ग्राउन्ड जिरो ः जोगबनी सुनसान, मटेरवा ‘गुलजार’

विराटनगर १७ इस्लामपुरका मुस्ताक रैन ११ वर्षका भए । उनी  विराटनगर १७ इस्लामपुरकै निजी विद्यालयमा कक्षा तीनमा पढ्छन् । 

कोरोनाका कारण उनको विद्यालय खुलेको छैन । उनले कक्षा तीनको परीक्षा पनि दिनु परेन । उनलाई अहिले विद्यालय जान हतारो छैन । तर, उनलाई अहिले फुर्सद भने एकछिन पनि  छैन । 

मुस्ताक बिहान सात नबज्दै काममा जान्छन् र साँझ ६ बजेसम्म त्यहीँ हुन्छन् । उनको काम हो, मोटरसाइकल र सवारी साधनको रेखदेख गर्ने । यसरी रेखदेख गरेवापत उनी अहिले दिनकै पाँचसय रुपैयाँसम्म कमाउँछन् ।


 
उनको घर नजिकै खाली जग्गा छ । खाली ठाउँमा पार्किङ स्थल बनाइएको छ । मानिसहरु त्यहाँ मोटरसाइकल, टेम्पु, अटो रिक्सा र सफारी पार्किङ गर्न पुग्छन् । 
पार्किङबापत उनी सवारी धनीसँग पैसा उठाउँछन् । रैनका अनुसार एउटा मोटरसाइकल राखेको २० रुपैयाँ लाग्छ । टेम्पु र सिटी सफारीको ३० रुपैयाँ । 

मुस्ताक जस्तै नेपाल–भारत सिमानामा पर्ने विराटनगरको मटेरवा नाकामा दर्जनभन्दा बढी पार्किङ स्थल छन् । सवारी साधन त्यहाँ पार्किङ गरेर भारतीय बजारमा सामान किन्न जानेको भीड लाग्ने गरेको छ ।  

प्रहरीका अनुसार अघिल्लो वर्षको लकडाउनदेखि नै नेपाल-भारत सिमाना जोगबनी बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख (उपरीक्षक) जनार्दन जिसीले नेपाल भारत आउजाउ रोकिएको बताए । 



उनले भने, ‘एक जना मानिस पनि नेपालबाट भारत र भारतबाट नेपाल आएका छैनन् ।’ तर, मटेरवा नाकामा भने बिहीबार पुग्दा नेपाल–भारत सीमा बन्द भएको कुनै महसुस नै भएन । 



मटेरवा नाकाबाट मानिसको आउजाउ रोकिएको छैन । मानिसहरु प्रहरीकै अगाडिबाट दोहोरी लत्ता आउजाउ गरिरहेका छन् । पहुँच भएका केही मानिस त आफ्ना सवारी साधन लिएरै पारि गए  । तर, उनीहरुलाई प्रहरीले सामान्य रुपमा झोला जाँच गरेजस्तै गर्दै छाडिदियो  । 

कोभिड महामारीका कारण मूल सीमा नाका बन्द भएपछि मटेरवा नाका अहिले ‘गुलजार’ छ । यही नाकाबाट भन्सार नतिरी सामानहरुसमेत नेपाल भित्रिरहेको छ । 

तस्करीको मूल नाकाका रुपमा परिचित मटेरवामा मानिसहरुले दैनिक रुपमा घरमा चाहिने सामग्री भित्रिरहेका छन् । स्रोतका अनुसार प्रहरीसँगको मिलेमतोमा सामान वारपार गर्नेहरुले अवैध सामान समेत नेपाल ल्याइरहेका छन् ।  

सामान वारपार रातमा मात्रै नभएर दिनमै समेत हुने गरेको छ । तर, प्रहरीले कुनै रोकतोक गरेको छैन । 
मटेरवाको बाटो हुँदै जोगबनी जाने बाटामै छ अस्थायी प्रहरी चौकी । चौकीको नजिकै तीन वडा बाँसका ढाट पनि राखिएका छन् । ढाटमा प्रहरी बसेर मानिसको झोला हेर्दै पठाउने गर्छन् । भारततर्फ जानेलाई त प्रहरीले सोध्ने र हेर्ने कामसमेत गरेको छैन ।  उताबाट सामान बोकेरे मानिसहरु नेपाल आइरहेका छन् । 

भारतको अररिया जिल्ला घर भएका रहिम अन्सारी  विराटनगरमा रहेका आफन्त भेट्न यही नाकाबाट नेपाल भित्रिएका छन् । दुई बजे उनलाई भेट्दा प्रहरीले सोधिखोजी नगरेको बताए । ‘म जसरी पहिला आउँथेँ, आज पनि त्यसरी नै आएँ,’ उनले भने । उनले अटो र रिक्साको भाडा भने बढेको सुनाए । उनले थपे, ‘म पारिबाट हिँड्दै आएँ, अब अटो चढेर आफन्तको घर विराटनगर जान्छु ।’ 

फरकधार संवाददाताले मटेरवा नाकाको अवस्थाका बारेमा बताएपछि प्रहरी प्रमुख जिसीले सीमा नाकामा कडाइ गरिने बताए । उनका अनुसार, नेपाल-भारतको नाकामा जति कडाइ गरिए पनि पूर्ण रोक लगाउन समस्या छ । 

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १४:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया