परिवारलाई थाहै नदिई विश्व कीर्तिमान बनाएका मुकेश

मान्छेका आ-आफ्नै सपना हुन्छन्। कसैका सपना पूरा हुन्छन् कसैका हुँदैनन्। तर निरन्तर प्रयास गरे सपना एकदिन अवश्य पूरा हुन्छन् भन्ने मान्यता छ। बझाङका २४ वर्षीय मुकेश जोशी कडा मेहनतपछि आफ्नो सपना सकार बनाउन सफल भएका छन्। 

बझाङ जयपृथ्वी नगरपालिका-८ जोशीगाउँका मुकेशले कलिलो उमेरमा विश्व कीर्तिमान बनाउँदै गिनिज बुकमा नाम लेखाएका छन्।  उनले लामो समयसम्म लगातार पढेर गिनिज बुकमा नाम लेखाएका हुन्। उनले लगातार १२५ घण्टा पढेर यो कीर्तिमान बनाएका हुन्। 

काठमाडौंको न्यू प्लाजास्थित नेम इनिस्चुटमा उनले लगातार पढेर १२५ घण्टा पूरा गरेका थिए। गिनिज इभेन्ट्स नेपालको आयोजनामा जोशीले विभिन्न दर्शन, इतिहास, संविधान तथा त्यहाँ उपलब्ध पुस्तकहरू पढेका थिए। उनले २०७७ कार्तिकमा गिनिज बुकमा नाम लेखाएका हुन्। सानै देखि पढ्न रुचाउने उनी पढाइमा नै केही नयाँ गर्ने सोचमा थिए।  

‘सानैदेखि किताबहरु पढ्न धेरै मन पर्थ्यो’ मुकेश भन्छन्, ‘त्यही रुचीले गर्दा नै यो विद्यामा रेकर्ड राख्न सफल भएको हुँ’ उनले भने। आफ्नो अभियान सफल भएकोमा उनी निकै खुसी छन्।

यो आफ्ना लागि मात्रै नभएर देशमा लागि पनि उपलब्धी भएको उनको भनाइ छ। ‘यसमा म उत्साहित छु। नेपाललाई विश्वसामु चिनाउन सफल भएको छु’ मुकेश भन्छन्, ‘मेरा लागि मात्र होइन, देशका लागि पनि गौरवको हो।’



विपन्न परिवारमा जन्मिएका मुकेशले गाउँकै जालपा माध्यमिक विद्यालयबाट पढेका थिए। त्यहाँबाट एसएलसी पास गरेपछि स्थानीय सत्यवादी स्कुलबाट भर्ना भए। प्लस टु गरेपछि जयपृथ्वी क्याम्पसमा स्नातक पढ्नका लागि भर्ना भएका थिए। 

उनलाई विश्व कीर्तिमानी बनाएर गिनिजबुकमा नाम लेखाउन भने काठमाडौं मोडेल कलेजले गरेको मुकेशले सुनाए। 



आफू के गरिरहेको छु भन्ने कुरा उनले परिवारमा पनि जानकारी दिएका थिएनन्। कार्यक्रम गर्नका लागि खर्चको जोहो भएपछि मात्रै परिवारले थाहा भएको मुकेश बताउँछन्। 

गिनिज बुकमा नाम लेखाउन अवस्थासम्म पुग्दा उनको १४ लाख खर्च भयो। विभिन्न कलेज र स्थानीय सरकारको सहयोग पाएकाले आफ्नो सपना पूरा भएको मुकेश सुनाउँछन्। 

‘खर्च १४ लाख लागेको हो। विभिन्न कलेजहरू र स्थानीय सरकारको साथ, सहयोगले मात्र सफल भएको हुँ’, उनले भने। 

आफूलाई विश्व कीर्तिमान बनाउन सहयोग गर्ने सबैप्रति मुकेशले आभार प्रकट गरे।

जागिरसँगै र पढाइ 

स्नातक पढ्न सुरु गर्दा उनले सरकारी जागिर खाने सपना बुनेका थिए। जिल्लामा बसेर त्यो सपना पूरा हुने देखेनन् उनले।

लोक सेवाको तयारी गर्न भन्दै काकाको साथ लागेर २०७१ सालमा काठमाडौं पुगे। काठमाडौं बसेर पढ्ने योजना भएपछि घरबाट खर्च दिने अवस्था थिएन। खोज्दै जाँदा उनले क्यासिनोमा काम पाए। त्यसपछि क्यासिनोको जागिर र पढाइ सँगसँगै अघि बढाए मुकेशले। 

उनी पढाइमा अब्बल नै थिए। पत्र-पत्रिका पढ्न पनि उत्तिकै रुची राख्थे। पत्रिका पढ्ने क्रममा उनले नाइजेरियाका एक जनाले धेरै समय पढेर विश्व कीर्तिमान राखेको समाचार देखे। त्यसपछि उनको मनमा हुटहुटी चल्यो।

नेपालीले पनि त्यसो गर्नका लागि कहाँ आवेदन दिनुपर्छ होला ? यसको खोजीमा  थिए उनी नभन्दै काठमाडौंमा यही खालको कार्यक्रम हुने जानकारी पत्रिकामार्फत नै थाहा पाए।  मुकेश निकै हौसिए अनि तुरुन्तै आवेदन पनि दिए। त्यही कार्यक्रममा भाग लिएर उनी सफल बनेका हुन्। 

सम्मान तथा पुरस्कार

यसरी पढेर विश्व कीर्तिमान राखेका जोशीले विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन्।  भर्खरै मात्र उनलाई सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले सम्मान गरेको थियो। नगद ३५ हजार सहित कदर पत्र उनले पाए। बझाङको जयपृथ्वी र बुंगल नगरपालिकाले पनि उनलाई नगद सहितको पुरस्कार दिएका छन्।  

अर्को कीर्तिमानी राख्ने लक्ष्य

मुकेशले पढ्ने विधामै अर्को विश्व कीर्तिमानी राख्ने लक्ष्य लिएका छन्। लामो समय लगातार पढेर गिनिज बुकमा नाम लेखाउन सफल भएको छु’, उनले भने ‘अझ पढ्ने टपिकमा अर्को कीर्तिमानी राख्ने लक्ष्य छ।

त्यो कस्तो हो त ? मुकेश सुनाउँछन्-‘जस्तो विश्वका सबै एक ठाउँमा राखेर छोटो समयमा धेरै वाक्य भन्न सक्ने, याद गर्नसक्ने हुनसक्छ।’ कोरोनाका कारण कुनै पनि गतिविधि नहुँदा कार्यक्रमहरु प्रभावित भएको उनले बताए। 

सरकारी जागिरको सपना यथावत

सरकारी जागिर खाने सपना बोकेर काठमाडौं पुगेका मुकेशलाई त्यो सपनाले अझै पछ्याइरहेको छ। समयले अर्कै बाटोमा डोर्याए पनि सरकारी जागिर खाएरै छाड्ने उनको अठोट छ।

‘बाबु आमाको पनि छोराले सरकारी जागिर खाए राम्रो हुन्थ्यो भन्ने चाहना छ’ मुकेश भन्छन्, ‘मेरो पनि सरकारी जागिर खाने पहिले देखिको लक्ष्य हो। त्यही अनुसार अघि बढेको छु।’ 

परिवारबाहेक शिक्षक, अन्य साथीले पनि आफ्नो योजना, सपनामा साथ दिइरहेको मुकेश बताउँछन्।

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १४:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया