सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपाल, के उनी पनि सहभागी हुँदैछन् सरकारमा ?

शनिबार साँझ बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् । उनी सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भएपछि यसलाई राजनीतिक वृत्तमा नयाँ तरंगका रुपमा लिइएको छ । 

यसअघि २८ असारमा सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि नेपालनिवासमा भएको बैठकमा नेपालले आफू गठबन्धनमा अब नरहने बताएका थिए ।

तर, पछिल्ला दिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढ्दै गएपछि नेपालले फेरि आक्रामक अभिव्यक्ति दिएका छन् । साथै उनी आजको बैठकमा सहभागी भए पछि उनी पक्षधर पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढी रहेको बताइएको छ ।

३ साउनमा प्रतिनिधिसभामा देउवालाई विश्वासको मत दिएका माधव नेपाल पक्षधर सांसदले पनि नेपाललाई सरकारमा सामेल हुन सुझाव दिएको अनुमान बाहिर आएका छन् । 

शनिबार विहान मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई उनकै निवासमा भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेका थिए । नेपालसँगको भेट लगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । देउवा र प्रचण्डको यही भेट पछि आज साँझका लागि गठबन्धनको बैठक बोलाइएको हो ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार २१:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया