यो केन्द्रीय कमिटी बैठकमा भएका निर्णय नै कति वैधानिक वा मान्य होलान् भन्ने प्रश्न पनि यथावतै छ ।

तर, बिहीबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले यसअघिका गलत काममा सबैलाई आममाफी दिने मात्र बताएनन्, पार्टीलाई थप बलियो बनाएर लैजाने अभिव्यक्ति पनि दिएका थिए ।

ओलीले सबैलाई माफी दिने अभिव्यक्ति दिएसँगै एमालेको एउटा तहमा लख काट्न थालिएको छ– ओली गले ।

३ वर्षअघि प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर निर्वाचित भएको नेपाल कम्युनिस्ट पार्टी विघटन भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बन्दा पनि ओलीले आफू गलेको आभास गर्न दिएका थिएनन् । 

तर, पुष्पलाल स्मृति दिवसको कार्यक्रममा आफूले माफी दिने भन्नु के उनी गलेको प्रमाण हो त ?



‘अहिले हाम्रो पार्टीमा कसले कसलाई माफी दिने भन्ने कुरा निकै रोचक र घोचक छ,’ एमालेका एक केन्द्रीय सदस्यले फरकधारलाई भने, ‘ओलीले आफूले माफी दिन्छु भनेका छन्, उनले त खासमा मलाई माफी दिनुहोस् भन्नु पर्ने हो । तैपनि केही दिनयता उनी विस्तारै गल्दै गएको आभास चाहिँ गर्न सकिन्छ ।’

एमालेमा माधवकुमार नेपाल पक्षधर यी नेताले ओली बालुवाटारबाट बालकोट गएको दिनको सम्झना गरे । 



‘बालकोटको बार्दलीमा ओलीले नेपाललाई गद्दारसमेत भने, त्यही कुरा दुई दिनपछिसम्म उनले दोहोर्याए,’ ती नेताले भने, ‘तर, अब उनी मिलेर जाऔँ भनिरहेका छन्, पार्टी कमजोर भएको आभास गरेका छन्, यसको अर्थ उनी गलेको भन्ने नै त हो ।’ उनले यसो भने पनि यसलाई अन्तिम गलाइका रुपमा हेर्न नहुने उनको तर्क छ ।

‘उनले बारम्बार आफू कमजोर हुँदा यस्ता अस्त्र प्रयोग गरिरहेका छन्,’ ती नेताले भने, ‘यो पनि एउटा षडयन्त्र मात्र हुनसक्छ । यदि उनी साँच्चिकै पार्टी एकता चाहन्थे भने केही दिनअघि सोधिएको स्पष्टिकरण फिर्ता भयो भन्न सक्नु पथ्र्यो, त्यो सोध्न नहुने काम गरेँ, माफी चाहन्छु भन्नु पथ्र्यो ।’

त्यसैले पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जे भने पनि यसलाई सहज रुपमा लिएको छैन, माधवकुमार नेपाल पक्षधरले । पछिल्लो समय माधवकुमार नेपाल पनि एमालेलाई एक बनाउन केही लचिलो भएका हुन् कि भन्ने अनुमान धेरैले गरेका छन् ।

‘तर, उहाँमा पार्टीलाई बलियो बनाएर अगाडि बढ्नु पर्छ भन्ने भावना नै आएको छैन, उहाँका पछिल्ला गतिविधि हेर्दा उहाँ एमालेमा फेरि फिट हुनुहुन्छ भन्ने पनि देखिएन,’ केपी ओली पक्षधर एक नेताले भने ।

माधवकुमार नेपाललाई एमालेमा अब कुनै ठाउँ नभएको पनि ओलीले आफू बालकोट गएको दिनमा नै भनेका थिए । तर, पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले नेपाललाई पनि अब पार्टीमा आएर पार्टी बलियो बनाउन आग्रह गरे । केही दिनअघि मात्र एमालेमा अब ठाउँ नभएको प्रतिक्रिया दिएका ओलीले आखिर किन यसो गरे त ?

‘किनकि उहाँ पार्टीलाई नै बलियो बनाएर अगाडि बढ्नु पर्छ भन्नेमा हुनुहुन्छ, यो उहाँले देखाएको लचकता हो,’ एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले फरकधारलाई भने, ‘केपी ओली कमरेडले यतिका वर्ष आफ्नो जीवन पार्टीका लागि दिनु भएको छ, उहाँ यो पार्टी अहिले कमजोर भएको देख्न चाहनुहुन्न, त्यसैले सबैलाई मिलेर जाऔँ भन्नु भएको हो ।’

नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा ओलीको यो अभिव्यक्ति आउनु अझ बढी सान्दर्भिक भएको अधिकारीको बुझाइ छ ।

‘पार्टी भनेको एउटा वैचारिक समूह हो, यसमा कहिलेकाहिँ खटपट देखिन सक्छ, अहिले हाम्रो पार्टीमा भएको पनि त्यही हो,’ अधिकारीले भने, ‘अब अध्यक्ष ओलीले नै यसलाई समाधान गरौँ, हिजो भएका गल्तीहरु बिर्सौँ भन्नु उहाँको उदारता हो, उहाँले पार्टीलाई थप बलियो बनाउन लिएको उद्देश्य हो । यसलाई ओली कमरेड गलेको भनेर परिभाषित गर्नु ठिक हुँदैन ।’

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १२:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया