पर्वतीय पर्यटन : नेपालमा साहसिक पर्यटकलाई आकर्षित गर्ने मुख्य आधार

साहसिक पर्यटकका लागि नेपाली पर्वतीय पर्यटन मुख्य केन्द्रबिन्दु हो । यहाँ जोखिम उठाएर हिमाल आरोहण तथा ट्रेकिङ यात्राका लागि पर्यटकहरू आउने गरेका छन् । पर्वतीय क्षेत्र अन्य विद्याका पर्यटन गन्तव्यभन्दा उच्च जोखिम भएका कारण उत्तिकै संवेदनशील पनि हुन्छ । 

नेपाल विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट ८,८४८.८६ मी) देखि आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमा रहेका छन् । यी हिमाल आरोहण र माउन्टेन फ्लाइटका लागि विदेशी पर्यटकहरू नेपाल घुम्न इच्छुक हुन्छन् । पर्वतीय पर्यटक नेपाल आउने मुख्य कारण हिमालको अध्ययन, अनुभव र आरोहणसँगै हेर्नका लागि आउने गरेको विभिन्न तथ्यांकले देखाउँछ । 

पर्यटन विभागका अनुसार कोरोनाअघि पर्वतीय पर्यटन क्षेत्रमा हरेक वर्ष दुई हजार पर्यटक आउने गरेका छन् । पर्वतीय पर्यटकका लागि तीन तहका गाइडहरू रहेका छन् । नेपाल पर्वतारोहण संघ(एनएमए)को तथ्यांक अनुसार अन्तर्राष्ट्रिय माउन्टेन गाइड मात्रै ८० जना रहेका छन् । एनएमएले ५,८५० देखि ६,५०० मिटर उचाइका पिकमध्ये २७ वटा हिमालहरूको व्यवस्थापन गर्दै आइरहेको छ ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सन् २०१९ मा २२ सयभन्दा धेरै हिमाल आरोहीहरू नेपाल आएको जानकारी दिइन् । कोरोनापछि पर्वतीय पर्यटन क्षेत्रमा संख्यात्मक रूपमा फेरबदल आएको आचार्यले बताइन् । उनका अनुसार कोरोनाकै बीचमा पनि ७ सय ५७ जनाले सगरमाथासहित अन्य हिमाल आरोहण गरेका छन् ।

सरकारले हालसम्म ४१४ वटा हिमाललाई आरोहणका लागि खुला गरेकाे छ । अझै ९२ वटा हिमाल भने आरोहणका लागि खुल्ला गरिएको छैन ।  
नेपाल हिमालै-हिमाल भएको मुलुक हो । हिमालय तथा पर्वतीय पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूले विभिन्न अभियान सञ्चालन गर्दै आइरहेका छन् । पर्वतीय क्षेत्रमा हिम पहिरो जस्ता विपत्तिका कारण हरेक वर्ष पर्यटक बेपत्ता हुने गरेका छन् । कोरोनाको दोस्रो लहरले अस्तव्यस्त भएको पर्वतीय पर्यटन पुरानै लयमा फर्काउन उत्तिकै कठिन छ । यद्यपि अहिलेसम्म पर्वतीय पर्यटन प्रवर्द्धनमा हुँदै आएका कार्यक्रमहरू : 

प्रशिक्षण तथा पर्वतारोहण अभियान



नेपालमा सन् १९७९ देखि पर्वतारोहणको दक्षता र विकास गर्ने हेतुले विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन भएको देखिन्छ ।  यसपछि नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरूले प्राथमिकता पाउँदै आएको छ । एनएमएका महासचिव कुल बहादुर गुरुङले अहिले आधारभूत पर्वतीय तालिमदेखि अन्तर्राष्ट्रिय तहका अल्पाइन क्लबहरूसँग हिमालको विषयमा बहस, छलफल, प्रशिक्षण हुने गरेको बताए ।
 
अन्तर्राष्ट्रिय तालिम विद्यालय 

नेपाल पर्वतारोहण संघले ओम हुवाङ गेल हुमन फाउन्डेसनको सहयोगमा मनाङको हुम्देमा अन्तर्राष्ट्रिय पर्वतीय तालिम विद्यालय निर्माण भइरहेको छ । एनएमएको जग्गामा पर्वतीय तालिम विद्यालय निर्माण गर्नका लागि विस्तृत परियोजनाअघि बढाइ सकेको महासचिव गुरुङको भनाइ छ ।



अन्नपूर्ण सञ्चार तथा प्रविधि उद्धार केन्द्र

कोरियन टेलिकमको सहयोगमा ओम होङ गेल हुमन फाउन्डेसनको समन्वयमा एनएमएले अन्नपूर्ण सञ्चार तथा प्रविधि उद्धार केन्द्र  निर्माण प्रक्रियाअघि बढाएको छ । यसले अन्नपूर्ण र अन्य पर्यटकीय क्षेत्रमा सुरक्षा प्रदान गर्न सहयोग पुर्‍याउने छ ।  नेपालका अन्य पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूका लागि सूचना प्रविधिको सहज पहुँचका साथ आपतकालीन उद्धारमा सुधार गर्ने छ । अन्नपूर्ण क्षेत्रमा ड्रोनबाट पर्यटकको निगरानीसँगै औषधीसमेत लैजाने प्रविधि कार्यान्वयनमा आउने एनएमएले जनाएको छ ।
 
अन्तर्राष्ट्रिय पर्वतीय दिवस 

विश्वभरका पर्वतीय मुलुकले अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरेका छन् । हरेक वर्ष अंग्रेजी पात्रो अनुसार ११ डिसेम्बरमा पर्वतीय दिवस मनाउने गरेका छन् । नेपालमा पनि अन्तर्राष्ट्रिय तहमा हिमालको विषयमा भएका कार्यक्रमहरूको विषयगत रूपमा सो दिवस मनाउने गरेका छन् ।
 
पर्वतीय फिल्म फेस्टिभल 

हिमालको कथा, जीवन, संस्कृति, अनुभव, आरोहण दुःख र सफलताको विषयमा निर्माण भएका चलचित्र काठमाडौंमा देखाउने परम्परा रहेको छ । इन्टर नेसनल माउन्टेन फिल्म फेस्टिभलमा यस्ता चलचित्र र वृत्तचित्र प्रदर्शनले नेपालको पर्यटकीय गतिविधिको प्रवर्द्धन गर्ने छ । साथै सो अवसरमा विश्व प्रसिद्ध तथा रेकर्ड होल्डर पर्वतारोही पुरस्कार र एडमन्ड हिलारी लिगेसी पुरस्कारसमेत प्रदान गर्ने गरेका छन् । 

पर्वतीय तालिम

नेपालको हिमालय क्षेत्रको प्रवर्द्धन र उच्च हिमालय जीवनका लागि उच्च पर्वतीय तालिम, पर्वतीय उद्धार तालिम, माउन्टेन लिडर कम्पोनेन्टजस्ता तालिम हुँदै आइरहेको छ । यी तालिमको व्यवस्थापन नेपाल पर्वतारोहण संघले गर्दै आइरहेको छ । माउन्टेन लिडर कम्पोनेन्ट तालिम सोलुखुम्बु जिल्लाको पिके क्षेत्रमा हुँदै आएको छ । 

रेक्को तालिम 

रेक्को तालिम विशेषगरी टेक्नोलोजी प्रशिक्षण हो । यो तालिम काठमाडौंको गोकर्ण वनमा हुँदै आएको छ । 

आइस क्लाइम्बिङ फेस्टिभल 

नेपालको हिमालय क्षेत्रकाे आइसमा रमाउन र आइसमा आरोहण गर्नका लागि समेत पर्यटक आउने गरेको पर्यटन विभागले जनाएको छ । यो साहसिक पर्यटनका लागि मनाङको हुम्देमा प्रत्येक वर्ष आइस क्लाइम्बिङ फेस्टिभल हुने गरेको छ । सो फेस्टिभलमा विदेशीहरू सहभागी हुँदै आइरहेका छन् । विशेषगरी अन्तर्राष्ट्रिय गाइडहरू, अल्पाइन स्की प्रक्षिशक, डाक्टर, फोटोग्राफर, नेपाल क्लाइम्बिङ टिमका सदस्यहरूले फेस्टिभलमा सहभागी हुने गरेका छन् ।

 पार्क योङ सियोक क्लाइम्बिङ 

नेपाल पर्वतारोहण संघले पार्क योङ सियोक प्रतिष्ठानको सहयोगमा पार्क योङ सियोक क्लाइम्बिङ प्रतियोगिता आयोजना गर्ने गरेका छन् । नेपालका युवाहरूमाझ साहसिक खेल प्रवर्द्धन गर्ने यो मुख्य कार्यक्रम रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । यस प्रतियोगिताले युवा खेलाडी, व्यावसायिक खेलाडी र नव पर्वतारोहीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
 
विश्वशान्ति पूजा 

हरेक वर्ष हिमालय क्षेत्रमा भएको दुर्घटनालाई भावपूर्ण श्रद्धाञ्जलिसहित अप्रिय घटना हुन नदिनका लागि पोखरामा विश्व शान्ति पूजा हुने गरेको छ । पर्वतारोहण संघकै नेतृत्वमा विदेशी आरोही तथा अतिथिहरूको सहभागितामा शान्ति पूजा हुन्छ । यहाँ प्रसिद्ध रिम्पोछे तथा गुरुहरूले पूजा पाठ गर्नुको साथ विश्व शान्तिका लागि कामना समेत गर्ने गरेका छन् ।
 
पर्वतीय पर्यटनको विगत, वर्तमान र इतिहास स्मरण गर्नका लागि स्थापित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको समेत स्थापना दिवस मनाउने गरेका छन् ।  

अन्तर्राष्ट्रिय सगरमाथा दिवस
२९ मे मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आइएकाे छ । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा सगरमाथा आरोहण गरेका थिए । सो दिनको सम्झनामा पर्वतीय मुलुकमा यो दिवस मनाउने मनाइने गरिन्छ । याे दिवसले इतिहास बाेकेकाे छ ।

माउन्टेन्ड लिडर कोर्ष 

इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनरिङ फाउन्डेसन (युआइएए) र युनियन अफ एसियन अल्पाइन एसाेसिएसन (युएएए)को वार्षिक सम्मेलनहरूमा नेपालको तर्फबाट सहभागी हुन पाउने अवसर पनि पर्वतीय पर्यटनको अर्को गतिविधि हो । 
 

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १३:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया