‘अग्रजलाई सम्मान गर्नुस्, तर तिनले तोकिदिएका सीमा भत्काउनुस्’ : नयनराज पाण्डे
फरकधार / ९ साउन, २०७८
नयनराजकाे फेसबुकबाट

विगत तीन दशकदेखि नेपाली साहित्यको सेवा गर्दै आइरहेका नयनराज पाण्डे विशेष गरी उपन्यासकारको रूपमा चर्चित छन् । पाण्डेका ‘उलार’ र ‘लू’ निकै मन पराइएका उपन्यास हुन् । हालचालै उनको ‘जियरा’ नामक कथासंग्रह बजारमा आएको छ । साेही पुस्तकमा आधारित भइ नयनराजसँग फरकधारकर्मी राधिका अधिकारीले गरेकाे कुराकानी:



तपाईंको धेरै वर्षअघिको उपन्यास ‘अतिरिक्त’ मा केही प्रयोग गर्नु भयो । त्यसपछि प्रयोगवादी बनेर अहिले ‘जियरा’ कथासंग्रह आयो, प्रयोग गर्न किन यति ढिलो ?

मैले २०४४ सालमा ‘नांगो मान्छेको डायरी’ र ‘विक्रमादित्य एउटा कथा सुन’ नामक दुईवटा लघु आकारका उपन्यास लेखेको थिएँ । ती दुवैलाई समालोचकहरूले प्रयोगमूलक उपन्यास भन्ने गरेका छन् । २०५० सालमा साझा प्रकाशनबाट प्रकाशित ‘अतिरिक्त’ सम्म मेरो लेखनमा त्यो प्रवृत्ति कायम रहेको हुनुपर्छ । तर मैले कथावाचनमा केही फरक शिल्प त ‘लू’ र त्यसपछि प्रकाशित ‘घामकिरी’मा प्रयोग गरेको छु । म आख्यान लेख्दा प्रायः यथार्थको समाचारमूलक प्रस्तुति रुचाउन्नँ । मैले कथाहरूमा कथावाचनमा विविध खालका चलखेल गरिरहेकै हुन्छु । फुटकर लेखनमा वास्ता नहुने र संग्रहमै आउँदाचाहिँ चर्चा हुने परिपाटी भने नेपालमा अलिक बढी भएकै हो ।

जियरामाथि पाठकको कस्तोकस्तो प्रतिक्रिया आइरहेका छन् ?



सकारात्मक, रोचक र ऊर्जायुक्त प्रतिक्रियाले उत्साहित छु । 

पाठकमाझ तपाईंको परिचय ‘सामाजिक यथार्थवादी’ आख्यानकारका रुपमा छ, प्रयोगतिर लाग्दा डर लागेन ?

यथार्थकै धरातलमा टेकेर जुन-जुन किसिमको प्रयोग गर्न सकिन्छ, त्यही गरेको हुँ मैले । यो मैले पहिले पनि गरिरहेकै कुरा हो । मैले सधैं भन्ने गरेको छु- ‘लेखक जति पनि उड्न स्वतन्त्र छ । तर, उसले खुट्टाको बुढीऔंलाले भए पनि जमिनचाहिँ छोएकै हुनुपर्छ ।’ आफ्नो यही विचारको जगमा उभिएर म लेखनमा जे-जे गर्न सक्छु, गरिरहेको छु ।

सामाजिक यथार्थवादमा पनि बढी मात्रामा तपाईंको तराई-मधेसको पृष्ठभूमिका लेखिएका आख्यान पाठकले बढी मन पराएका छन् हैन ?

यो त पाठकसितै बुझ्नु पर्ने प्रश्न भयो । निःसन्देह मधेस मेरो ‘कन्फर्ट जोन’ हो । तर, लेखकले आफ्नो चारकिल्ला या चौहद्दी तोकेर बस्नु हुँदैन भन्ने मेरो मान्यता हो । आफ्नो सीमालाई भत्काउने आँट लेखकले नगरे कसले गर्ने ?

तपाईंले साहित्यिक पुरस्कार पनि थुप्रै पाउनु भयो । के फरक पार्छ पुरस्कारले एउटा लेखकको लेखनीमा ?

खै, पुरस्कारले मैले आफूभित्र तात्विक फरक आएको अनुभव गरेको छैन ।  पुरस्कार पाउने बित्तिक्कै मेरा लेखकीय अडान, धारणा र प्रतिवद्धताहरू फेरिने पनि हैनन्।

मदन पुरस्कारको भोक कत्तिको छ ?

पुरस्कारको भोक मभित्र कहिले पनि रहेन । पुरस्कारका लागि निवेदन कतै हालेको छैन । पुरस्कार नपाउँदा मलाई ज्वरो आउने गरेको छैन र मैले रुवावासी गर्ने पनि गरेको छैन । 

तपाईं अध्ययनशील पनि हुनु हुन्छ, कस्तो देख्नु हुन्छ अहिलेको नेपाली आख्यान ?

मैले आफ्नो ठाउँमा उभिएर हेर्दा र स्थिति राम्रो देख्छु । तर, कुरा मेरो हेराइको हैन । हामीले लेखिरहेको साहित्यको समुचित समालोचना खासै भइरहेजस्तो लाग्दैन । जिम्मेवार समालोचनाले मात्र हाम्रो लेखनको हैसियत बताउन सक्छ । 

नढाँटी तपाईंलाई मन पर्ने  नेपालका ६ जना आख्यानकारको नाम लिनोस् न ?

यो साह्रै रुटिन प्रश्न बनिसक्यो । अब साहित्यकारहरूसित गरिने विमर्शमा यस्ता प्रश्नका हाजिरीजवाफ टाइपको उत्तर माग्नु वा दिनुभन्दा पूर्ववर्ती वा समकालीन लेखक र तिनको साहित्यबारे बहस भएको राम्रो ।  

समकालीन लेखकमा कसको लेखनले तपाईंमा ईर्ष्या जगाउँछ ?

अहिले लेखेरै आफ्नो चिनारी बनाउनु भएकाहरू सबै ईर्ष्यालायक हुनुहुन्छ । किनभने, सूचना र समाचारले दिमाग खराब गरिरहेको यो समयमा सिर्जनाबाट आफ्नो परिचय निर्माण गर्नु डाहा गर्नै पर्ने कुरा हो । ती सबैलाई मैले अभिवादन गर्नै पर्छ ।

अनि विदेशी नि ?

इमान्दारीपूर्वक भन्छु, छिपछिपे अध्ययनको भरमा लेखकले फलाना फलाना विशिष्ट लाग्छन् भनेर आडम्बर देखाउनु हुन्न । त्यसैले यो प्रश्नको उत्तरमा म क्षमा माग्छु ।

नेपाली आख्यानमा लेख्नै पर्ने कुन विषय देख्नु हुन्छ ?

कति छन् कति । विगतको जनयुद्धका आयामहरु नै पनि हाम्रो साहित्यमा राम्ररी उद्घाटित हुन सकेको छैन भने सोच्नुस् हामीले आफ्नै वरिपरिकै कतिपय विषयहरूलाई अभिव्यक्त गर्न अझ्र कति असमर्थ रहेछौँ ?

तपाईं स्थापित लेखक भएका नाताले नयाँ पुस्तालाई के सल्लाह दिनु हुन्छ ?

सल्लाह सुन्नुस्, तर विवेक आफ्नो प्रयोग गर्नुस् । सल्लाहको अन्धानुकरणले लेखकलाई बलियो बन्न दिँदैन । अग्रजहरूको सम्मान गर्नुस्, तर तिनले तोकिदिएका चारकिल्ला या मानकहरू भत्काउनुस् ।

 

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १२:२:८,   अन्तिम अपडेट : साउन ९, २०७८ शनिबार १३:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया