निर्मला हत्याकाण्डका तीन वर्षः पाइनन् निर्मलाले न्याय !
प्रधानमन्त्री देउवाले न्याय दिलाउँछन् भन्ने विश्वास छ निर्मलाकी आमालाई

तीन वर्षअघि आजकै दिन । साथीको घरमा पढ्न गएकी निर्मला पन्त घरमा फर्किइनन् । आमाले उनको खोजी गरिन् । २०७५ साल १० साउनमा साथीको घरबाट बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट घरनजिकैको उखुबारीमा भेटियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा नै पत्ता लगायो, निर्मलाको बलात्कारपछि हत्या भएको हो ।

तर, उनको हत्या कसले गर्यो ?

तीन वर्ष अर्थात् १ हजार ९५ दिन बितिसक्दा पनि अहिलेसम्म यसको उत्तर कसैसँग छैन । प्रहरीसँग पनि छैन । प्रहरीसँग छ त केवल यो समयमा उसले पक्राउ गरेका केही व्यक्तिहरुको नामको सूची छ, जसलाई उसले पक्राउ गरेको थियो । अनि उनीहरु दोषी नभएको भन्दै छोडेको थियो ।

एक सयभन्दा बढीलाई केरकार गरेको प्रहरीले पक्राउ गरेकाहरुलाई छोड्दै जानु पर्ने बाध्यता देखियो । घटनाको २४ औं दिनमा अर्थात् ४ भदौ २०७५ मा प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई मुख्य दोषी ठहर पनि गरेको थियो । उनलाई मुख्य अभियुक्तका प्रहरीले सार्वजनिक पनि गर्यो । तर, कन्चनपुरवासी विष्टलाई अभियुक्त मान्न तयार भएनन् । उनीहरुले आन्दोलन सुरु गरे ।

यो आन्दोलन कतिसम्म चर्कियो भने आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका १८ का १४ वर्षीय किशोर सन्नी खुनाले निर्मलाको न्यायका लागि आफ्नो ज्यान नै गुमाए । प्रदर्शन उग्र बन्दै जाँदा प्रहरीले बल प्रयोग गरिरह्यो । १२ जनाभन्दा बढी घाइते भए । प्रहरीले डिएनए परीक्षणमा घटनामा विष्टको संलग्नता भएको पुष्टि नभएको भन्दै उनलाई रिहा गर्यो ।



डिएनए परीक्षण त अरुको पनि गरियो । तर, प्रहरीले निर्मला पन्तका हत्यारासम्म पुग्न सकेन ।

घटनापछि समाजसेवी, राजनीतिक दलका नेताहरु, अधिकारकर्मीहरुको ठूलो भीड कन्चनपुरसम्म नपुगेको पनि होइन, निर्मलाकी आमा र परिवारलाई आफूहरुले न्याय दिलाउने नबताएका पनि होइनन् । तर, अहिलेसम्म निर्मलाका हत्यारा फेला परेका छैनन्, निर्मलाले न्याय पाएकी छैनन् ।



यसबीचमा कन्चनपुरमा पाँच जना प्रहरी उपरीक्षक (एसपी) र सात जना प्रमुख जिल्ला अधिकारी पनि फेरिए । सबैले कार्यभार सम्हाल्ने दिनमा निर्मलाका हत्यारालाई आफूहरुले कारवाही गर्ने बताएका पनि छन् । तर, यी सबै आश्वासनमा मात्र केन्द्रित भएका छन् ।

 

अब परिवारले नै आशा मारिसक्यो– न्याय पाइँदैन

निर्मलाकी आमा दुर्गादेवी पन्त छोरीको हत्या भएपछि जुन हालतमा पुगेकी थिइन्, उनलाई तत्कालिन समयमा दिइएका केही आश्वासनले सहज बनाइदिएका थिए ।

तर, अब त उनले पनि आश मारिसकेकी छिन् ।

‘मेरी छोरीको हत्या भएको तीन वर्ष पुगिसकेको छ,’ फरकधारसँग कुरा गर्दै दुर्गादेवीले भनेकी छिन्, ‘अझै न्याय पाउन सकेको छैन । न्यायका लागि हामी यति लाग्यौँ, तर खै प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन ।’

अनुसन्धानमा संलग्न प्रहरीमाथि पन्तले बरु बारम्बार प्रश्न उठाउँदै आएकी छिन् । यसपटक फरकधारको प्रश्नमा पनि उनले अनुसन्धानमा संलग्न प्रहरीमाथि प्रश्न उठाएकी छिन् ।

‘प्रहरीहरु आउँछन्, त्यति बेलाका सबै कुराहरु सोध्छन्,’ उनी भन्छिन्, ‘हामी पनि भन्छौँ । तर, अब त जवाफ दिँदादिँदा थाकिसक्यौँ ।’ 

आफूले सधैं एउटै प्रश्न सुन्नु परेको तर छोरीका हत्यारा अहिलेसम्म पक्राउ नपरेकाले आफू सधैं समस्यामा परिरहेको दुर्गादेवी बताउँछिन् ।

‘न्यायका लागि हामीले आवाज उठायौँ, हामीसँग भएका र हामीलाई थाहा भएका सबै कुरा भनिरहेका छौँ,’ उनले भनिनन्, ‘अब न्याय पाइँदैन भन्ने आभासले होला, प्रश्न सुन्दा पनि नरमाइलो मात्र लाग्छ ।’

दुर्गादेवी पन्त अहिले जागिरे भएकी छिन् । उनले घरनजिकैको स्वास्थ्य चौकीमा काम गर्न थालेकी छिन् । तर, यही कुरा अब उनको समाजलाई प्रश्नका रुपमा निकाल्न सहज भएको छ ।

‘अब त समाजले प्रश्न गर्न थालिसकेको छ,’ दुर्गाले फरकधारलाई भनिन्, ‘छोरी गुमाएर तैलें राहत पाइस्, यो समाजले के पायो त भन्ने प्रश्न अहिले मैले सुन्नुपरेको छ ।’

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा एक युवाले ज्यान गुमाए, अरु घाइते भए । निर्मलालाई त गुमाइन्, दुर्गाले अन्य दुई छोरीको भविष्य पनि बेहाल भएको हेर्न चाहिनन् ।

‘मैले अरु दुई छोरीको भविष्यबारे पनि सोचेँ,’ उनले भनिन्, ‘तर, राहत बुझेकाले मात्रै पनि अहिले ममाथि प्रश्न बढी उठ्न थाले, समाजका अनेक कुरा अहिलेसम्म मैले सुन्नु परेको छ ।’

यसको अर्थ के होइन भने निर्मलाका लागि न्याय अब चाहिँदैन भनेकी छैनन् दुर्गाले ।

तर, अनुसन्धानका लागि पुग्ने सबै प्रहरीको एउटै प्रश्न हुन्छ– निर्मलाका कोही केटा साथी त थिएनन् ?

‘यही प्रश्न सुन्दा सुन्दा अहिले त म हैरान भइसकेकी छु,’ निर्मलाकी आमाले भनिन्, ‘१३ वर्षकी मेरी छोरीको को केटा साथी हुनु, अनि एउटै कुरा कतिपटक भन्नु ?’

 

प्रधानमन्त्री देउवासँग आशा छ दुर्गालाई

देशले नयाँ राजनीतिक मोडमा अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा पाएको छ । सुदूरपश्चिमको जिल्ला डडेल्धुराका देउवामाथि दुर्गाको पनि आशा छ ।

दुर्गाको पहाड घर पनि डडेल्धुरा । ‘अब त आफ्नै गाउँका व्यक्ति प्रधानमन्त्री भएका छन्,’ दुर्गाले भनिन्, ‘उहाँकी छोरीजस्तै हो मेरी निर्मला, उसले न्याय पाउने नपाउने अब उहाँकै जिम्मा ।’

यो आशा किन पनि पलाएको हो भने दुर्गालाई भेट्न प्रधानमन्त्री देउवा उनकै घरमा समेत पुगेका थिए । ‘यो जघन्य अपराध हो,’ दुर्गाले देउवाले आफूलाई दिएको वचन सम्झिइन्, ‘यस्तो अपराध गर्नेलाई छाड्ने कुरै हुँदैन । दोषीलाई कानुनी दायरामा ल्याइनेछ ।’

०७५ साल फागुनको कुरा हो यो । निर्मलाको हत्या भएको सात महिना भइसकेको थियो । देउवा उल्टाखामस्थित दुर्गाकै घरमा पुगेका थिए । अनि भनेका थिए, ‘नेपाली कांग्रेसले सुरुवातदेखि नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न दबाब दिँदै आइरहेको छ, हत्यारा पत्ता लाग्नेमा ढुक्क हुनुस् ।’

अब देउवा प्रधानमन्त्री भएका छन्, दुर्गाका आँखा काठमाडौंतिर सोझिएका छन् । उनलाई विश्वास र आशा, भरोसा र आड छ, प्रधानमन्त्री देउवाले उनकी छोरीलाई ढिलै भए पनि न्याय दिनेछन् ।

 

निर्मलाको हत्या भएको बाटो हिँड्न सक्दिनन् दुर्गा

निर्मला पन्तको शव भेटिएको उखुबारी निर्मलाको घरदेखि महेन्द्रनगर बजार जाने प्रमुख बाटोको छेउमै पर्छ । 

निर्मलाको हत्या भएको ठाउँमा अहिले उखुबारी छैन, धानखेत छ । निर्मलाको हत्या भएकोले यो बाटो अहिले त्यहाँका चेलीबेटीका लागि सबैभन्दा डरलाग्दो बाटो भएको छ ।

‘म विद्यालय आउने जाने बाटो त्यही हो,’ निर्मलाकी दिदीले फरकधारलाई भनिन्, ‘बहिनीको हत्या भएको त्यो बाटो अहिले पनि एक्लै हिँडडूल गर्न सक्दिनँ ।’

निर्मलाकी आमा पनि एक्लै हिँड्न सक्दिनन् यो बाटो, झसक्क हुन्छ उनको मुटु ।

 

के गर्दैछ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले निर्मला हत्या प्रकरणमा १५÷१६ जना प्रहरीको विशेष टोली अहिले पनि सक्रिय रहेको बताए ।

‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धान ब्युरोको संयुक्त टोलीे निर्मला हत्याको घटना अनुसन्धानमा दिनरात खटिरहेकोे छ,’ उनले भने, ‘घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धान कहाँ पुग्यो, कती प्रगति भएको छ भनेर अहिले नै भन्न मिल्दैन । तर, अनुसन्धान जारी छ ।’ 

‘अपराध अनुसन्धानमा भौतिक निर्माणमा हुने प्रगति जस्तो ५० प्रतिशत, ८० प्रतिशत, सय प्रतिशत काम सम्पन्न भयो भन्ने जस्तो हुँदैन,’ डिएसपी न्यौपानेले भने, ‘भौतिक निर्माणमा त निश्चित प्रतिशत प्रगति भयो भन्न सकिन्छ । तर, अपराध अनुसन्धानमा दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्दा शतप्रतिशत प्रगति देखिन्छ । त्यो अगाडिसम्म प्रगति शून्य नै भनिन्छ ।’ 

प्रहरीले निर्मला हत्याको एकदमै सिरियस भएर अनुसन्धान गरिहेको डिएसपी न्यौपानेको दावी छ । ‘प्रहरीले निर्मला केसलाई धेरै नै सिरियस रूपमा अनुसन्धान गरिहरको छ,’ डिएसपी न्यौपानेले भने, ‘निर्मलाको हत्यारा उम्कन भने पाउँदैन; ढिलो चाँडो पत्ता लाग्छ ।’

  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ११:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया