गठबन्धन बैठकमा विजय पौडेलले भने- हामी सरकारमा सहभागी हुँदैनौँ

सत्ता गठबन्धनको बैठकमा माधव नेपाल समूहबाट प्रतिनिधित्व गरेका डा. विजय पौडेलले आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पौडेलले सो कुरा बताएका हुन् । ‘हामी सरकारमा आउने कुरा छैन भनेर मैले बैठकमा भनेको छु,' उनले फरकधारसँग भने ।

एमाले विवाद चलिरहेको बेलामा एमाले नेपाल समूह भने सत्ता गठबन्धनको बैठकमा सहभागी भएको हो । यसअघि सत्ता गठबन्धनको बैठकमा माधव नेपाल गएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका थिए । 

आजको बैठकमा भने नेपालले आफ्नो प्रतिनिधिको रूपमा पौडेललाई पठाएका थिए । पौडेलका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलसँग सुझाव मागेका थिए । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवलाई मन्त्रीहरूको नाम छिटो पठाउन प्रधानमन्त्री देउवाले अनुराेध गरेका छन् ।

जवाफमा दाहाल र यादवले आफूहरूले छिट्टै मन्त्रीहरूको नाम टुंगो लगाएर पठाउने बताएका थिए ।

‘हामी गठबन्धनमा फर्मल्ली सामेल छैनौँ । हामीसँग सुझाव लिनका लागि बोलाइएको थियो । म बैठकमा रहुन्जेल सुझाव लिने क्रममा कोभिडलाई नै प्राथमिकता दिऔँ भन्नेमा जोड दियौँ’, पौडेलले फरकधारसँग भने । 

‘प्रधानमन्त्रीले रसिया, जापान लगायतका देशबाट खोप मगाएका छौँ, यसको जोखिम कम हुन्छ अब भन्नुभयो’, प्रधानमन्त्रीले अब कोरोना महामारीको जोखिम कम हुने बताएको भन्दै उनले अघि भने, ‘सानादेखि ठूला उद्योग सबैलाई बैंकको ऋणको किस्ता तिर्ने म्याद बढाइदिनपर्‍याे, कर तिर्ने म्याद बढाइदिनपर्‍यो, संचारक्षेत्रलाई कर छुट गराइदिनपर्‍याे भन्ने कुरा राखेँ । प्रधानमन्त्रीले अरू गठबन्धनका नेताहरूलाई छिटो मन्त्रीको नाम दिन भन्नुभयो ।’



पौडेलका अनुसार गठबन्धन बैठकमा सहभागी भएका चित्रबहादुर केसीले आफूहरू बाहिर बसेर रचनात्मक सहयोग गर्ने बताएका थिए । ‘चित्रबहादुर केसीले बाहिर बसेर समर्थन गर्छौँ, नराम्रो कुरालाई विरोध गर्छौँ भन्नुभयो’, उनले भने ।
 



  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १२:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया