हरेक पटक चट्याङ पर्दा छोरो सम्झेर रुन्थेँ

बोल्दै जाँदा आँखा टिलपिल हुन्थे । उनी हातको चोरी औंलाले आँसु पुछ्थिन र बोल्थिन् । उनी अर्थात् निर्मला आचार्य । निर्मलालाई जिन्दगीको त्यो क्षणका कतिपय सिलसिला सम्झनु छैन । सम्झँदा आज पनि उसैगरी मुटु दुख्छ । तर हामी त्यही क्षणको सम्झना गर्न भेटिएका थियौं ।

घरकी कान्छी छोरी । आफूभन्दा माथि दुई दिदी । दिदीको पहिल्यै विवाह भैसकेको थियो । निर्मला भने एसएलसीपछि मेडिकल लाइनमा केही गर्ने सपना बोकेर एक वर्षे मेडिकल कोर्स गर्दै थिइन् । मेडिकल कोर्स सकेर ओरियन्टेसन दिन काठमाडौं आइन् । त्यहीबेला उनकी जेठी दिदीले प्रस्ताव गरिन्, ‘मेरो भाञ्जासँग बिहे गर ।’ अहिलेका चर्चित संविधानविद् डा. भीमार्जुन आचार्य त्यसबेला भर्खर करिअरको सुरुवात गर्दै थिए । निर्मलाले दिदीको घर जाँदा भीमार्जुनलाई धेरै पटक भेटेकी थिइन् । बाटो पर्दा र सम्झना गरेरै पनि कहिलेकसो मामाको ससुराली गइरहेका हुन्थे भीमार्जुन पनि । 

दिदीको प्रस्तावमा त्यसबेला निर्मलाले ‘बुवा-आमाले हुन्छ भन्नु भयो भने हुन्छ’ भन्ने जवाफ दिइन् । कुरा चलेपछि भीमार्जुनले निर्मलालाई बबरमहलमा खाना खान बोलाए। भीमार्जुनका कान्छा भाइ र निर्मला एउटै कक्षामा अध्ययन गर्ने साथी । निर्मलालाई त्यतिबेला ‘अन्टी’ भन्थे भीमार्जुन । सँगै खाना खाएपछि भीमार्जुनले भने, ‘मलाई चमकधमकको जिन्दगी बाँच्नु छैन् । म सिम्पल लिभिङमा विश्वास गर्छु । मलाई सामान्य जिन्दगी बाँच्न साथ दिन्छौ-दिँदैनौ ?’ त्यसबेला पनि निर्मलाले भनिन्, ‘बुवा-आमाले गर्ने निर्णय नै मेरो निर्णय हो ।’

२०५६ साल वैशाख १ गतेका लागि विवाहको मिति तय भयो । निर्मला र भीमार्जुन दुवैले मन्दिरबाट सामान्य बिहे गर्ने निधो गरे । उनीहरुले विवाहका लागि गोर्खाको मनकामना मन्दिर रोजे । दुवैका परिवारसहित मनकामना पुगेका उनीहरुलाई त्यहाँका पुजारीले भनिदिए, ‘मनकामनाबाट बिहे गर्दा विछोड हुन्छ । डिभोर्स हुन्छ ।’ त्यसपछि त्यही दिन मनकामनाकी बैनी ‘इच्छाकामना’मा निर्मला र भीमार्जुनको विवाह सम्पन्न भयो । बिहेपछि निर्मलाले लेख्दै गरेको थर फेरियो । आफ्नो भनेको घर फेरियो । 

बिहेपछि कलेज भर्ना भएकी निर्मला लगभग ५ वर्ष पढाइमै केन्द्रित भइन् । यो ५ वर्षमा भीमार्जुनको कामले एउटा गति समातिसकेको थियो । बीचमा केही समय निर्मला शिक्षिका भइन् । निक्कै व्यस्त भीमार्जुन समयमा खाना खान पनि भ्याउँदैनथे । बनाएर राखेको खाना छोडेर स्कुल गएकी निर्मला फर्किएर आउँदा कुँडिन्थिन् । उनलाई लाग्थ्यो- मेरो श्रीमानले तातो खाना खान पाउनु भएन । उनले सोचिन, ‘आँखिर जिन्दगी चलेकै छ । म घरमै भएँ भने उहाँले तातो खान त पाउनु हुन्छ ।’ उनले शिक्षण छोडिन् । 

बिहे गरेको ५ वर्षसम्म बच्चा नहुँदा गाउँले र आफन्तका घुमाउरा प्रश्न सुरु भैसकेका थिए । यी ५ वर्ष उनीहरुले सल्लाह गरेरै बच्चा नजन्माएका हुन् । अब भने निर्मलाको पढाइ सकियो । भीमार्जुनको करिअर बलियो भयो । उनीहरुले सल्लाह गरे आमा-बाबु बन्ने । बच्चाको प्लान गरेको लामो समयसम्म पेटमा बच्चा बसेन । त्यसपछि सुरु भयो परीक्षण । त्यसबेला नेपालमा नाम चलेका डाक्टरहरुसँग निर्मलाले आफ्नो चेकअप गराइन् । तर, यहाँ समस्या पहिचान नै भएन । 



लखनउसम्मको यात्रा 

ठीक यही बेला निर्मलालाई एकजना साथीले भनिन्, ‘जँचाउन लखनउ जाऊ एकपटक ।’ लखनउमा चेकअप गरेपछि निर्मलाको पाठेघरमा टिबी (युटेरिन ट्युबरक्युलोसिस) देखियो । जसले बच्चा बस्न दिँदैनथ्यो । उपचार गरेपछि ठीक हुने डाक्टरले सुझाए । उनी त्यहाँबाट ९ महिनाको औषधि बोकेर नेपाल फर्किन् । नियमित औषधि सेवनका क्रममा पनि निर्मला डाक्टरको सल्लाह लिइरहन्थिन् । एकदिन डाक्टरले नेपालमै एकपट परीक्षण गर्न भने । उनी डा. भोला रिजालकहाँ पुगिन् । परीक्षणको रिपोर्ट आयो । उनको पाठेघरमा रहेको टिबी क्लियर देखायो । उनी खुसी भइन् । डाक्टरले भने- अब तपाईंकाे गर्भमा बच्चा बस्छ । 



त्यसको केही समयपछि निर्मला पहिलोपटक गर्भवती भइन् । लामो उपचारपछि आमा बन्ने तयारीमा रहेकी निर्मला निकै खुसी थिइन् । तर, उनको यो खुसी लामो समय टिकेन । गर्भ रहेको दुई महिनामा डाक्टरले भने, ‘तपाईंको बच्चामा हार्टबिट छैन । क्युरोट गर्नुपर्छ ।’ त्यो बेला उनको मनमा कुन आँधी चलेको थियो निर्मला आज पनि शब्दमा व्यक्त गर्न सक्दिनन् । सम्झँदा केवल उनका आँखा भरिएर आउँछन् । उनी भरिएका आँखाभरिका आँसु आँखामै दबाउने प्रयत्न गर्छिन् । 

भीमार्जुनको बढ्दो व्यस्तता । आवश्यकता महसुस भयो, यहीबीच उनीहरूले बबरमहलमा आफ्नै घर किनेर सरे । छरछिमेकीहरूले कानेखुसी गर्थे, ‘जति प्रगति गरे पनि के गर्नु, एउटा छोराछोरी पनि छैनन् ।’ गाउँलेको वचन निर्मलाको कानमा पर्थ्याे । उनी भित्रभित्रै दुःखी हुन्थिन् । भीमार्जुन शान्त भएर सम्झाउँदै भन्थे, ‘दुनियाँको कुरा छोडिदेऊ । जिन्दगी बिताउने हामीले हो । हामी एकअर्कासँग रमाउँला । घुमौंला । जिन्दगी बिताउँला ।’ गाउँलेले जे भने पनि निर्मलाले घरपरिवारको वचन भने कहिल्यै सहनु परेन । सासु-ससुराले पनि सधैं सम्झाए । निर्मला भन्छिन्, ‘परिवार भन्नु धेरै ठूलो कुरा रहेछ ।’ 

बिहे गरेको १० वर्ष गुज्रन लागेको थियो । आफ्नी छोरीका सन्तान नभएपछि उनकी आमा भने निक्कै दुःखी हुन्थिन् । रुँदै भन्थिन्, ‘नानी ज्वाइँले अर्को बिहे पो गर्नुहुन्छ कि ?’ आमाको आशंकामा निर्मला पनि झरी बन्थिन् । आमाले सम्झाउनु पर्ने छोरी आमालाई नै सम्झाउँथिन् र फर्कन्थिन् । 

मृत बच्चासँगै हुकिर्यो गर्भमा अर्को शिशु

उनी दोस्रो पटक गर्भवती भइन् । उनका आँखा थामिए । वचन लाउनेहरूका मुख टालिए । निर्मलाले खुब केयर गरिन् आफ्नो । खानामा अरुचि, केही दुखाइ भए पनि उनी निकै खुसी थिइन् । यसपटक ‘ट्विन्स बेबी’ थिए । उनको खुसी पनि दोब्बर नै थियो । यो खुसी गर्भ रहेको १६ सातामा आधा भयो । निर्मलाको आधा खुसी त्यतिबेला सकियो जब नियमित चेकअपका क्रममा डाक्टरले एउटा बच्चाको हार्टबिट नरहेको बताए । 

गर्भमा दुईवटा बच्चा छन् । एउटा बच्चा मृत, अर्को जीवित । निर्मलाको मनमा बेलाबेला हुरी चलिरहन्थ्यो । रसाइरहन्थे उनका आँखा । गर्भमा रहेको जीवित शिशु जोगाउन सकिएला कि नसकिएला भनेर भँगालो उठ्थ्यो र फुट्थ्यो निर्मलाको मनमा । डाक्टरले धेरैथरिका औषधि चलाएका थिए । सम्झाइरहन्थे, ‘हामीले सकेको गर्छौं। तपाईंकाे बच्चालाई केही हुँदैन ।’ भीमार्जुनको सम्झाउने शान्त स्वाभाव कहिल्यै परिवर्तन भएन ।
 
यो समय निर्मला केही गर्न सक्दिनथिइन् । पूर्णरूपले बेडरेस्टमा रहेकी निर्मलाको दैनिकी किचेन र बेडरुममा मात्रै सीमित भयो । ती अप्ठ्यारा दिनमा उनका भाञ्जा विपिनले निकै सहयोग गरे । अध्ययनका लागि बसेका विपिन माइजुको खुबै ख्याल राख्थे । गर्नुपर्ने सबै सहयोग गर्थे । व्यस्त हुँदाहुँदै पनि भीमार्जुनले सकेको समय दिन्थे । दिनभरि व्यस्त रहने उनले कयौं पटक राति अबेर लुगा धोएका छन् । निर्मला भन्छिन्, ‘यो बेला लगाएको गुन भुल्न सकिँदैन रहेछ । श्रीमान् त श्रीमान् भैहाल्नु भयो । म भाग्यमानी श्रीमती हुँ । भाञ्जा विपिनलाई पनि निकै सम्झन्छु । हुन त हुँदै नहुँदा केही विकल्प निस्कन्थ्यो होला । त्यतिबेला भने भान्जा नहुनु भएको भए यसरी केयर कसले गर्थ्याे होला भनेर कहाली नै लाग्थ्यो ।’ साथमा थिइन् उनकी माइली दिदी । दिदीले सकेको र जानेको सबै सहयोग गरिन् । अत्यासहरूमा साथ दिइन् । दिदी भएर पनि गर्भावस्थाको त्यो कष्टपूर्ण समय केही सहज भयो । 

दिन बित्दै थिए । एकदिन अचानक पानी बग्न थाल्यो । अस्पताल गएपछि डाक्टरले भने, ‘तपाईंकाे गर्भाशयको पानी सुकिसक्यो, अस्पताल भर्ना हुनुपर्छ ।’ निर्मला अस्पताल भर्ना भइन् । विभिन्न औषधि चलाइयो । १५ दिनको अस्पताल बसाइपछि घर फर्किइन् । यसपटक घर फर्किंदा निर्मलाले सँगै लिएर आएकी थिइन् ‘डेलिभरी डेट’ । उनले जेठको दोस्रो साताको ‘डेट’ पाएकी थिइन् । तर चैतको दोस्रो साता सुरु नहुँदै निर्मलाको दुखाइ सुरु भयो । बच्चा जन्मने समय नजिकिएकै थिएन । भीमार्जुनको व्यस्तता यो समय निकै धेरै थियो । केही दिन त निर्मला दुखाइ सहेरै बसिन् । तीन दिनपछि उनी पुनः अस्पताल गइन् । डाक्टरले बच्चा उल्टो बसेको, पूरै बेड रेस्ट गर्न भने । उनी घर फर्किन् ।

बच्चा एनआइसियूमा

अस्पतालबाट फर्किएको साँझ निर्मलालाई झन् धेरै पेट दुख्यो । त्यो दिन भीमार्जुन पनि राति १० बजे मात्रै घर फर्किए । उनले आफ्नो दुखाइ श्रीमान्लाई सुनाइन् । भीमार्जुनले फेरि शान्त मुद्रामा सम्झाए, ‘डाक्टरले ठीकै छ भनेका छन् । तिमी नआत्तिऊ । यो रात हेरौं । भएन भने बिहान अस्पताल जाउँला ।’ त्यो रात निर्मलाका लागि निकै लामो हुन पुग्यो । दुखाइले उनी निदाउनै सकिनन् । 

घडीले रातको १ बजाउँदै थियो । दिनभरि थाकेर आएका भीमार्जुन गहिरो निद्रामा थिए । निर्मलाको भने सहनशीलताका सबै सीमा भत्किए । श्रीमान्लाई उठाइन् । उनीहरु अस्पताल गए । रातभरि औषधि खाइन् । बिहानको ७ बजेतिर डाक्टर भोला आए । उनको थप परीक्षण गरियो । बच्चा निस्कने प्रोसेसमा रहेकाले तत्काल अप्रेसन गर्नुपर्ने भयो । 

बच्चा जन्मने बेला भएकै थिएन । अप्रेसनको तयारी गरेकै थिएनन् भीमार्जुन र निर्मलाले । त्यो तयारीका क्रममा भीमार्जुलाई कति दौडधुप भयो, आज पनि सम्झँदा कताकता दुख्छ निर्मलाको मन । तर, भीमार्जुनले कहिल्यै देखाएनन् निर्मलालाई आफूभित्रको छटपटी । निर्मलाका लागि भीमार्जुनको यो आदत आफूलाई बलियो बनाउने एउटा हतियार थियो । 

अन्ततः गर्भ ७ महिना पूरा भएपछि निर्मलाको अप्रेसन भयो । बच्चा निकालियो । एउटा जीवित र एउटा मृत बच्चा जन्माएर निर्मला पहिलो पटक आमा बनिन् । मृत बच्चा सुकेर बसेको नर्सले सुनाइन् । उनलाई त्यसबेला नर्सले सोधका थिए, ‘अर्को बच्चा पनि हेर्नु हुन्छ ?’ निर्मलाको मनले हेर्न मानेन । उनले सोचिन, ‘पछि त्यही मात्रै आँखामा आइरह्यो भने ?’ उनले मात्र प्रश्न गरिन, ‘मरेको बच्चा छोरा थियो कि छोरी ?’ नर्सले भनिन्, ‘छोरा’ । मनमा शून्यताबाहेक केही आएन ।

जेहोस् निर्मलाको छोरा जन्मियो । उनी आमा भइन् । तर सकुशल जन्मिएको बच्चा १.९ किलोग्राम मात्रै थियो । बच्चालाई ‘एनआइसियू’मा लगियो । निर्मलालाई मुटु बाहिर निकालेर शरीर मात्रै बाँचेको महसुस भयो । छोरो जन्मँदाको खुसी मनाउनै पाइनन् । ‘एनआइसियू’मा राखिएको छोरो देख्न निर्मलाको मन तड्पन्थ्यो । आँखा आँसुले भिज्थे, दूध बहेर चोली भिज्थ्यो । आफन्तले बधाई दिन फोन गर्थे, भीमार्जुन खुलेर बधाई लिनै सक्दैनथे। 

