जापानको राजधानी टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा इटाली र जापान एक–एक स्वर्ण तथा दुई–दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यसैगरी, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्ड एक–एक स्वर्ण जित्दै पदक तालिकाको चौथो स्थानमा छन् । यस्तै, सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरल्याण्डस्, रोमानिया, चाइनिज ताइपेई र टयुनिसिया एक–एक रजत पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म २८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये शनिबार सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित भएका छन् ।
सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरिन् । उनले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६१४ दशमलव ५ अङ्कको कीर्तिमान थियो ।
यस्तै, जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरिन् । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।