पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद मिल्ने सुरसार देखिँदैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच जुन दूरी बढेको छ, त्यसलाई कम गर्न दोस्रो पुस्ताका नेताहरु लागिरहेका छन् ।
तर, दोस्रो पुस्ताका नेताहरुले गरिरहेको प्रयासले सार्थक रुप लिने सम्भावना झन् कम हुँदै गएको छ ।
यसका लागि बिहीबार र शुक्रबार दुई दिनका कार्यक्रमहरुलाई हामीले मूल्यांकन गर्न सक्छौँ । बुधबार साँझ फरकधारसँग कुरा गर्दै नेकपा एमालेका नेता सुवास नेम्वाङले आफूहरुले ओली र नेपालको भेटघाटका लागि तारतम्य मिलाइरहेको बताएका थिए । उनले एक–दुई दिनमै ओली र नेपालबीच भेटघाट हुनसक्ने सम्भावना रहेको पनि बताएका थिए ।
तर, बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम र शुक्रबारको यही कार्यक्रममा ओली र नेपाल दुवैले गरेका सम्बोधन र अभिव्यक्तिका कारण यी दुई नेताबीच दूरी थप बढेको अनुमान गर्न सकिन्छ ।
बिहीबारको कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूले पार्टी एकताका लागि सबैलाई माफी दिएको बताएका थिए । उनको यो अभिव्यक्तिको जवाफमा शुक्रबार पुष्पलाल स्मृति दिवसको कार्यक्रममा नै नेपालले जे अभिव्यक्ति दिएका छन्, त्यसबाट विश्लेषण गर्न सकिन्छ, अब यी दुई नेताबीचको दूरी थप बढ्दै जानेछ ।
नेपालले शुक्रबार गरेको अभिव्यक्तिका तीन बुँदालाई विश्लेषण गरौँ ।
नेपालले कार्यक्रममा भनेका छन्– महाराजधिराजबाट हिजो आदेश आयो, हामीलाई आममाफी दिइएछ, हामी गदगद भयौँ ।
नेपालले ओलीले आफूले आममाफी दिने भनेको कुरालाई यहाँ व्यंग्य गरेका छन् । ओलीले आममाफी दिनुलाई हास्यस्पद रुपमा नेपालले लिएका छन् । अनि ओलीलाई सम्बोधन गरेका छन्– महाराजधिराज । यसले गर्दा अहिले पनि ओलीप्रति नेपाल समूह वा नेपाल विश्वस्त नभएको र ओलीमा कुनै परिवर्तन नआएको उनीहरुको अनुमान छ । यही कारण पनि नेपाल तत्काल ओलीसँग सहकार्य गर्न जालान् भन्ने सम्भावना देखिँदैन ।
त्यस्तै, शुक्रबारको भाषणमा उनले भनेका छन्– माधव नेपाल तर्साएर तर्सिँदैन ।
नेकपा एमालेमा ओली पक्षले गरेका क्रियाकलापको चर्को आलोचना गरिरहेका नेपालले बिहीबार पिपुल्स भोलिन्टियर्स नामको संगठन नै बनाएका छन् । ओली समूहको युथ फोर्सलाई टक्कर दिन बनाइएको यो संगठनले अब काम गर्ने नेपालले बताएका छन् । अनि पछिल्लो समय ओली समूहले गरेका कारवाही वा स्पष्टिकरणका विषयमा पनि माधव नेपालले एकोहोरो अडान लिइरहेका छन् ।
नेकपा एमालेका पछिल्ला निर्णयहरु मान्न छोडिसकेका नेपालले त्यसैले पछिल्लो समय आफैं संगठन निर्माणमा लाग्नुले पनि एमाले अब एक नहुने संकेत गर्छ ।
शुक्रबार नेपालले अर्को पनि अभिव्यक्ति दिएका छन् । उनले नेपाली कांग्रेसका देउवा प्रधानमन्त्री बन्नु ठिक भएको भन्दै उनलाई विश्वासको मत दिने सांसदलाई सलामसमेत भनेका छन् ।
यसले प्रष्ट पार्छ, ओलीलाई बालुवाटारबाट बालकोट फर्काएको कदममा नेपालले अरु केही सोच्ने छैनन् । त्यसैले पनि ओलीसँग अब नेपाल मिल्ने सम्भावना कम भएको अनुमान गर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।