कहिले उठ्ला विमानस्थलको २ अर्ब २९ करोड बक्यौता रकम ?
एयर एसिया एक्सको मात्रै १८ करोड ७४ लाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टिआइए)कार्यालयले उठाउनु पर्ने दुई अर्ब भन्दा धेरै बक्यौता रकम उठाउन सकेको छैन । विभिन्न एयरलाइन्सले विमानस्थल प्रयोग गरेबापतको रकम तथा व्यापारिक प्रयोजनका लागि भाडामा दिएको स्थानको रकम विमानस्थलले उठाउन नसकेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले संघ, संस्थालाई भाडामा प्रयोग गर्न दिएको ठाउँको बक्यौता रकम नउठेको हो । गत आर्थिक वर्ष २०७७/७८ सम्म विमानस्थलले विभिन्न एयरलाइन्स र व्यापारीबाट उठाउनु पर्ने २ अर्ब २९ करोड ५४ हजार ७९ रुपैयाँ उठ्न बाँकी रहेको प्राधिकरणको तथ्यांकमा छ। 

किन भुक्तानी लिन सकेन?

बक्यौता रकम उठाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रयास नै नगरेको भने होइन । पटक–पटक सार्वजनिक सूचना प्रकाशन गरी बक्यौता रकम तिर्न अनुरोध गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। विमानस्थलको बक्यौता रकममध्ये एक अर्ब रुपैयाँ सरकारी पैसा नै रहेको प्रवक्ता क्षेत्रीको भनाइ छ। 

उक्त रकम भन्सार विभाग र नेपाल वायुसेवा निगमबाट उठ्न बाँकी रहेको क्षेत्रीले जानकारी दिए। ‘भन्सार विभागको ५६ करोडभन्दा माथि छ । त्यो सरकारी पैसा हो,’ प्रवक्ता क्षेत्रीले भने, ‘अर्को बाँकी बक्यौता वायुसेवा निगमको हो । त्यो रकम पनि सरकारकै भएकाले धेरै बक्यौता देखिएको हो।’ 

व्यापारिक प्रयोजनका लागि विभिन्न संस्थालाई भाडामा प्रयोग गर्न दिइएको स्थानको बक्यौता रकम छिटै लिने प्रक्रियामा रहेको क्षेत्रीको दावी छ । बक्यौता रहेका अधिकांश एयरलाइन्सले किस्ताबन्दीमा समयावधि तोकेर रकम बुझाइरहेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए।



जहाज ग्राउण्डेड बक्यौता

विमानस्थल प्रयोग गरेवापत तिर्नुपर्ने रकम थुप्रै एयरलाइन्सहरूले तिरेका छैनन् । यसमा राष्ट्रिय र अन्तराष्ट्रिय दुवै एयरलाइन्सहरू छन् ।



एयर एसिया, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स, यति एयरलाइन्स लगायत थुप्रैको रकम बक्यौता छ। यी एयरलाइन्सहरूलाई बारम्बार ताकेता गर्दा पनि प्राधिकरणले बक्यौता रकम उठाउन सकेको छैन। 

बक्यौता उठाउन बाँकी अन्तर्राष्ट्रिय एयरलायन्स 

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणलाई १८ करोड ७४ लाख २१ हजार ४५७ रुपैयाँ तिर्न बाँकी छ । लामो समयदेखि करोडौँ बक्यौता तिर्न नसकेपछि अहिले एयर एसिया एक्स नेपालमा बन्द रहेको क्यानले जनाएको छ। 

क्यानले एयर एसियालाई पटक–पटक बक्यौता तिर्न पत्राचार गरेको थियो । एयर एसियाले उडान सहित बाँकी बक्यौता तिर्छु भनिरहेको प्राधिकरणका प्रवक्ता क्षेत्री बताउँछन् ।  ‘म विमानस्थलको महाप्रबन्धक हुँदा पनि पटक–पटक पत्राचार गरिएको थियो । अहिले विगतको तुलनामा कम छ । जसरी हुन्छ बक्यौता उठाउँछौँ ’ उनी सुनाउँछन् ।   

एयर एसियाको मात्रै नभएर विभिन्न मुलुकका एयर कम्पनीको पनि बक्यौता रकम रहेको प्रवक्ताक्षेत्रीले जानकारी दिए। 
एयर इंडिया एडिएफको ३ करोड ७१ लाख ५ हजार ४०१, कस्मिक एयरको ३ करोड ३३ लाख १२ हजार ९०६, हिमालयन एयरलायन्सले २ करोड २६ लाख १८ हजार ५९५ रकम बक्योता रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

त्यसैगरी कतार एयरवेजको २ करोड ८८ लाख २७ हजार ४१९, टर्किस एयरलायन्सको १ करोड ५५ लाख ५ हजार ९७७ , सिचुवान एयरलायन्सको १ करोड ३९ लाख ८२ हजार ९६१ बक्यौता रकम बाँकी छ। 

यस्तै, एयर अरबियाको २५ लाख ७५ हजार ६९३ तिर्न बाँकी छ । एयर अरेबिया अबुधाबी ९५ हजार ४२४, एयर चाइनाको १८ लाख ७५ हजार ८४० को बक्यौता उठ्न सकेको छैन। 

बहराइन एयरको २४ लाख ६३ हजार  ३७१,  बिबी एयरवेजको २२ लाख ८२ हजार ५७७, अष्ट्रेलियन एयरवेजको ४३ हजार ६००, विमान बंगलादेश एयरलायन्सको २३ लाख ६२ हजार ४१७ रुपैयाँ बक्यौता रहेको छ ।  

प्राधिकरणको विवरण अनुसार चाइना स्टर्न एयरलायन्सको ६६ लाख ७३ हजार ६६३, चाइना साउथटर्नको ५७ लाख १ हजार ६१०, ड्राइगन एयरको ६९ लाख १६ हजार ६५१ उठ्न बाँकी छ ।

सलाम एयरको बक्यौता ५८ लाख ७३ हजार ७३७ रहेको छ । मालिन्दो एयरको ४४ लाख २८ हजार ५०६, ओमान एयरको २७ लाख ५४ हजार ७२७, पाकिस्तान एयरलायन्सको २६ लाख ८४ हजार २३८, रक एयरवेजको १९ लाख ७३ हजार ४१९, मलेसिया एयरलायन्सको १३ लाख ५८ हजार ३९५, लुफाथान्सा एयरको रु १० लाख ६३ हजार ६४४ रहेको छ। 

युनाइटेड एयरवेज १० लाख ११ हजार ३०५ र कोरियन एयरको २६ हजार ८७८ रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ। आन्तरिक हवाई कम्पनीको साढे १४ करोड बक्यौता नेपालमा हाल बन्द भएका र सञ्चालनमै रहेका विभिन्न १८ एयरलाइन्स कम्पनीको बक्यौता रकम छ ।

नेपाली एयरलाइन्सको बक्यौता

गत आर्थिक वर्षको असार मसान्तसम्म बुझाउनु पर्ने १४ करोड ६३ लाख ४९ हजार १९७ रुपैयाँ नेपालका विमान कम्पनीबाट उठाउन बाँकी छ। 

बक्यौता रकम नबुझाउनेमा नेकोन एयर पहिलो नम्बरमा छ । प्राधिकरणका अनुसार नेकोन एयरले ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ तिर्न बाँकी रहेको छ । नेकोन एयरका सञ्चालकमा ९ जनाको नाम छ। 

जसमा दिपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्द भक्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नगेन्द्र जोशी, भरतराज उप्रेती, कृष्ण श्रेष्ठ र गोपाल सुन्दर कक्षपती रहेका छन्। 

यसैगरी शिवानी एयरका मणिन्द्र लाल रंजितकारले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ । अल्पाइन एयरले ७२ हजार ७२८ रुपैयाँ बक्यौता तिर्न बाँकी  छ । यसका सञ्चालक प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल, महेश्वर भक्त श्रेष्ठ छन्।  

गोरखा एयरले २० लाख ३५ हजार २९ रुपैयाँ रहेको छ । सो एयरका सञ्चालक प्रज्वल श्रेष्ठ र उज्ज्वल श्रेष्ठ रहेको प्राधिकरणले जनाएको छ। 

यसैगरी कर्णाली एयरले १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी छ । सो एयरका सञ्चालकमा नारायण सिंह पुन र सविना राई पुन रहेका छन् । स्काइलाइन एयरवेजले पनि १५ लाख ५० हजार ४ सय बक्यौता दिनुपर्ने देखिएको छ ।

सो एयरवेजको सञ्चालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेन्जिङ नोर्बु शेर्पा र यादव खरेल छन्।

यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) रहेका छन् भने उनीहरूले ७ लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता तिर्न बाँकी छ। 

माउन्टेण्ड एयर ६ लाख १० हजार ८३४, कसमस एयर ३ करोड ४७ लाख ५८ हजार ७०, सांग्रिला एयर ३ लाख ३७ हजार ८००, नेपाल एयरवेज ५ लाख ५० हजार ५४, मुत्ति एयरलायन्स २६ हजार १६,  गरुड एयरको २७ हजार ४४० रुपैयाँ बक्यौता रहेको छ । ती एयरलाइन्स अहिले बन्द अवस्था छन्। 

यतीको २, बुद्धको १ करोड

नेपालमा धेरै करोबार गर्ने यती र बुद्ध एयरलाइन्सको बक्यौता धेरै देखिएको छ । प्राधिकरणका अनुसार यती एयरलायन्सको बक्यौता २ करोड १२ लाख ३९ हजार ७५२ छ । बुद्ध एयरको  १ करोड ७ लाख ४३ हजार ८४४ रुपैयाँ बक्यौता तिर्न बाँकी छ। 

श्री एयरलायन्सको रु १ करोड ७५ लाख९६ हजार ८७६, सौर्य एयरलायन्सको रु १६ लाख६५ हजार ३५३ रहेको छ  साथै समिट एयरको ३८ हजार ४४० प्राधिकरणलाई बुझाउन बाँकी रहेको छ। 

६० दिनभित्र रकम बुझाउनु पर्ने कानुन

नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम बुझाउनु पर्ने हुन्छ । तोकिएको समयमा रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ। 

साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छुटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ ।

विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाह लगायतमा विमानस्थलले शुल्क लिने गर्छ ।

शुल्क ६० दिनभित्र नतिरे एयरलाइन्सलाई विमान उडानमै रोक लगाउन मिल्ने कानुनी व्यवस्था छ । तर वर्षौँ देखिको बक्यौता रकम नतिर्दा पनि प्राधिकरणले एयरलाइन्सहरूलाई त्यो खालको कारबाही गरिएको देखिँदैन। 

विमानस्थलमा जहाज ग्राउण्डेड गरेर बक्यौता उठाउन कठिनाइ हुने प्राधिकरणका प्रवक्ता क्षेत्री बताउँछन् । ‘विमान नै रोकिएपछि कसरी रकम तिर्ने भन्ने एयरलाइन्सहरूको प्रश्न हुन्छ, क्षेत्री भन्छन्, ‘किस्ताबन्दी वा समयावधिको सम्झौताअनुरुप सेवा सञ्चालन गर्न दिनुपर्छ।’
 

  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १४:६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया