प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस महामारीको तेस्रो लहर आउन सक्ने तर देशमा स्वास्थ्यमन्त्री नहुँदा स्वास्थ्य मन्त्रालयका काममा समस्या परेको भन्दै स्वास्थ्यमन्त्री सोमबारभित्र नियुक्त गर्ने तयारी गरेका छन् ।
शनिबार विहान सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाट पछि उनले साँझ बालुवाटारमा सत्ता साझेदार ५ दलीय गठबन्धनका नेताहरुको बैठक बोलाएका थिए ।
यो बैठकमा पनि प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् विस्तारलाई प्राथमिकतामा राखेका थिए । पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि अन्य मन्त्रालयमा सहमति नभएमा स्वास्थ्य मन्त्रालयमा मन्त्रीको टुंगो लगाउने तयारीमा देउवा पुगेका छन् ।
स्रोतका अनुसार देउवाले जनसंख्या तथा स्वास्थ्य मन्त्रालयलाई कांग्रेसको भागमा राखेका छन् । त्यसैले स्वास्थ्यमा कांग्रेसकै एक सांसद मन्त्री बन्ने निश्चित जस्तै रहेको छ । तर, स्वास्थ्यको जिम्मेवारी कसले पाउने छन् भन्ने अहिलेसम्म टुंगिएको छैन ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकाले गगन थापालाई स्वास्थ्य मन्त्री बनाउनु पर्छ भन्ने केही नेताको तर्कलाई देउवाले अस्वीकार गरिसकेका छन् । उनले थापाभन्दा अनुभवी व्यक्तिलाई स्वास्थ्यको जिम्मेवारी दिने तयारी गरेका छन् ।
शनिबार भएको सत्ता साझेदार गठबन्धनको बैठकमा मन्त्रालयको बाँडफाँडबारे पनि छलफल भएको थियो । तर, अहिलेसम्म कसलाई कुन र कति मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।