छोराले दूध चुस्दाको खुसी

समयसमयमा छोरालाई भेट्न ‘एनआइसियू’मा जान्थिन् । छोरो देखेर खुसी हुनु पर्ने निर्मलाका आँखाबाट समुद्र उर्लन्थे । छोराले दूध चुस्न सक्दैनथ्यो । कचौरामा दूध दोहेर छोडेर रुँदै फर्कन्थिन् उनी । दूध नर्सहरूले खुवाइदिन्थे । यो क्रम चार दिनसम्म चल्यो । जन्मिएको चार दिनमा पहिलो पटक बच्चाले दूध चुस्यो । ‘एनआइसियू’को एउटा कुनामा बसेर निर्मलाले पहिलो पटक छोरालाई स्तन चुसाइन् । स्तनबाट दूध बह्यो । निर्मलाका आँखाबाट खुसीको आँसु । निर्मलाको जिन्दगीकै सबैभन्दा सुन्दर र खुसीको क्षण थियो त्यो। छोराले दूध आफैं चुसेको दिन निर्मलाले जिन्दगीका सबै दुःख बिर्सिएर मुस्कुराएकी थिइन् । निर्मलाको त्यो मुस्कान भीमार्जुनका लागि पनि जिन्दगीकै सबैभन्दा ठूलो उपहार थियो । 

अप्रेसन गरेको पाँचौं दिनमा निर्मला डिस्चार्ज भइन् । छोरालाई अस्पतालमै छोडेर उनी रुँदै घर फर्किन् । रातभरि हुरी चल्थ्यो । चट्याङ पर्थ्याे । हरेक पटक चट्याङ पर्दा निर्मला छोरो सम्झिएर रुन्थिन् । उनलाई लाग्थ्यो, ‘यो चट्याङमा मेरो छोरो डरायो होला ।’ यतिबेला पनि भीमार्जुले निर्मलालाई सम्झाउन छाडेनन् । भन्थे, ‘तिमी नडराऊ । हाम्रो छोरो अस्पतालमा छ। केही हुँदैन ।’ निर्मला अहिले सम्झन्छिन्, ‘त्यो समय उहाँ पनि मसँगै रुन थाल्नु भएको भए म झन् कति कमजोर हुन्थे हुँला ।’ 

छोराको गृह प्रवेश

बसाइ बबरमहल । छोरो ओम अस्पतालमा थियो । भर्खर अप्रेसन गरेको आलो घाउ । त्यो समय चाबहिलको बाटो अहिलेको जस्तो राम्रो थिएन । निर्मला हरेक दिन छोरालाई हेर्न अस्पताल पुग्थिन् । केही घण्टा बस्थिन् र फर्कन्थिन् । छोरो छोडेर निर्मलाको शरीर मात्रै घर फर्किन्थ्यो । मन त अस्पताल वरिपरि दौडिरहेको हुन्थ्यो । आँखाले बिर्संदैनथे आफ्नो रुने धर्म । यो क्रम छोरा जन्मिएको ११ दिनसम्म चल्यो । 

११ दिनको दिन छोराको न्वारान गर्नुपर्ने थियो । तर छोरो अस्पतामा थियो । निर्मला बिहान १० बज्दानबज्दै अस्पताल पुगिन् । यसपटक भने डाक्टरले छोरा घर लैजान सुझाए । एकपटक फेरि निर्मलाका आँखा खुसीले रसाए । उनी छोरो लिएर घर फर्किन् । छोरालाई काखमा राखेर न्वारान कर्म गर्न पाइएला भन्ने त निर्मलाले सोचेकै थिइनन् । नसोचेकै भयो। त्यसपछि निर्मलाले छोरालाई अस्पताल छोडेर कहालीलाग्दा रात बिताउनु परेन । सुत्केरी भएको समय उनकी ठूली दिदी र सासु आमाले निक्कै ख्याल गरे बच्चाको स्याहार गर्न, आफ्नो ख्याल गर्न, बच्चालाई दूध चुसाउन सबै दिदी र सासुले सिकाए । निर्मला सम्झन्छिन्, ‘सुन्दा सामान्य लाग्ने यी कुरा निकै गम्भीर हुँदा रहेछन् ।’

बच्चासँगै हुर्किएको खुसी 

निर्मलाको जीवनमा सन्तान सुख ढिला आयो, तर पूर्ण रूपमा आयो । पाँच महिनापछि निर्मलाको दूध आएन । बच्चालाई ल्याक्टोजिन ख्वाउनु पर्‍याे । यो समय पनि भीमार्जुले निर्मलालाई निक्कै साथ दिए । दिनभरि व्यस्त रहने भीमार्जुन रातभरि छोरालाई ल्याक्टोजिन बनाएर आफैं खुवाउँथे । निर्मलालाई भन्थे, ‘तिमी थाकेकी छौ, सुत । राति म हेर्छु छोरालाई ।’

बिस्तारै छोरो हुर्कंदै गयो । निर्मलाका खुसी पनि छोरासँगै हुर्किए । छोरो जन्मनुअघि निर्मलाको सपना थियो लोकसेवाको परीक्षा दिएर सरकारी जागिर खाने । छोरो जन्मिएपछि निर्मलाको यो सपना पनि छायामा पर्‍याे । प्राथमिकतामा छोराको स्याहार पर्‍याे । सबै सपना छोरामा पुगेर मिसिए । उनले सबै कुरा छोडेर छोरासँग बसिन् । छोराले आफैं दूध चुसेको दिन लागेको थियो- जिन्दगीमा यति मीठो पल अर्को कुनै आउँदैन । तर आउँदो रहेछ । सबैभन्दा रमाइलो त उनलाई छोरो हुर्किँदै जाने क्रममा मिल्यो । उनी भन्छिन्, ‘सबैभन्दा रमाइलो छोराले बामे सर्दा, तोते बोल्दा, उसको दाँत निस्कँदा भयो । छोरो रमाइलोसँग हुर्काएँ ।’

छोरो हुर्कने क्रमको एक बिन्दुमा निर्मलालाई लागेको थियो ‘छोरालाई अर्को साथी चाहिन्छ।’ छोरो जन्मिएको पाँच वर्षपछि उनी पुनः गर्भवती भएकी पनि थिइन् । केही महिनामै यसपटक पनि बच्चा खेर गयो । त्यसपछि भीमार्जुनले भने, ‘तिम्रो स्वास्थ्यभन्दा ठूलो बच्चा होइन । एउटा छोरो छँदै छ । मलाई अर्को बच्चा चाहिँदैन ।’ 

छोरो स्कुल छोड्दा झरेका आँसु 

जन्मन गाह्रो । हुर्केको त पत्तै नहुने रहेछ । उनको छोरो पनि स्कुल जाने उमेरको भयो । छोरो तीन वर्षको भएपछि निर्मला र भीमार्जुनले उसलाई स्कुलमा भर्ना गरिदिए।पहिलो दिन छोरालाई स्कुल छोड्न उनीहरू दुवैजना गए । छोरालाई स्कुलको गेटमा छोडेर फर्किने बेला निर्मलालाई आफू रित्तो भएजस्तो भयो । हिजोसम्म एकैपल नछोडेको छोरो अब आफूबाट टाढा हुने क्रम सुरु भयो भन्ने लाग्यो । उनले पुलुक्क श्रीमानकाे अनुहार हेरिन् । भरिएका आँखा लिएर भीमार्जुन अर्कोतिर फर्किए । उनी रुँदैरुँदै घर फर्किन् । यो क्रम झण्डै एक महिना चल्यो । छोरो स्कुलमा रुन्थ्यो । घरमा आमा । ‘बानी पर्न समय लाग्दो रहेछ,’ निर्मलाले सुनाइन् । 

अब त निर्मलाको छोरो साथीजस्तै भैसक्यो । उनले आफ्नो भविष्यको खाका आफैं बनाउन थालिसकेका छन् । छोरा आफ्ना पिताबाट प्रभावित छन् । भन्छन्, ‘म पनि वकिल बन्ने हो ।’ छोराको सपना सुनेर भीमार्जुन मुसुक्क मुस्कुराउँछन् । निर्मलालाई निक्कै शक्तिशाली लाग्छ भीमार्जुनको त्यो मुस्कान । ‘सन्तानले दिने खुसी संसारकै सबैभन्दा सुन्दर हुने रहेछ,’ निर्मला भन्छिन् । 
 

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार ६:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया